असार २३ मा कोहलपुर नगरपालिकाको नगर सभाले कोहलपुरलाई कर्णाली प्रदेशमा मिसाउने सर्वसम्मत निर्णय गर्यो । यता नेपालगन्ज उपमहानगरपालिकाले समेत आफ्नो नगर सभा मार्फत कर्णाली प्रदेशमा मिसिन पहल गर्ने भनेर निर्णय गर्यो अनि त्यसपछि पुनः एकपटक कर्णली फिभरले बाँके बर्दियाबासीलाई छोएको छ ।
जनस्तरमा कर्णाली प्रदेशमा गाभिनु पर्छ भन्ने भावना उच्च रहेको बाँके बर्दियामा राजनैतिक दलका नेताहरुले भने कर्णाली नै एकमात्र एजेन्डा हो भनेर लागेको देखिदैन । बेलाबेलामा आफू अनुकुल माहोल तयार गर्न कर्णालीमा जानू पर्छ र त्यसको लागी आन्दोलन गर्नु पर्छ भन्ने भावना र उद्घोष गर्दै आएका नेताहरुले कर्णाली प्रदेशमा मिसिनु भन्दा पनि राजधानी दाङ सम्म ल्याउन कसरत बढी गरेको देखिन्छ ।
सार्वजनिक रुपमै दाङ सम्म राजधानी आउने हो भने हामिलाई आपत्ति नरहने उद्घोष बारम्बार गर्दै आएका बाँकेका विभिन्न राजनैतिक दलका नेताहरूले आफू अनुकुल माहोल तयार गर्न कर्णालीमा मिसिने उद्घोष बेलामौकामा गर्दै आएका छन् ।
पहिलो पटक बाँकेका स्थानिय तहले यसरी आफ्नो सभाबाट नै कर्णाली प्रदेशमा मिसिने निर्णय गर्दा यहाँका स्थानियमा एकप्रकारको खुसी छाएको प्रस्ट छ जुन हिजो देखि सामाजिक संजालका भित्ताहरुमा देख्न सकिन्छ ।
नेपालगन्जको इतिहास र कर्णालीसंग बाँके बर्दियाको सम्बन्ध
भनिन्छ नेपालगन्ज जंगबहादुरको सपनाको शहर हो , उनैले भारतका गन्ज अलिगन्ज, रकाबगन्ज, निसारगन्ज, बाबागन्ज , नवाबगन्ज जस्ता नाम बाट प्रभावित भएर नै नेपालगन्ज नाम राखेका थिए ।
सुगौली सन्धीमा नेपालले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गुमाएको थियो । लखनाउमा भएको अंग्रेज़ बिरुद्धको विद्रोह दबाउन तत्कालीन श्री ३ जंगबहादुर अंग्रेजको मद्दत गर्न सेना लिएर पुगेका थिए । उनको सहयोगमा अंग्रेज लखनउ विद्रोह दबाउन सफल पनि भयो । लखनउ व्रिदोह दबाउन सहयोग गरेवापत खुसी भएर अंग्रेजले नेपाली भूमि फिर्ता गरे , जसलाई नयाँ नेपाल भनेर समेत भन्ने गरिन्छ ।
नयाँ नेपालको नेपालगन्ज आफैमा ब्यापारीक इतिहास बोकेको नगरी हो । हालको जयसपुरमा उतिबेला हाट बजार लाग्थ्यो , ब्यापारीहरु भारतको लखनउ आसपास तथा नेपालको पहाडी जिल्ला जुम्ला ,सुर्खेत , दैलेख , डोल्पा , हुम्ला तिरबाट हाट भर्न आउनेगर्थे , नेपालको पहाडी जिल्ला बाट फलफुल तथा जडिबुटी लिएर आउथे भने यताबाट खाद्यान्न , लत्ताकपडा , नुनतेल लिएर जान्थे । कालान्तरमा नेपालगन्जले ब्यापारिक नगरी संगै औधोगिक नगरिको रुपमा समेत आफुलाइ उभ्याउदै लग्यो । नेपालगन्जको इतिहासले नेपालगन्ज उतिबेलै मध्यपश्चिमको ब्यापारिक तथा औधोगिक केन्द्रको रुपमा उदाएको थियो भन्नेमा कुनै दुई मत रहदैन ।
अखण्ड मध्यपश्चिमको सुर्खेत आन्दोलन र बाँके बर्दियाको शून्य भुमिका
देशमा आएको राजनैतिक परिवर्तन पछि देश सात प्रदेशमा प्रादेशिक रुपमा बिभाजन भयो । २०७२ साउन अन्तिम हप्ता तिर मध्यपश्चिमलाई टुक्राउनु हुदैन भनेरै सुर्खेतले अखण्ड मध्यपश्चिमको नारा बोकेर आन्दोलन सुरु गर्यो । उतिबेला कर्णाली र राप्तिका रुकुम र सल्यान पनि आन्दोलनमा संगै थियो । आन्दोलनमा तीन जनाले साहदत समेत प्राप्त गरे । तर अखण्ड मध्यपश्चिमको आन्दोलन दिनप्रतिदिन फितलो बन्दै गयो । राजनैतिक दाउपेच र चुनावी हिसाबकिताबमा गरिएको प्रदेशको सिमाङ्कनमा सबैजसो स्थानीय नेतामा पार्टिको दबाब आउन सुरुभयो त्यसप्रति क्रमश राजनैतिक दलका जिल्ला नेताहरूले आन्दोलन बाट हात झिक्न सुरु गरे ।
