प्रविता श्रेष्ठ : ध्रुब जोशी भर्खर २५ वर्ष पुगे । १८ वर्षको उमेरमा अध्ययनका लागि न्युजिल्यान्ड गएका ध्रुव पाँच वर्ष न्युजिल्यान्डमै बसे । तीन वर्षको पढाइपछि उनले सुपर मार्केटमा सुपरभाइजरको रुपमा काम समेत गरे ।
मासिक दुईदेखि तीन लाखसम्म कमाउन थालेका जोशी न्युजिल्यान्ड मै हाइटेक लाइभ जिउन सक्थे । घर, गाडी, महंगा फोन किन्न र सोही स्थान बसेर रमाउन उनलाई कुनै गाह्रो थिएन । तर, उनी नेपाल फर्किए । कारण, उनले नेपालमा देखेको कृषि सम्भाव्यता ।
देवकोट–७ सुदुरपश्चिम प्रदेशका स्थानीय उनले सुदुरपश्चिमकै बैतडा भन्ने ठाँउमा दश बिघा क्षेत्रफलमा कृषि व्यवसाय सुरु गरे । डिजे मल्टीप्रपोज एग्रीकल्चर फर्म हाउस प्रालिको रुपमा कृषि फर्मको स्थापनाा गरी काम सुरु गरेका छन् ।
डिजे फर्म हाउसको मुख्य उद्देश्य बाख्रापालन भए पनि बाख्रा बाहेक सुंगुर, टर्की, कुखुरा पनि व्यवसायिक रुपमा पालन गरिरहेका छन् उनी । करिब ७० देखि ८० वटा बाख्रा सुरुवाती चरणमा उनले राखेका छन् । त्यस्तै, सुनकागतीको खेती पनि उनले तीन बिघामा गरिरहेका छन् । भने, चाँडै ‘ह्याचिङ मसिन’ किन्ने सोचमा छन् । सुदुरपश्चिमलाई चल्ला उत्पादन आत्मनिर्भर गर्नु पर्ने उनको ध्येय छ ।
यी सबै सम्भाव्यताको अध्ययन उनले नेपाल आउनुभन्दा एक वर्ष अघि न्युजिल्यान्डमै रही धेरेथोर गरिसकेका थिए । एक वर्ष अघि नेपाल फर्की उनले साथी जीवन श्रेष्ठसँग मिलेर कृषि व्यवसाय सुरु गरे ।
न्यजिल्यान्ड मै सहज र आलिशान जीवन बिताउन पाउने समयमा नेपाल फर्कदा उनले सामाजिक रुपमा भिन्न भाव महसुस गरे । विदेशमा केही गर्न नसकेर नेपाल फर्किएको, अनुदानको लोभमा आएको, अनुदान पाएपछि फेरि विदेश नै जाने जस्ता विभिन्न आरोप पनि उनले खेपे ।
अझै पनि समाजमा विदेशबाट आएको मान्छेले गाईभैसीं, बाख्रापाल्ने गरी कसरी गर्न सक्छन् ? गाउलेहरु उनलाई वर्षौदेखि खेतीपाती गर्दै आएका छौं के हुन सकेको छैन जस्ता टिप्पणी सुन्ने गर्छन् । त्यस्तै, विदेशमा टिक्न नसकेर, भिसा नदिएर, काम नपाएर आएको होला जस्ता वचन पनि उनले सामना गरे ।
एउटा जोस र उत्साहमा काम गछौं भनी आएको बेला थोर बहुत मनोबलमा असर पर्ने पनि उनले व्यक्त गरे । यद्यपि, काम सकारात्मक उर्जा र सोचका साथ अघि बढी रहेका छन् उनी । टिप्पणी, चुनौतीले उर्जाको रुपमा लिन्छन् व्यवसायी धु्रव ।
न्युजिल्यान्डमा उनको दैनिकी एकदम मेनोटसन अर्थात ‘एकहोरोे’ थियो । बिहान काममा गयो बेलुका फर्कियो अनि महिनाका दुइ तीन लाख कमाएको पनि थिए । एकाहोरो जीवनशैलीले उनलाई रोमाञ्चकता दिएन । कृषि व्यवसायी धु्रव जोशीका अनुसार, पाँच वर्ष न्युजिल्यान्ड बसे पछि उनको दिमागमा सोच आयो, ‘अबको लागि यही नै बस्ने वा देश फर्केर केही गर्ने ।’ विदेश रही अष्टे«लिया, सिंगापुर, जापान जस्ता विभिन्न देश पनि घुमे बुझेका उनले नेपालमा कृषिमा चुनौती पुर्ण रहे पनि प्रचुर सम्भावना देखे ।
