अव्यक्त प्रेम

रामु ओली

राप्ती नदिको पानीको बहाब चितवन रास्ट्रीय निकुञ्जका जङ्गलहरुमा ठोकिँदै फर्किदै थिए । नदि किनारमा रहेको घरहरुलाई सुन्दरमय तुल्याउनमा नदि र जङ्गलको समिश्रणको सुन्दर कोलाहल  अभ्यस्त थियो । अभ्यस्त त ती चराचुरुङ्गी पनि थिए जो निकुञ्ज क्षेत्र बाट उड्दै चिरचिर गर्दै , ठुलठुला घरहरु माथी गोल गोल घुम्दै फेरि निकुञ्जमै फर्किन्थे ।

हातमा केही जोर लुगाफाटो राखेको झोला बोकेको थिए । त्यो भन्दा बढी नौलोपन बोकेको थिए , डर र त्रास बोकेको थिए । अनि संगै बोकेको थिए , अनगिन्ती सपनाहरू ।

झुन्ड झुन्डमा रहेका बालबालिका खेल्दै गर्दाको कोलाहल पनि कति सुन्दर , कति मिठास र कति प्रकृतिमय ।  म बिस्तारै लोभिदै थिए , त्यो होस्टेलको बाताबरण संग । लोभिदै थिए ति बालबालिकाको बालापनसंग अनि उनिहरुको त्यो झुन्ड संग । र खेल्दै गरेका डन्डीबियोसंग पनि ।

” तपाइनै बिधान सर हो ” एकजनाले सोधे ।

मैले हजुर भन्दै आफ्नो सिरलाइ तलमाथि गरे ।

नेपालगन्ज देखि चितवन सम्म बसको यात्रा , रातभरको निद्रा र बसको अन्तिम सिटले मलाइ उकुसमुकुस बनाएको थियो । बेडको नरमताले मेरो इन्द्रियहरु सुस्ताइ रहेका थिए । लाग्यो अर्धचेत अवस्थामा पुगिसकेको छु ।

त्यही अर्धचेत मस्तिष्कले झ्याल बाहिर कोहि मलाइ चिहाई रहेको छ, भन्ने जान्दथे । उ मेरो झ्यालको छेउमै उभिएको छ । एकनासले झ्यालको कुनाबाट मलाइ हेर्ने प्रयास गर्दैछ । उ आफ्नो टाउको छुपाउने प्रयास पनि गर्दैछ । मानौ उ एउटा चोर हो । उ घर मालिक निदाउने प्रतीक्षामा छ । ताकी उ आरामले त्यो घरको चोरी गर्न सकोस ।

केही धमिलो आकृति बाहेक केही देख्न सकिन । त्यही धमिलो आकृति मेरो झ्यालको कुनामा उभिनै रह्यो , फेरि लाग्थ्यो उ , म उठ्ने प्रतीक्षा गर्दै छ ।

***

भर्खर प्लसटु पास गरेको म , हेर्दा फुच्चे थिए । अनुहारमा जुङ्गाको रेखी बसेको थिएन । मास्टरसाबको पगरी बेरि सकेको मैले नमस्कार खाइरहेको थिए । पहिलो चोटि नमस्कारको बदलामा नमस्कार फर्काउदै थिए, त्यसरी नमस्कार फर्काउनुको मजा नै बेग्लै लागिरहेको थियो ।

म पुल्कित थिए , पुल्कित हुनु अस्वभाविक पनि थिएन । त्यसैमा महिनाको अन्तिममा आउने तलब, त्यो भन्दा अर्को कुनै बाहना खोजेन , मेरो नाकका पोराहरुले , फुल्लिनलाई।

********


करीब दुइसय जति बिद्यार्थी थिए । ती दुई सय जनाको भिडबाट  एउटि फुच्ची भने केही निश्चिति दुरिमा रहेर  मलाइ पछ्याउँदै छ भन्ने भान सधै हुन्थ्यो । यी उनै फुच्ची हुन्, जो मेरो झ्यालमा आएर हरेक दिन मलाइ हेर्ने गर्छ , म कोठादेखी बाहिर निस्कने प्रतीक्षा गर्छ । तर म जब बाहिर आउथे उ लजाउदै भाग्ने गर्थिन , तर पनि उसलाई बोलाउने हेक्का भने कहिल्यै  भएन । यो क्रम महिनौं चलिरह्यो ।

स्टोर रूम अगाडी, साना नानीहरु निर्लज्ज शरीरबाट पानीका थोपाहरु चुहाउदै लाइनमा उभिएका थिए । उनिहरुको कलिलो शरीरको स्पर्श गर्दै झरेका पानीका थोपाहरुले लुछुप्प भिजेको भुइले मलाई कुरिकुरिको संकेत गराउथ्यो । कमला दिदिले दिएका कपडाहरु समाउदै ती केटाकेटीहरु आफ्नो निर्लज्ज शरिरलाइ ढाक्दै , दौड्दै थिए । त्यही लाइनमा उभिएकी ति फुच्ची मलाइ देखेर साथिको ढाडको सहायताले आफ्नो पानी टप्किरहेको शरीरलाई लुकाउने प्रयत्न गर्दै थिइन ।

