फागुन २३ मेरो जीवनको कालो दिन

ज्ञानु संगम खड्का :

फागुन २३ मेरो जीवनको कालो दिन

मलाई महिनाहरुमा फाल्गुन महिना मन नै पर्दैन। अझ फाल्गुन २३ गतेको दिन देखेर एकदम घृणा लाग्ने गर्छ। किनकि फाल्गुन २३ ले मेरो जीवनको खुसी खोसेको छ, मेरो परिवारमा बज्रपात पारेको छ। मलाई जन्म दिई संसार देखाउने भगवानरुपी ममतामयी आमालाई फाल्गुन २३ ले संसारबाट टिपेर लगेको छ।

सम्झिँदा मुटु भक्कानिएर आउँछ।आजभन्दा ७ वर्ष अगाडि बि.सं. २०६९ साल। म कक्षा ८ मा पढ्थेँ। त्यतिबेला जिल्ला स्तरीया परीक्षा हुन्थ्यो। म त्यसैको तयारीमा थिएँ। कक्षामा टप ३ विद्यार्थीमा पर्ने भएकोले नतिजा राम्रो ल्याउने दबाब ममा थियो। त्यसै अनुरुप बिहान टिउसन क्लास जाने गर्थें अनि दिउँसो रेगुलर क्लास।

घरमा वुवा, आमा, दाइ ,भाउजु, दिदि , बहिनी अनि म गरी ७ जनाको परिवार पाल्न बुवालाई गाह्रो हुन्थ्यो। घरमा आर्थिक समस्या त्यति राम्रो नभएकोले वुवा त्यही साल (बिदेश) खाडी मुलुक कतार जानुभयो।

यता घरमा आमा पनि पैसा आउने साना तिना कामहरु गर्नुहुन्थ्यो । बाँकेको शमशेरगन्ज स्थित बेलबास गाउँमा अवस्थित मेरो घरदेखि १० किलोमिटर टाढा रहेको ठुरे नदिमा गिट्टी संकलन गरेर बेच्ने काम आमाले गर्नुहुन्थ्यो । काममा जाँदा सधै ट्याक्टरमा जानुपर्थ्यो। किनकी आमा जस्ता धेरैले बनाएको गिट्टी तिनै ट्याक्टरवालाले किन्ने गर्थे।

वि.स २०६९ साल फाल्गुन २३ गते बुधबारको बिहानी। बिहानको साढे ४ बजेको थियो। आमा सधैं झैँ त्यस दिन पनि गिट्टी बनाउन जानु भयो। नेपाल बन्दको दिन थियो त्यस दिन। बनाएको गिट्टी बेचेर आइहाल्ने भनेर आमा घरबाट निस्किनुभएको थियो। आमा काममा गईसकेपछि म पनि टिउसन क्लास जाने तयारीमा थिएँ। करिब साढे ७ बजेको समयमा गाउँमा एउटा हल्ला फैलियो दुर्घटनाको।

त्यो हल्ला मेरो कानमा पनि पर्‍यो। म कसको दुर्घटना भयो होला भनेर सोच्दै थिएँ। फेरि अर्को हल्ला चल्यो बेलबासकी एकजना महिला चढेको ट्याक्टर दुर्घटनामा पर्‍यो भनेर। यो खबर सुन्ने बित्तिकै मेरो मन चिसो भएर आयो। मेरो दिमागले सोच्न थाल्यो, कतै मेरो आमा त पर्नु भएन दुर्घटनामा?

टिउसन जान तयार भएको म घटनाको खवर फैलिए लगत्तै टिउसन जान छोडेर हतार हतार गाउँकै मेरो साथी खेमलाई भेट्न गएँ। किनकी मेरो आमासंगै उसको आमा पनि दुर्घटनामा पर्नुभएको रहेछ। खेम र म साइकल टिपेर आमको दुर्घटना भए ठाउँतिर लाग्यौं । मुटुको धडकनले ठाउँ छोडिसकेको थियो। खेमले साइकल चलाइरहेको थियो, म चाहिँ पछाडी बसेर भगवानसंग प्रार्थना गरिरहेको थिएँ हाम्रो आमाहरुलाई केहि नहोस भनेर। एकछिन पछि शमशेरगन्ज बजारमा पुग्यौं ।

बजारदेखि दुर्घटना भएको ठाउँ करिब ९ किलोमिटर टाढा पर्थ्यो। बजार पुग्दा मान्छेहरु कुरा गर्दै थिए ,”काठमाडौंबाट आइरहेको नाइट बसले ट्याक्टरलाई ठक्कर दिएको रे। बेलबासका दुईजना महिला दुर्घटनामा परेका छन रे। एकजना घटना स्थलमै मरिन रे ,अर्कोलाई चाहिँ खुट्टामा धेरै चोट लागेको छ रे!”

