शिशिर सापकोटा :

हिजाे जस्तै लाग्छ, मेराे जिवनका ती अमुल्य दुई बर्ष जुन मैले ज्ञानाेदय उच्च मा. बि खजुराकाे सेराेफेराे र सामिप्यतामा बिताएकाे थिएँ।
आज २०७६ साल चलिरहदाँ पनि म भित्र २०६१ साल करिब १५ बर्ष पहिलेकाे ती पलहरु र यादहरु मेरा मानसपटलमा अझै ताजा रहेका छन्।१५ बर्षे केटाे म ८ कक्षासम्म जेनिथ बाेर्ङिङ्ग स्कुल मा पढेर बाँकिकाे २ बर्ष ९ र १० कक्षाकाे लागि बाँकि १२ साथीहरु सहित ज्ञानाेदय स्कूलमा भर्ना गरेका थियाैं।
खजुरा क्षेत्रकै कान्छाे सरकारी बिध्यालय जुन त्यस बखत बामे सर्दै आफुलाई स्थापित गराउन चर्तित र पुराना बिध्यालय जनता र आदर्श सँग दाैडमा थियाे। बाध्यता र परिस्तिथी ले गर्दा हाम्राे ८ कक्षाका सम्पुर्ण साथीहरु एकैपटक स्कुल परिवर्तन गरेका थियाैं। त्यसैले गर्दा पनि हामी सबैमा काैतुहलता र अन्याेलता भरिएकाे थियाे।
अब अङ्ग्रेजी नभएर नेपाली माध्यमबाट हाम्राे अध्ययन र अध्यापन हुने भयाे। त्यतिबेला भर्खरै अाफुलाई स्थापित गराउन लागिपरेकाे ज्ञानाेदय मा. बि नै हामी सबैकाे राेजाईमा पर्नुकाे कारण मेराे बुवा ऋषिराम सापकाेटा, जाे त्यहाँकाे उप- प्रध्यानाध्यापक र गणित बिषयकाे शिक्षक पनि हुनुहुन्थ्याे ।
१३ जनाकाे कक्षामा पढिरहेका हामी अब ७०-८० जना काे भीडले भरिएकाे कक्षामा पुगेका थियाैं। कक्षा नाै दुई सेक्सनमा बिभाजित थियाे। हामी सबैलाई सहजताकाे लागी एउटै कक्षामा राखिएकाे थियाे। त्यहाँका अरु बिध्यार्थीहरुले हामीलाई हेर्ने नजर नै फरक थियाे।
बाेर्डिङ्गबाट आएका, हुनेखाने, ट्यालेन्ट र पावरवाला भनी हामीलाई बाँकी बिध्यार्थीहरुले हेर्दथे। हामी आफ्नै ग्रुपमा रमाएका थियाैं। अरु हामीबाट अलि टाढिन खाेज्दथे तर शिक्षक शिक्षिकाहरुले भने शुरु बाट नै हामीलाई विशेष निगरानीमा राखि एउटै नजरले हेर्नुहुन्थाे।
शुरुका दिनहरुमा हामीलाई नेपाली माध्यमले गर्दा केही अप्ठ्याराे भयाे। तर बिस्तारै त्यहाँकाे माहाेलमा हामी घुलमिल हुँदै गयाैं। अङ्ग्रेजी बिषय बाहेक बाँकी सबै बिषयहरु नेपालीमा पढ्दा केही असहज भएतापनि पछि हामीलाई त्यै तरिका नै मन पर्दै गयाे।
अमर सरकाे अङ्ग्रेजी, नुतन म्याडमकाे नेपाली र जनसंख्या, बर्मा सरकाे बिज्ञान, बिनाेद सरकाे सामाजिक, राजकुमार सरकाे लेखा र ऋषि सरकाे गणित बिषयमा हामीहरु रमाउँदै घुलमिल हुँदै गयाैं। ती हामीबाट टाढिन खाेज्ने साथीहरु पनि बिस्तारै नजिकिदैं गए। पराई लागेकाे ज्ञानाेदय स्कुल र त्यहाँका सबैजना बिस्तारै आफ्ना हुँदै गए।
पढाइ सँग सँगै अतिरिक्त कृयाकलापहरु जस्तै हाजिरी जवाफ, बक्तृत्वकला, कविता, निबन्ध आदिमा म सानै देखि निकै सकृय थिएँ। ज्ञानाेदय पुगेपछि पनि त्यसले निरन्तरता पायाे। स्कुलमा अब्बल भई जिल्ला ब्यापी र राष्ट्रब्यापी कार्यक्रममा सरिक भई पुरस्कृत हुने मेराे सिलसिला त्यहाँ पनि शुरु भयाे। राष्ट्रिय जु.रे.स गाेष्ठि हाम्रै पालामा ज्ञानाेदयमा भव्यतासाथ आयाेजना भयाे।
म जिल्ला भरि बाट छानिएर रेडक्रसकाे अन्तर्राष्ट्रिय गाेष्टिकाे छनाेटकाे लागि पहिलाे पटक काठमान्डाै टेकेकाे थिएँ। थुप्रै जिल्लाब्यापि प्रतियाेगीताहरुमा मैले ज्ञानाेदयकाे प्रतिनिधित्व गरि पुरस्कृत भई आफुलाई पनि चिनाएकाे थिएँ। खजुरा क्षेत्रमै त्यतिबेलाकाे म परिचित नाम थिएँ। म र ज्ञानाेदय त्याे दुई बर्षमा नै एक सिक्काका दुई पाटा जस्तै भईसकेका थियाैं।अझै पनि ती पलहरु सम्झदाँ अाफैलाई गाैरव बाेध हुन्छ।