बाटुलो आँखा , मिलेको आखीभौं, फुल्दै गरेको सुर्यमुखि फुल जस्तै उज्यालो र चम्किलो मुहार , सधै मुस्काइ रहने ओठहरु र छोटो कपाल समग्रमा उनी काली भए पनि अति सुन्दर थिइन । त्यसैमा कलिलो बालापन संगै हुर्केको लज्जित मुस्कान अदिप्त थियो । लाग्थ्यो उ स्वर्गको अप्सरा भनेर प्रयोग गरिने शब्दको प्रतिमुर्ति हुन ।

लजाउदै गर्दा उसको हात समायर  निलो टिसर्ट र फ्रक लगाइदिए , जो उनी अक्सर लगाउने गर्थिन । उसको साथीहरु उसैलाई टुलुटुलु हेर्दै थिए । सायद उनिहरु पनि सोच्दै र कामना गर्दै होलान्  -‘अर्को कुनै रामु सर चाहिँ मेरो बाउ बनुन् ।’ कारण उसले म बाहेकका सबैलाइ बिधान सर मेरो बाउ हो भनेर भनी सकेकी थिइन् ।

बिपना भने मुसुमुसु गर्दै नाकका पोराहरु फुल्लाउदै थिइन ।

‘हिड जाउ अब स्कुलतिर’ मैले भने पछि उ मेरो हात समाउदै लुरुलुरु म संगै पाइलामा पाइला मिलाउदै हिडि । बेलाबेलामा मेरो मुखतिर हेर्दै मुस्कुराउथि । अनि त्यस्तै मुस्कुराहट फिर्ता गर्थी , आफ्नो  साथिहरु तिर ।

मलाइ थाहा थिएन , उ बाउ भने पछि यति विघ्न किन लालायित छे, उसको कलिलो मन मस्तिष्कमा किन बाउ नै घुमिरहेको छ , रोटे पिङ सरि । उ यति सम्म गर्थीकि म पढाई रहेको बेला चिहाउदै हेर्थी । कहिले पानी त कहिले आफुले पाएको खाने कुरा बोकेर ढोका बाहिर उभिनै रहन्थी , जब सम्म मैले थाहा पाउदैनथे  जब मैले देख्थे उसलाइ , उ लजाउदै लुक्ने , छिप्ने असफल प्रयास  गर्थी ।

म उसको भाब बुझ्दथे । उ प्रेम चाहान्छे , बाबुको स्नेह चहान्छे , म संगै मेरा हातहरु समाउदै हिड्न चाहन्छे र अंकमाल गर्दै मेरो मुख बाट ” छोरी बिपना ” – भन्ने शब्द सुन्न चाहन्छे । सायद यस्तै केही ।

बिपना काली भन्दा मुस्कुराउदै हजुर भन्ने ती ओठले मेरो अगाडी बाबा भन्ने आट कहिल्यै गरिन । अरुको अगाडी बिधान सर पनि कहिल्यै भनिन । नत कहिल्यै कुनै चिजको डिमान्ड गरिन , नत कुनै फाइदा नै लिने कोशिस गरिन । छोरी भए पछिको प्रेम दिई मात्र रहिन , मेरो हात समाउदै डुलि मात्र रहिन । न कुनै दिन रुदा फकाउनु पर्यो , न कुनै दिन बदमासीको लागि गाली नै । उ त एउटा पर्फेक्ट छोरी थिइन ।

त्यो दिन देखी उसलाई मेरो झ्याल अगाडी उभिएर बस्नु परेन, मलाइ लुकेर हेर्नू परेन । उ मेरो कोठामै आउछ, म सुतिरहे पनि मेरो छेउमै बस्छ , आफ्ना साना साना हातले मेरो कपाल खेलाउछ , सकि नसकी मेरो फोहर कोठालाई सफा गर्ने कोसिस गर्छ र कसैले केही खाने कुरा दिएको थियो भने , म उठ्ने प्रतीक्षा गर्छ । र उठेपछि भन्छ उहीँ लजालु स्वरमा “छिटो खाम , कमला दिदी ले गाली गर्नुहुन्छ ।”

अनि जादा जाँदै मेरो फोहोर कपडाको थुप्रो प्लास्टिकमा भर्छि र लैजान्थिन धुनलाई ।

ती कपडाहरु धोइ दिनको लागि कति बिन्ती गर्दिहुन कमला दिदी संग , कति मस्का पोलिस गर्दिहुन , कति किसिमका बाचा गर्दीहुन त्यो मैले कहिलै बुझ्ने कोशिस गरिन ।

कहिलेकाहीँ कमला दिदिले भन्थिन् – “बाउलाइ कपडा फोहोर भाको पनि थाहा हुन्न ।  छोरी भने एक दिन लाको कपडा पनि बोकेर आउछी ,  मेरो बाउको कपडा फोहोर भयो भन्दै , वासिङ्गमेसिनमा नहाल्दा सम्म पिछा नै छोड्दिन ।” यस्तै यस्तै के के भन्थिन ।