मध्यपश्चिमका भेरी ,कर्णाली र राप्तीका सल्यान र रुकुम मिलाएर एउटा प्रदेश बनाउने माग राखेका सुर्खेत बासिको आन्दोलन मुलरुपमा त्यतिबेला फितलो बन्यो जतिबेला रुकुम र सल्यानले प्रदेश पाँचको राजधानी दाङ दिने हो भने राजी छौ भने अनि यता प्रदेश पाँचमा गाभिएका बाँके र बर्दिया बिरोधको रुपमा चुइक्क समेत बोल्न चाहेन ।
असलमा सुर्खेतको आन्दोलन अखण्ड मध्यपश्चिम भन्दा पनि कर्णाली र भेरी अञ्चलको बाँके र बर्दिया लाई आफू बाट अलग राख्न चाहन्थेन । तर यहि कुरा बाँके र बर्दियाले बुझ्न सकेन ।
उतिबेला सुर्खेतले सुर्खेतका कांग्रेस नेता पूर्णबहादुर खड्कालाई सुर्खेत लाई सुदुरमा आत्मसमर्पण गर्न लगाएको आरोप समेत लगाए र तत्कालीन कांग्रेस सभापति स्व सुशील कोइराला र बर्दियाका तत्कालीन एमालेका वरिष्ठ नेता बामदेव गौतम समेतलाइ अखण्ड मध्यपश्चिम टुक्राएकोमा बिरोध जनाए । जतिबेला सुर्खेत जुरुक्क उठेको थियो त्यतिबेला बाँके र बर्दिया मैफुस थिए ।
बाँके बर्दियालाई धोका
सायद बाँके र बर्दियाबासी गौतम र कोइराला प्रती निकै आसाबादी थिए कि प्रदेश पाँच को राजधानी नेपालगन्जले नै प्राप्त गर्नेछ भन्ने कुरामा । तर त्यो कुरापनी हेर्दा झट्ट पाएकताको हिसाबले सुहाउँदो थिएन तर पनि बाँके र बर्दिया चुपचाप बसिदियो । यहीँ सम्म कि बर्दियाले प्रदेश पाँच को राजधानी नेपालगन्ज हुनुपर्छ भनेर लबिङ र आन्दोलन सुरुगर्दा नेपालगन्जको आन्दोलन उध्योग बाणिज्य संघको हल र होटेलका सेमिनार हल भित्र सिमित थियो ।
त्यसबेला पनि बर्दियाले गलत गरिरहेको थियो भने नेपालगन्ज त बोलेकै थिएन । बोलेपनी सेमिनार हलको चार दिवार भित्र । त्यो समयमा बाँके र बर्दियाले राजधानी माग्नुको बिकल्पमा प्रदेश ६ अर्थात हालको कर्णाली प्रदेशमा मिसिने आवाज उठाउनु पर्ने थियो सुर्खेत त त्यतिबेला नै बाँके र बर्दियालाई आफुबाट छुट्याउन चाहन्थेन ।
इतिहास हेर्ने हो भने नेपालगन्जको ब्यापारको आधार नजिकको भारतीय नाका तथा नजिकको पहाडि तथा हिमाली जिल्लाहरु नै हुन भन्ने छर्लङ्ग नै छ । अहिले पनि नेपालगन्ज नजिकैका पहाडी जिल्ला कै मुख ताकेर बसेकै छ । जडिबुटी आयातको कुरा होस या खाद्यान्न निर्यातको कुरा किन नहोस , शिक्षा होस या औसधिउपचार सबै पुर्वाधार र ब्यापार ब्यवसाय उनैमा आधारित छन् र नेपालगन्जको चापको प्रमुख स्रोत पनि तिनै हुन् । भौगोलिक हिसाबले रहनसहनका हिसाबले या बसाइँसराइ गरेका हिसाबले किन नहोस कर्णाली र बाँके – बर्दियाको सम्बन्ध पुरानो छ ,इतिहासिक छ ।
राज्यले प्रदेशको सिमाङ्कन गर्दा भूगोल र प्राकृति स्रोतको ख्याल राखेर प्रदेश छुट्याउनु पर्ने थियो। भूगोलको रुपमा हिमाल ,पहाड र तराई मिलाएर कमसेकम एउटा नदिले छुने गरि सिमाङ्कन गर्नु पर्ने थियो । तर यस मामलामा सम्पुर्ण प्रदेश चुकिसकेका थिए । तर त्यो अवसर प्रदेश ६ अर्थात हालको कर्णाली प्रदेश तथा बाके र बर्दिया लाई थियो । बाँके र बर्दिया लाई प्रदेश ६ मा मिलाउन सकेको भए भौगोलिक , प्राकृति स्रोत र साधन तथा रहनसहनका हिसाबले पनि उपयुक्त हुनेथियो । हिमाल , पहाड र तराइको समिश्रण हुने थियो । एउटा सिङ्गो प्रदेशले हिमाल ,पहाड ,तराइ , नदिखोला , भारतिय सिमाना सबैकुरा समेटेको हुने थियो । जसले प्रदेशको बिकासलाई तीब्र गतिमा लैजाने बिस्वस्नियताका आधार तयार हुनेथियो । तर यो कुरामा प्रदेश ६ संगै बाके र बर्दिया समेत चुक्न पुग्यो । जसको फल बाँके बर्दिया संगै कर्णाली प्रदेशले पनि भोग्नु नै पर्नेछ ।
