भोजराज शर्मा
बैशाख ११ गते शनिबार बाँकेको कोहलपुरमा होम आइसोलेसनमा बसेका ६१ वर्षीय एक पुरुषले झुन्डिएर आत्महत्या गरे । ३ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा बेड नपाएर उनी होम आइसोलेसनमा बसेका थिए । परिवारका अनुसार राम्रै बोलचाल गरिरहेका थिए र अवस्था पनि सामान्य नै थियो । झुण्डेको थाह पाए लगत्तै डोरी काटेर बचाउन खोजे पनि २ घण्टासम्म कुनै अस्पताल र एम्बुलेन्सले फोन रेस्पोन्स नगर्दा उपचार नपाएर उनको मृत्यु भयो ।
रुपन्देहीको सैनामैना अस्पतालमा बैशाख १८ गते शनिबार कोरोना संक्रमित ४० वर्षे पुरुषले अस्पतालकै शौचालयमा तन्नाले पासो बनाई झुण्डिएर आत्महत्या गरे । काठमाडौंमा उपचार गराउने धोको भएका उनको अवस्था भने सामान्य नै थियो ।
दिल्लीको म्यास अस्पतालमा कार्यरत युवा डाक्टर विवेक राईले शुक्रबार झुण्डिएर आत्महत्या गरे । दैनिक सात आठ जना गम्भीर बिरामीहरू हेरिरहेका उनी अति सहयोगी र सक्रिय डाक्टरका रूपमा परिचित थिए । फ्रान्स–२४ टेलिभिजनका अनुसार फ्रान्समा सन् २०२१ को सुरुवातमा नै २५ वर्ष मुनिका ५ मेडिकल इन्टर्नसिप गरिरहेका स्वास्थ्यकर्मीले आत्महत्या गरिसकेका छन् ।
कोभिड महामारीको दोस्रो लहरमा धरै विरामी, स्वास्थ्यकर्मी तथा अन्यले आत्महत्या गरिरहेका छन् । आत्महत्यालाई मनोविज्ञानले रोग हो भन्दछ । महामारीकालमा आत्महत्याको मनोवैज्ञानिक कारण अत्यधिक तनाव, मनोत्रासबाट सिर्जना भएको अवसाद, ट्रम्याटिक स्ट्रेस वा पहिले नै आफूसँग भएको मनोरोग हो ।
यस्ता तनाव, मनोत्रास, डिप्रेसन र ट्रमा प्राय युद्ध लडेका आर्मी, डाक्टर, घरेलु हिंसा भोगेका बालबालिका, महिला वा महामारी र त्यसबाट सिर्जित नकारात्मक हल्लाले त्रसित बनेका कमजोर मनोबल भएका व्यक्ति । यस लेखको उद्देश्य यो महामारीमा मनोविज्ञान नपढेका सामान्य मानिसले पनि सम्भावित आत्महत्या पहिचान गरेर कसरी रोकथाम गर्ने भन्ने हो ।
को आत्महत्याको जोखिममा हुनसक्छ ?
आत्महत्या कसले गर्दैछ भन्ने भविष्यवाणी गर्न सकिँदैन । तर, को यसको सम्भावित जोखिममा छ भन्ने थाह पाउन सकिन्छ । यस्तो अवस्थामा सबैभन्दा वढी आत्महत्याको जोखिममा रहेका विरामी व्यक्तिहरू भनेका पहिलेदेखि नै औषधी सेवन गरिरहेका मनोरोगी, पहिले आत्महत्याको प्रयास गरिरकेका व्यक्ति, प्यानिक डिसअर्डर(मनोत्रास), अवसाद(मेजर डिप्रेसिभ डिसअर्डर), बाइपोलर डिसअर्डरको डिप्रेसिभ एपिसोडमा रहेका मनोरोगी हुन् ।
त्यसपछि शारीरिक रूपमा दीर्घरोगीहरू, अपाङ्गता भएका व्यक्ति आदि जोखिममा हुन्छन् । कुनै शारीरिक वा मानसिक समस्या नभएका तर यस्तो समयमा फ्रन्ट लाइनमा खटिएर काम गर्ने डाक्टर र अन्य स्वास्थ्यकर्मी पनि अत्यधिक तनाव, अनिद्रा, मृतकहरूको त्रासद अवस्था आदि देख्दादेख्दा अवसाद(डिप्रेसन)का कारण अचानक आत्महत्या गर्नसक्छन् ।
आत्महत्याबारे कसरी थाह पाउने ?