त्याे स्कुले जीवन र ती स्कुलका सहपाठीहरु अझै पनि उत्तिकै प्रिय छन्। अझै पनि ६२ सालकाे ज्ञानाेदयकाे एस्. एल. सी ब्याच भनेर परिचय दिदाँ मन नै आनन्दित भएर आउँछ।
०६२ सालकाे जन अान्दाेल र द्वन्द्वका कारणले हाम्राे एस एल सी काे बाेर्ड परीक्षा नेपालगंजमै बसेर दिनुपरेकाे थियाे। पहिलाे पटक घर छाेडी बाहिर बसेर पढ्न पनि ज्ञानाेदयले नै सिकाएकाे थियाे। मेवालाल स्कुल रानीतलाउकाे त्याे परिक्षाकाे माहाेल अझैपनि दिमागमा ताजा छन्। त्याे २० दिने डेराकाे बसाईँ र रुममेट साथीहरु सुजन र नारायण अझै पनि प्रिय छन्।
अझै पनि मेरा तिनै ज्ञानाेदयका सहपाठिहरु सुदिप, पुष्कर, सुवास, खेमराज, लक्ष्मण र रमेश मेरा सुख- दुख दुवैमा भेटिरहेका हुन्छीन।
जल्ट पनि उत्तिकै सानदार अाएकाे थियाे हाम्राे ब्याच र ज्ञानाेदयकाे त्यसबेला। बिध्यालय यश क्षेत्रकै उत्कृष्ट बिध्यालय भयाे भने म ०६२ सालकाे सामुदायिक बिध्यालयबाट एस्. एल.सि दिने बिध्यार्थी मध्य सबैभन्दा अब्बल भएँ।
त्याे क्षण मेराे जिवनकै एउटा ठुलाे उपलब्धी थियाे। त्याे उपलब्धिले म लगायत सबै साथीहरुमा एउटा नँया उर्जा थपिदिएकाे थियाे।
त्यसपछिकाे अध्ययन गर्न काठमान्डाै काे २ बर्षे बँसाई र देहरादुनकाे ६ बर्षे शैक्षिक आराेह अवराेहमा ज्ञानाेदय सधै मेराे मन मुटुमै रहिरह्याे। भनिन्छ नि जग बलियाे भयाे भने घर पनि बलियाे हुन्छ।
म लगायत हजाराैं बिध्यार्थीहरुकाे जग नै ज्ञानाेदय हाे भने त्यसलाई मलजल गरि मजबुत घर बनाउने कुशल कालिगरकाे काम त्यहाँका शिक्षक शिक्षिकाहरुले गर्नुभएकाे छ। आज त्यहाँ बाट उत्पादित हजाराैं छात्र छात्राहरु सरकारी, गैर सरकारी, ब्यावसाय लगायत थुप्रै बिधामा उच्च अहाेदामा पुगेर ज्ञानाेदयकाे सान मान र प्रतिष्ठालाई बढाईरहेका छन्। त्याे भीड मध्यमा म पनि एक हुँ भन्न पाउँदा अाफुलाई गर्व महसुस हुन्छ।
आज म जे छु जहाँ छु म ज्ञानाेदयले सिकाएकाे पाठ र देखाएकाे मार्गमा हिँडिरहेकाे छु। अहिले बिध्यालयकाे काया पलट भईसकेकाे छ। त्याे साधारण पुर्वाधार,सिमित स्राेत र सानाे शैक्षिक जनशक्ति भएकाे ज्ञानाेदयमा आज अत्याधुनिक पुर्वाधारका भवनहरु, प्राबिधिक धारका काेर्ष, दक्ष जनशक्ति र उच्च शिक्षाका सम्पुर्ण स्राेत साधनले भरिपुर्ण छ।
५ नं प्रदेशकै मात्र नभएर नेपालकै नमुना बिध्यालय मा गनिन्छ ज्ञानाेदय आज। मेराे बुवा प्र.अ भैसक्नु भाकाे पनि धेरै बर्ष भयाे। दिन रात ज्ञानाेदयकै लागि बुवाकाे मेहेनत र लगाव अझै पनि उस्तै छ। लाग्छ म ज्ञानाेदयबाट टाढिएकाे छैन, ज्ञानाेदय नै मेराे घरमा छ।
प्राय ज्ञानाेदयकै बिषयमै चर्चा परिचर्चा चलिरहेकै हुन्छ हाम्राे घरमा।
ज भु.पु. बिध्यार्थीकाे हैसियतले ज्ञानाेदय सँग जाेडिएका मेरा अनुभव र स्मृति लेख्दा पनि ती दिनहरु र पलहरु एक एक गर्दै दिमाग र मनमा छाईरहेका छन्। यस्तै तिता मीठा ज्ञानाेदयसँग गाँसिएका यादहरु त्यहाँ पढेका सबै पूराना बिध्यार्थी सँग छन् हाेला।
ती मध्यकै एक म पनि हुँ । मलाई ती मेरा स्मृतिका पानामा लेखिएकाे ज्ञानाेदय नाम निक्कै प्याराे र आफ्नाे लाग्छ। सधैँभरि यसैगरि नै ज्ञानाेदयकाे नामलाई मनमुटुमा सजाईरहन पाउँ र ज्ञानाेदयकै प्रगतिकाे गुणगान गाईरहन पाउँ, यहि नै कामना गर्दछु।