मुलतः भौगोलिक रुपमा नेपालगन्ज गर्मीको लागि प्रसिद्ध छ तर स्वभावतः नेपालगन्ज जहिल्यै शान्त बस्यो , चुपचाप बस्यो , कहिल्यै कुर्लिएन , आफ्नो लागि आफैले कहिल्यै केही मागेन । नेपालगन्ज एउटा यथार्थ धरातलमा उभिएको शहर हो , क्रमिक रुपमा उठेको शहर हो । जुन नेपालगन्जले पायो त्यसैमा रमायो । जसको उदाहरण मध्यपश्चिमान्चल बिकास क्षेत्र को केन्द्र सुर्खेत हुदा पनि ठुला कार्यलय नेपालगन्ज मै थिए , जब मध्यपश्चिम बिश्वबिद्धालय को कुरा उठ्यो नेपालगन्ज मौन बस्यो नेपालगन्जले बिश्वबिद्धालय पाउनेमा धेरै आशाबादी थिए तर बिश्वबिद्धालय सुर्खेतले प्राप्त गर्यो । तर पनि नेपालगन्ज शान्त बस्यो ।
अबको बाटो
अहिले आएर नेपालगन्जले महानगरको कल्पना गरेको छ , अझ नेपालगन्जले औधोगिक महानगरको उडान गर्दै छ । तर नेपालगन्जले कुन धरातल टेकेर महानगरको कल्पना गर्दै त्यो बुझ्न नसकेको कुरा हो । नेपालगन्जले औधोगिक कच्चापदार्थ कहाँ बाट ल्याउनेछ र उत्पादित बस्तु कहाँ बेच्नेछ ? हरेक प्रदेश र स्थानीय सरकारले करको दायरा लाई यसरी फराकिलो पारिरहेका छन् कि आम मानिस दिक्दार बनिरहेको अवस्थामा अन्तर प्रादेशिक प्यापार गर्न कति सहज होला ? एउटै बस्तु उत्पादन र बिक्री को क्रममा चार पाँच चोटि सम्म करको फन्दामा पर्ने निश्चित नै छ । यो प्रश्न कर्णाली प्रदेशको लागि अझै चिन्ताको विषय हुनसक्छ । कर्णाली प्रदेशले बिकासको गति लिन नत उ संग भान्सार नाका छ नत औद्योगिक बिकासको लागि पुर्वाधार र स्थान नै छ । भएको प्राकृतिक स्रोत र साधानको यथोचित मात्रामा प्रयोग गर्न पनि नेपालगन्ज कै भर पर्नु पर्ने अवस्था छ । भने नेपालगन्ज लाइ व्यापार तथा औद्योगिक ब्यवस्थापन गर्न र बजार प्रबर्द्धनको लागि सहजताको हिसाबले कर्णाली प्रदेश नै उपयुक्त छ ।
त्यसैले नेपालगन्ज महानगर को दौड भन्दा पहिले नेपालगन्जले आफ्नो साखः जोगाउन बाँके र बर्दियालाइ कर्णाली प्रदेशमा मिलाउन पहलदायी कदम चाल्न जरुरी छ । बाँके र बर्दिया सम्मेलित बन्ने नयाँ कर्णाली प्रदेशको राजधानी सुर्खेत मै रहेपनी कसैलाई आपत्ति रहने छैन । सुर्खेत होस या बाँके या बर्दिया नै किन नहोस् हामि बिच कुनै दुरि छैन । मध्यपश्चिम बिकास क्षेत्रको केन्द्र सुर्खेतमै रहदा पनि कयौं कार्यलय नेपालगन्ज मै थिए । त्यसैले बाँके र बर्दियालाइ कर्णाली प्रदेशमा नमिलाउदा सम्म नत कर्णाली प्रदेशले एउटा सफल प्रदेशको रुपमा आफुलाइ उभ्याउन सक्छ नत बाँके र बर्दियाले बिकासको पाइलामा यथोचित पाइला सार्न सक्छ । जसको लागि बाँके ,बर्दिया र कर्णाली प्रदेशका जनता तथा राजनैतिक नेता तथा पार्टिहरुले सोच्न जरुरी छ ।
बिकास , समृद्धि ,र प्रदेशको जनताको जिबनस्तर माथी उठाउने हो भने बाँके र बर्दियालाइ कर्णाली प्रदेशमा मिलाउने पहलदायी कदमको सुरुवात जनस्तर बाटै सबैले गर्न जरुरी छ ।