आत्महत्या आम मानिसको बुझाइजस्तोे सजिलो छैन । हाम्रो समाजमा कायर मानिसले आत्महत्या गर्छन् भन्ने गरिन्छ । आत्महत्याबारे हाम्रो बुझाइ कि त फिल्मी छ कि काल्पनिक । आत्महत्यालाई चिकित्सकीय, मनोवैज्ञानिक वा वैज्ञानिक ढङ्गबाट हेर्नुपर्छ । आत्महत्या नितान्त रोग हो र यसको प्रक्रिया हुन्छ ।
आत्महत्याको समयमा मस्तिष्कको न्युरोट्रान्समिटर वा न्युरोकेमिकलमा थुप्रै किसिमको असन्तुलन हुन्छ । कार्टिसोल, एड्रेनलिन आदिजस्ता स्ट्रेस हार्मोनको वृद्धि र सेरेटोनिन, डोपामिन लगायतका खुसी तुल्याउने हार्मोन न्युरोकेमिकलमा कमी हुन्छ । यसले जीवनमा उत्साह नै नहुने, मस्तिष्क सुन्न हुने, असहनीय बेचैनी हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने हुन्छ ।
आँखा अत्यन्त थकित र उदास देखिने, कुनै कुरामा पनि उत्साह नदेखिने, टोलाइरहने, आफ्नो ध्यान कत्ति नदिने, बेसुरको र चरम निराशाको कुरा गर्ने वा कुरै नगर्ने, आफैलाई धिक्कार्ने, अगाडिको सम्पूर्ण जीवन अनिश्चित लाग्ने, कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न नसक्ने लक्षण देखापर्छन् । यस्तो अवस्थाले मस्तिष्कको निर्णय गर्ने क्षमतामा प्रभाव पार्छ ।
यति धेरै सन्ताप, अवसाद, बेचैनी, अनिद्रा र दवावमा जीवन चलाउनुभन्दा आफूलाई समाप्त गरिदिए सबै समाप्त हुन्छ भन्ने निर्णयमा ऊ पुग्छ र आत्महत्याको योजना बनाउन थाल्छ । कोही आत्महत्या निर्णय गरिसकेपछि आत्महत्या गर्नुअघि अचानक आँधीहुरी आउनुअघिको सन्नाटाझै अति शान्त हुन्छन् । अन्ततः व्यक्तिले आत्महत्या गर्छ ।
आत्महत्या गर्न खोज्नेलाई कसरी रोक्ने ?
कोभिड महामारीको बेला कोही सामान्य व्यक्तिले असामान्य व्यवहार गर्न थालेको कुरा अलिकति गहिरिएर अवलोकन गर्दा थाह पाउन सकिन्छ । पहिलो लक्षण उसको असामान्य व्यवहार र बदलिएको दैनिकी हो । व्यक्ति अत्यन्त चिन्ताग्रस्त, बेचैन, लोलाएको, उत्साहहीन र अनिदोजस्तो देखिन्छ । खानपिन, पहिरन र आफ्नो स्याहारमा कत्ति ध्यान दिंदैन । जति आराम गरे पनि, सुते पनि छ्याङ्ग हुँदैन ।
पहिलेदेखिकै मनोरोगी वा अन्यमा पनि अचानक यस्तो खाले लक्षण देखियो भने उसलाई तपाईंहामी पनि सम्भावित आत्महत्याबाट रोक्न सक्छौं । यो अवस्थाको मान्छेलाई सुझाव, सल्लाह र उपदेशले कुनै काम गर्दैन यस्ता व्यक्तिलाई उसको मनको कुरा सुन्नको लागि कसैले भरोसा दियो भने ‘मेरो पीडा बुझिदिने कोही त रहेछ’ भन्ने लागेर आत्महत्याको सम्भावना टर्छ ।
संकास्पद व्यक्तिलाई सिधै भन्नुहोस्, ‘तपाईं साह्रै समस्यामा देखिनुहुन्छ, म तपाईंको पीडा महसुस गर्न सक्छु । म तपाईंको सम्पूर्ण कुरा सुन्न चाहन्छु । तपाईं मलाई आफ्नो साथी, दाजुभाइ, दिदीबहिनी सम्झेर हृदय खोलेरआफ्नो सबै कुरा राख्नुहोस् ।’ कुराकानी सुरु हुनासाथ शान्त भएर ‘तपाईंले आत्महत्याको कुनै योजना बनाउनु भएको त छैन वा यसअघि प्रयास गर्नुभएको छ कि?’ भनेर सोध्नुहोस् ।
आत्महत्याको योजना बनाएको छ भने अचानक उसले फरक व्यवहार देखाएको तपाईं महसुस गर्नुहुनेछ । यसो गर्दा तपाईंप्रति उसको विश्वास र सम्मान अझैं बढुनेछ । उसले आफूलाई खुलस्त पार्नेछ । यसरी तपाई आसन्न आत्महत्यालाई रोक्न सक्नुहुन्छ ।
अन्त्यमा के गर्ने ?
उसको कुरा राम्ररी सुन्नुहोस् । कुनै विशेषज्ञ मनोपरामर्शकर्तालाई चिन्नुहुन्छ भने तुरन्त सम्पर्क गरी सल्लाह लिनुहोस् । मनोपरामर्शकर्ताले बिरामीको अवस्था हेरेर स्वयम् मनोवैज्ञानिक प्राथमिक उपचार, मनोपरामर्श गर्दछन् र औषधीका लागि मनोचिकित्सककहाँ रेफर गर्छन् ।
यसप्रकारका जटिल अवस्थामा मनोचिकित्सकले अवस्था हेरी प्रशान्तक औषधी(ट्रयाङ्कुलाइजर) तथा एन्टीडिप्रिसेन्ट औषधी दिएर उपचार सुरु गर्छन् । बिस्तारै अवस्था सहज हुँदै गएर व्यक्तिको अन्तर्दृष्टि वृद्धि हुँदै जान्छ । अवस्था र निदानअनुसार छोटो वा लामो समयको नियमित औषधी सेवन, परामर्श, दिनचर्या परिवर्तन र सकारात्मक जीवनवृत्तिबाट मनोरोग ठीक हुन्छ ।