यस्ता कुराले मेरो मन झन आत्तियो। मेरो साथी पनि आँखामा आँसु निलालेर बोल्न सक्ने अवस्थामा थिएन। त्यतिकैमा एकजना गाउँका दाइ आएर भने,”अब कोहलपुर दशबिगाहा हस्पिटलमा जाउ तिमीहरू। घटना स्थलमा छैनन तिम्रो आमाहरु। उनीहरूको मृत्यु भइसक्यो। हस्पिटल गएर लास चिन अब।” दुर्घटनापछि उपचारका लागि आमाहरूलाई प्रहरीहरुले कोहलपुर लगेछन।

ती दाइको रुखो शैलीमा यस्तो खबर सुन्दा मेरो होस हरायो। मुटु फुल्लिएर आयो। आँखाबाट आँसुहरु चुहिन थाले। रुँदै रुँदै घर फर्के। दुर्घटनामा आमाहरुको मृत्यु भएको खबर चारैतिर फैलिसकेको थियो। गाउँलेहरु र घरबाट दाइ अनि दिदिहरु कोहलपुर गए। म भने घरमा रुँदै बसेको थिएँ। मनमनै यो खबर झुटो भइदेओस भनेर भगवान पुकारिरहेको थिए। हस्पिटलमा उपचार भइरहेको होला केहि समयपछि निको भइहाल्छ होला भन्ने आस मनमा पलाइरहेको थियो।

तर त्यतिकैमा दिदिले फोन गरेर आमाको उपचार गर्दागर्दै मृत्यु भयो भनेर। अघि सम्म आमा बाँच्ने आस मनमा बोकेको मैले यो खबर सुन्ने बित्तिकै सारा संसार अँध्यारो देख्न थालेँ। डाको छोडी रुन थालेँ। गाउँका मान्छेहरु घरमा जम्मा भएका थिए। म रोएको देखेर उनीहरू पनि रुन थाले। कोहिले मलाई सम्झाउन थाले। तर मेरो मन कहाँ मान्थ्यो र। जन्म दिने आमाले छोडेर जानुभयो, अब मैले आमाको माया गुमाए। यस्तै यस्तै कुराहरु बारम्बार मनमा खेल्न थाले। झन म डाको छोडेर रोएँ।

मलाई आमाको शव हेर्न आत्तुर थियो। आमाको शव हेरेर भएपनि बुझाउने सोचमा थिएँ। साँझ साढे ५ बजेतिर सेतो कपडा अनि प्लास्टिकमा बेरेर आमाको मृत शरीर घरमा ल्याइयो। छिटो छिटो मैले प्लास्टिक खोलेर हेरे। आमाको मुखको बंगारा सबै भाँचिएको रहेछ। खुट्टामा एकदम गहिरो गहिरो चोट लागेको रहेछ। एकछिन आमाको मृत शरिरलाई झम्टी झम्टी रोएँ। घरमा दाइ भाउजू दिदि अनि बहिनी पनि डाको छोडेर रोईरहेका थिए।

अन्ततः साथीको आमाको शव र मेरो आमाको शव सँगै जलाउन लगियो। त्यस दिनको दृश्य भयानक थियो। यस्तो दृश्य कुनै चलचित्रमा मात्रै देखिन्थ्यो। तर दुइवटा शव, पुरै शमशेरगन्ज बासीहरु मलामी ।
त्यही दिन आमाहरुको शव जलाएर साँझ ७ बजे घर फर्कियौँ।

यता घरमा पुग्दा बिदेशबाट फोनगरेर बुवा रोइराख्नु भएको रहेछ। मेरो आँखामा भने आमाको दृश्य मात्र घुमिरहेको थियो। त्यस दिनदेखि मलाई लाग्यो भगवान साँच्चिकै निष्ठुरी रहेछन। बुवा बिदेश गएको एक महिना नहुँदै घरमा बज्रपात पर्‍यो। मेरो परिवारको खुसी लुटियो। जन्म दिने आमाले कहिल्यै नफर्किने गरि छोडेर जानुभयो।

आमाले संसार छोडेर गएदेखि आजसम्म म पुर्ण रुपमा कहिल्यै खुसी हुन सकेको छैन। सायद हुन्न होला पनि। आमाको मृत्यु पछि आमाको महत्व दिन प्रतिदिन बढ्दै गएको महसुस हुन्छ। जसको आमा देखि पनि आफ्नै आमा जस्तो लाग्छ। आजभोलि त यो “आमा” भन्ने शब्द एकदम बिरानो लाग्न थालेको छ।

बुवा पनि त्यतिबेला बिदेश जानुभएको आजसम्म घर आउनुभएको छैन। आमाको मृत्युको पिडाले उहाँको मन घरतिर फिटिक्कै छैन। आमाले संसार छोडेको र बुवा बिदेशिनु भएको आज ७ वर्ष भयो।
आमाको मृत्यु पछि ९ र १० कक्षा पढेर उच्च शिक्षाको नेपालगन्ज छिरेको मेरो पनि ५ वर्ष भयो। नेपालगन्जबाट घर नजिकै छ। तर पनि घरमा जाने मन लाग्दैन। घर शून्य लाग्छ। लाग्छ ठुला ठुला चाडपर्व न आईदिएनी हुन्थ्यो। चाडपर्वमा घर पुग्दा आमालाई अनि बिदेशमा रहनुभएको बुवालाई सम्झेर एकदम रुनेगर्छु।

अहिले पढाइसँगै आफ्नो पत्रकारीता कर्मलाई नेपालगन्जमा बसेर अगाडि बढाइरहेको छु। हरेक क्षण आमालाई सझिरहेको हुन्छु। आज बि.सं २०७६ फाल्गुन २३ गतेको दिन हो। तर मलाई २०६९ सालको फाल्गुन २३ गतेझै लागिरहेको छ। त्यस दिनको याद आँखामा झलझली आइरहेको छ।

सायद मलाई कसैले केहि माग भनेर माग्न दिइयो भने म क्यालेन्डरमा फाल्गुन महिना हटाउन माग्थे होला। किनकी फाल्गुन महिनाको २३ गते मेरो जीवनको कालो दिन हो। जुन दिनले मेरो जीवनमा कहिल्यै निको नहुने पीडा दिएर गएको छ।

प्रतिक्रिया