न्युजिल्यान्डकै साथी तथा दाजुभाइले युवा जोसले मात्र हुन्न विदेशमै काम गरी आलिसानको जीवन बिताउन पनि सल्लाह दिए । कतिले भिसा तथा अन्य केही समस्या भए उनीहरूले सहयोग गर्ने तदारुकता पनि देखाएको धु्रव बताउँछन् ।
धु्रवका पिता जो आफैमा पशु चिकित्सक पनि हुन् । उनले पनि न्युजिल्यान्डमै पाएको जागिर र सोही देशमा रहन सल्लाह दिए । यद्यपि, युवा जोसले भरिएका उनी आफ्नो श्रम र परिवारको सहयोग भए जे पनि गर्न सकिन्छ भनी परिवारलाई मनाए । धु्रव भन्छन्, ‘एक वर्ष भयो काम सुरु गरेको खासै निराशाजनक केही छैन ।’

कृषि भिन्न पेशा
कृषि व्यवसाय पैसामात्र नभई प्रकृति र जीवनलाई बुझ्ने माध्यम पनि भएको अनुभव कृषि व्यवसायी धु्रव जोशीले सुनाए । भन्छन्, ‘कृषि पैसाकोलागि पेशा पैसामात्र होइर्न भावना पनि हो ।’ होटल व्यवसाय, हार्डवेयर वा अन्य व्यवसायमा पैसासँगमात्र सम्बन्ध जोडिन्छ । तर, यस पेशामा बोटविरुवामा नयाँ पालुवा पलाउँदा पनि छुट्टै उर्जा मिल्ने, पाठापाठी हुर्किएर खेल्दाको समयमा जतिको आनन्द र ‘इमोशन’ सायदै अन्य पेसामा नहोला । यही कारण चुनौती र उत्साहका साथ उनी कृषि व्यवसायमा होमिएका छन् ।
लामो समय विदेश बसेको कारणले होला नेपालमा सिस्टमको अभाव उनलाई खड्केको छ । १८ वर्षको उमेरमा विदेश गएका व्यवसायी जोशीले यहाँको सिस्टम बुझ्ने बेलामा विदेशीको सिस्टमा भिजे । ‘नेदरल्यान्डमा रहदा यदि हाम्रो कागज डकुमेन्ट सबै ठीक छ भने कार्यलयमा बिना रोकावट सहजै काम सकिन्छ ।’
नेपालमा सरकारी कार्यलयमा काम निकाल्न साह्रै गाह्रो छ । सबै कागजात मिल्दा पनि मेरो लागि काम फत्ते गर्न समय लाग्ने गर्छ’, उनी आफ्नो अनुभव सुनाउँछन् । सरकारी कार्यलयका कर्मचारीहरूको व्यवहार सेवामुखी नदेख्दा उनी निकै असन्तुष्ट छन् ।
एक वर्ष अघिदेखिको तयारी भए पनि व्यवसाय सुरु गर्ने क्रममा बोटविरुवामा लाग्ने रोग, बाख्रा पाठा हुर्काउँदा के कस्तो औषधी खान दिनुपर्ने, बाख्रा व्यहाउँदा कसरी स्याहार गर्ने जस्ता स–साना कुराले निकै ठुलो असर गरेको उनी बताउँछन् । व्यवहारिक कुरामा के कस्ता असहजता पर्छन्, पहिलो वर्ष सिकेको उनी बताउँछन् ।
त्यस्तै, ग्राउण्ड लेभलका भेटनरी डाक्टर तथा विज्ञहरूको पनि समस्या रहेको उनको बुझाइछ । नीति नियम निर्माण गर्ने माथिल्लो स्तरका विज्ञ जति कै प्राविधिक जनशक्ति हुनु पर्ने उनको जोड छ । प्राविधि तथा पशु चिकित्सकलाई राम्रो ज्ञान नहँुदा पटक पटक समस्या अझ घेरिएको उनको अनुभव छ ।
