कविता : ‘३६ , २४, ३६ को सुन्दर नारी म’

एकता बुढाथोकी

तस्वीर : निरज कार्की ( एल्भिन)


पोथी बासेको सुहाउँदैन भन्ने मेरो समाजको , म नारी
पन्छी बनी उड्न चाहान्थे खुल्ला
तर त्रास भने थियो मनमा किनकी दिनहुँ सुन्थे
बलात्कार हिंसाको होहल्ला ।

भारी झोला ठूलो सपना बोकी जान्थे कलेज
चाहन्थे मेरो समाजको मुहार फेर्ने
विडम्बना ,
गेटमै सुरु हुन्थ्यो सामुहिक पिचासी चर्तीकला
भन्दै ‘ओइ ३६ , ३४ , ३६ हेर्न’

त्यस समूह मध्यको गोरो अग्लो केटा
जो मन पराउँछु भन्दै पछि लागि
फाल्थ्यो कहिले फूल त कहिले पत्र
आँखा तर्नु मन थियो उत्पीडनको बदला थप्पड पनि
तर , डर थियो पर्छ कि आमा बुबाको इज्जत अलपत्र

तर एक दिन आटै गरि थप्पड लगाए
जितको महशुस गर्दै खुशिका साथ घर तिर भागे
जित क्षणभरको थियो ,जब भोलीपल्ट कलेज लागे
मैले ‘सर्वस्व’ आँखा सामु गुमाए ।

एसिड यानिकी तेजाव
सिकार भएकी थिए म ,
मेरो बहादुरीको बदलामा उपहार स्वरुल दियो ।
हजारौंको भिडमा तड्पिएर , रोएर , गुहारे
एक्लै लडिरहे सडकमा
पग्लिए प्लास्टिक झैं तर तमासे मौन भैदियो ।
तै पनि जिवित भए तर जिउदो लास , अस्पतालमा छ ।
महिना लडिरहे म ,उता बाबू आमा अदालतमा ।

ठुला लाई चैन सानालाई ऎन ,
भने झै मेरा लागी बनेनन कानुन
उ बलियो
कमजोर कुरुप म यस धरातलमा ।

कानुनमा नसमेटिएको अपराधको पीडित म
पत्रीकाको हेडलाईन बने
मेरो नामले इतिहास रचेकी छु ।
‘३६ , २४, ३६’ को सुन्दर नारी म
आज कुरुप , बिचारी अपहेलित भएकी छु ।
तर पनि संसार जित्ने आट लिइ अघि बढेको छु ।

(एकता बुढाथोकी मिस नेपालगन्ज २०१९ को प्रतिसप्रधी हुन् , यो कविता उनले मिस नेपालगन्ज २०१९ को ट्यालेन्ट राउन्डमा प्रस्तुत गरेकी थिइन् )
माथी प्रस्तुत गरिएको तस्वीर- एसिड बर्न मेकअप मात्र हो



प्रतिक्रिया