तर उ भने सकि नसकी धोएको कपडालाई पट्याएर ल्याउथिन र भन्थिन -“कमला दिदीले धोइदिएको । कमला दिदीले कपडा ल्याउन भनेका थिए त्यसैले धुन दिएको थिए ।”

लाग्थ्यो उ यी सबै कुराहरु मलाइ थाहा दिननै चाहदैनथी ।  मैले पनि यी कुराहरुलाइ जानीनजानी नजर अन्दाज गरिरहे ।

कहिले काहीँ लाग्थ्यो , उसलाइ अंगालो हाल्नेछु , हृदयको असीमित प्रेमलाइ छचल्किन दिनेछु र उसलाइ काधमा राख्नेछु । पूरा होस्टेल घुमाउनेछु ।

र भन्ने छु – ” उ मेरो छोरी हो , मेरो जीवन हो”  तर
तर …. म , प्रेम व्यक्त गर्न सक्ने मनुष्यमा पर्दैनथे , म त एउटा स्वास फेर्ने निर्जिब मानिस हो । मन्दिरमा देखिने मुर्ति जस्तै , खोलाको बगरमा भएको ढुङ्गा जस्तै । जो देखिन्छ र पनि केही छैन । त्यस्तै थिए , म पनि ।

आफैलाइ हिनताबोध हुँदै गयो । अन्दाजी सात बर्षकी बिपना भने असल छोरी नै थिइ । न उसले बाउको तलब आउदा कुनै चकलेट मागी , न कुनै कुरा नै । केही मागी त बन्द मुखले बाउको माया । जो म देखाउन सक्दिनथे  ।

म प्रीप्राइमेरी देखि एकै चोटि फाल हानेर माध्यामिक तहको शिक्षकमा नियुक्ति भए । बिपनाहरुलाइ जोड घटाउ पढाउने म माध्यमिक तहमा लेखा र अर्थशास्त्र पढाउने भएको थिए । बिपनालाइ थाहा थियो उसको बिधान बाउ अब उनिहरुलाइ पढाउदैन भन्ने । तर पनि उ दुखी भन्दा कयौं धेरै खुसी भइन्  । त्यसैलेत कसैले दिएको मिठाई बोकेर रूममा खुसी साट्न आइपुगिन ।

“बिधान सर , तपाईं मेरो बुवा हो है , अब देखि म बुवानै भन्छु नि  ” उ मलिन र डर मिश्रित अनुहार बनाउदै बोलि ।

सधै लजालु पाराले मुस्काउने त्यो ओठमा , डर र त्रासको मिश्रण पटक्कै हेर्न सकिन । आखाहरु चिम्म गरे , चिम्लिएका आँखाले पनि अनेकौं काल्पनिक दृश्यहरुलाई जन्म दियो । संगै मुटुको धड्कन साबिक भन्दा हजारौं तेज चल्दै थियो । बिपनालाइ अंगालो हालेर – ” तिमि नै मेरो छोरी हौ ,  तिम्रो बाउ म नै हो , यो बिधान सर नै तिम्रो बाउ हो ” भन्न मन लाग्यो ।

बिपनालाइ अंगालो हाले , आफुलाइ शान्त महशुस गरे र टाउको हल्लाएर बाउ भन्न अनुमति दिए । तर भन्न केही सकिन । शब्दले मलाइ धोका दियो या मेरो स्वरले । मैले बुझ्नै सकिन ।

***

राती ” बाउ ” भनेर गएकी बिपना , बिहानै उहीँ सुरु दिनमा झै मेरो कोठाको झ्यालमा लुक्दै , हेर्दै थिइन्  ।  तर आज भने उसको आखामा खुसी होइन , आशुका अश्रुधारा बग्दै थियो । मुस्कानका लहर होइन , पिडाको भाब थियो । र म हेर्दा लुक्ने या छुप्ने असफल प्रयास पनि गरिन , उ त दौडिदै गर्ल्सहोस्टेलमा पुगिन ।

हातमुख धोएर गर्ल्सहोस्टेल पुगे । मन त्यसै पनि बेचैनी थियो , बिपनाको भाव  देखेर । सायद हिजो मैले “छोरी” भनेन भनेर रिसाकी होलिन, यहि सोचे । तर बिपना त बाकी पढाईको लागि काठमाडौं जाने होस्टेलको गाडीमा बसेकी थिइन । म पुग्नु र गाडी चल्नु उस्तै भयो । सबै केटाकेटीले हात हल्लाउँदै थिए । बिपना भने आशुका धाराहरु झार्दै थिइन । जस्लाइ न बिपनाको बुवाले रोक्न सक्थ्यो न बिधान सरले नै । मनमा खिन्नता र उसको लजालु मुस्कान बाहेक केही बाकी रहेन म लाचार ढुङ्गारुपि बिधान संग ।

प्रतिक्रिया