व्यवसायी धु्रवका अनुसार सरकारको कृषि नितिनियम बनेका राम्रा बनेका छन् । र, उक्त नीतिनियम बनाउने विज्ञ पनि दक्ष छन् । तर, कार्यान्वयनमा तिनै राम्रा निचितनियम फितलो भइ दिन्छन् । माथिल्लो स्तरका विज्ञ जस्तै ग्राउन्डलेभलका विज्ञहरू दक्ष नभएको कारण पनि कृषि क्षेत्रमा समस्या देखिएको उनको बुझाइछ ।
यस कारण, ग्राउन्ड लेभलदेखि कै दक्ष प्राविधिक तथा वास्तविक किसानको संयोजन हुन सके नेपालको कृषि क्रान्ति टाढा नभएको उनी मान्छन् ।
इच्छाशक्ति र धैर्यता कृषक वर्गमा पनि आवश्यक
समस्या किसान वर्गमा पनि रहेको उनले औल्याए । कतिपय कृषि व्यवसायी प्रवृत्ति सरकारको सहयोग पाएसम्म काम गर्ने अनि सहयोग रोकिएपछि काम नगर्ने प्रवृत्ति छ । ती वास्तविक वा उर्जाशील किसान होइनन् ।
कृषिलाई नै अर्थोपार्जनको पेशा बनाउने कृषकले अनुदान, कर्जा, बिमाको लोभभन्दा पनि सही सदुपयोग गर्छन् । यस कारण, कृषिमा व्यवसायिक हुन सरकारमात्र नभई व्यवसायीमा पनि लगाव उर्जा हुनु पर्ने उनी बताउँछन् ।

प्रविधिको आवश्यकता
त्यस्तै, कृषिमा प्राविधिकरण तथा यान्त्रिकरणको पनि अहम भुमिका हुने उनी मान्छन् । हरेक पटक कुखुराका चल्ला किनेर ल्याउनु भन्दा ‘ ह्याचरी मेसिन ’ उपयुक्त हुन्छ । उनी पनि सोही योजनामा छन् । सानो ह्याचिङको मेसिन आठ देखि दश हजारमा आउँछन् । भने, ठुला मेसिनको ६० हजारदेखि माथि पर्छन् ।
सरकारले यस्ता मेसिन किन्नको लागि सहयोग दिइरहेको हुन्छ । सहयोग र आँटका साथ प्राविधिक यन्त्रको प्रयोग हुन सके कृषिमा आत्म निर्भर हुनसकिने उनी देख्छन् ।
‘वान–टाइम इन्भेसमेन्ट’
उनले फर्मको लागि हालसम्म करिब एक करोडभन्दा बढी गरिसकेका छन् । जसको लागि उनले वाणिज्य बैंकबाट पनि लोन लिएका छन् । एड्भान्स प्रविधिको प्रयोग गरी उनी कृषिलाई व्यवसायिक मात्र नभई कृषिमा यान्त्रिकरणका लागि पनि सोचिरहेका छन् ।
कृषिलाई ‘वान–टाइम इन्भेसमेन्ट’ मान्छन्, धुव । ‘पहिलो पटकको लगानीलाई बलियोसँग स्थापित गरी निरन्तरता दिनसक्यौं भने हामी सभाइभ गर्न सक्छौं’, उनी थप्छन् । हाल लगानी कै चरणमा रहेका उनी बाख्रा, टर्की, कुखुरा, बंगुर सबैको ‘रोटेसन’ मा एक वर्षको अवधिमा करिब १५ देखि २० लाखको कमाइ हुनेमा आशावादी छन् ।
हाल कृषि व्यवसाय गर्ने एक प्रकारको लहर लागेको छ । कोरोनासँगै बढेको बेरोजगारी पछि कृषिमा लाग्ने लहर लहैलहैमा लाग्ने पद्धति पनि देखिएको पनि व्यवसायी जोशी औल्याउँछन् । सम्भावनाका प्रचुर मात्रा भएको कृषि क्षेत्रमा राम्रो अध्ययन र खोज गरी लगानी गर्ने उनी सल्लाह दिन्छन् ।
कृषिमा गरौं भन्ने आएका उनी जस्ता युवाहरूलाई इच्छाशक्तिसँगै कामको बारेमा राम्रो ज्ञान र धैर्यता पनि आवश्यक पर्छ । कृषिमा भविव्य उज्यालो छ र सरकारले पनि मेसिनरीको लागि सहयोग गरिरहेको छ ।
तर, आजको भोलि रिजल्ट आउँछ भन्ने धारणा राख्नु भने गलत हुने उनी बताउँछन् । ‘हामी जीव वस्तुलाई पालिरहेका छौं । कुनै किराना पसलमा निर्जिव सामान होइन । सोही कारण धैर्यताका साथ काम गर्नु पर्छ र आशावादी हुनु पर्छ । ’
नेपालमा कृषिका सामानमा ८० देखि ९० प्रतिशत आयात नै छन् । यसकारण हरेक नेपाली कृषि व्यवसायी भए पनि बजारमा पुग्दैन । निर्यातको लागि अझै पनि चुनौती नै देखिन्छ । यस कारण पनि ठुलो सम्भावना भएको क्षेत्रमा बुझेर विज्ञ भए आउनको उनी अनुरोध गर्छन् । तथापि, लगानी सुरु गर्दा सानो लगानीबाट बढाउँदै जान उपयुक्त हुने उनको अनुभवले बतायो ।
ठुलो लगानी र ठुलो प्लानमा आएका हामी जसता व्यवसायीहरू साना व्यवसायीलाई सल्लाह माफर्त साथ र सहयोग दिनसक्छौं । संञ्चार माध्यमबाट पनि उहाँहरूलाई जानकारी दिने, व्यक्तिगत तवरमा विज्ञहरूसँग ‘कन्ट्याकट’ तथा परियोजनाको जानकारी दिन्छौं । साना सिमान्तकृत किसान, महिला किसान तथा मजदुरलाई सहयोगको लागि सँधै तत्पर रहेको उनी बताउँछन् । तथापि, सबैभन्दा महत्पुर्ण कुरा व्यक्ति आफै पनि रुपमा इच्छाशक्ति र ज्ञान हो । कोही ठुलो र सानो नहुने उनी बताउँछन् ।
कृषि क्षेत्रमा एउटा भिजनका साथ लागेका यी युवाको भावी योजना बजार व्यवस्थापनमा रहेको छ । कृषकले मेहेनत गरी सामान उत्पादन गर्छन् । तर, बजारमा जाने समयमा कृषकले न्युन मुल्य पाउँछ भने बिचौलियाले बजारमा उच्च मुल्यमा बेच्छ । जसको सिधा फाइदा बिचौलियाले लिन्छन् ।
वर्षोदेखि मेहेनत गरी उब्जाएको उत्पादनको उचित निर्धाति मुल्य सरकारले नतोकी दिँदा यस्ता प्रकारको समस्या भए पनि कृषि व्यवसायी धु्रव मान्छन् । उनी भन्छन्, ‘अबको लागि हाम्रो उद्देश्य बजार पनि आफैले खोल्नु र व्यवस्थापन गर्नु हो । हामीले हुर्काएका बढाएका बाख्रा, खसी बिचौलियालाई फाइदा हुने गरी बेच्नु भन्दा बरु आफै मिट मार्ट खाल्ने विचारमा छौं । ’
कृषि पेशाको परिभाषा परिवर्तन गर्नु पर्छ
‘हाम्रो लागि आश्चर्यकको विषय हुनसक्छ तर, न्युजिल्यान्डमा कृषकको घरमा हेलिकप्टर हुन्छ’, कृषि व्यवसायी धु्रव भन्छन् । कृषक हुनु त्यहाँ सम्मानित पेशा हो । उनी पनि किसानको परिचय सम्मानित पेशाको रुपमाा स्थापित गर्न चाहान्छन् ।
कृषि व्यवसाय र कृषकलाई अझै पनि कृषि प्रधान मुलुक नेपालमा उचित धर्जा नमिलेको उनी बताउँछन् । गाईवस्तु पाल्नु, माटोमा खोल्नु, कुखुरा चल्ला हुर्काउनु, बाख्रापाठी तथा भैसी पाल्ने सानो वर्गको कामको रुपमा नेपालमा हाल पनि परिभाषित गर्दे आएको छ । र, यही कृषिको परिभाषालाई परिर्वतन गर्ने सोचमा छन् उनी ।










