
पृष्ठभूमी
प्रश्न : बुद्धका चार आर्य सत्य बारे थाहा छ ?
उत्तर : थाहा छैन ।
प्रश्न : बुद्धले बताएका आर्यअष्टांग मार्ग बारे थाहा छ ?
उत्तर : छैन ।
प्रश्न : बुद्धले सिकाएको ज्ञान र ध्यान विधि थाहा छ ?
उत्तर : थाहा छैन ।
प्रश्न : अनि के थाहा छ त ?
उत्तर : बुद्ध वाज बर्न इन नेपाल ।
फेसबुकमा निकै शेयर भएको यो स्टाटसको उठानबाट शुरु भएको श्लोक्य लिखित आर्टिकल अघिल्लो बुद्धजयन्तीका दिन पढ्दै गर्दा मेरो मस्तिष्क राम्रैसंग हल्लिएको थियो । आफुलाई लालबुझक्कड र विद्वान ठान्ने मेरो बुझाई कति सतही रहेछ । आजसम्म ज्ञानको केन्द्रमा हैन परिधीमा रुम्मलिएर मैले दिन,महिना र बर्ष खेर फालेको रहेछु (अझै फालिरहेकै छु)। ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर टविटरमा ह्यासट्याग गर्ने, बुद्धचित्र अंकित टिसर्ट पहिरिने र साथीहरुलाई ‘बुद्ध’मिम म्यासेन्जरमा ठेल्ने बाहेक अरुकुनै कुरा बुद्धबारे सुन्न र बुझ्न चाहिन मैले।
अर्धशिक्षा र अर्धचेतनाले भरिएको मेरो अहङ्कार लज्जावती झारझै भएपछि ज्ञानगंगाको केन्द्रमा रहेका महामानव गौतम बुद्धको बारेमा बुझ्ने,अध्ययन गर्ने प्रयास गर्दै छु । यद्यपि यो प्रयास नेत्रविहिनहरुले हात्ती छामेझै भएको छ ।
विषय प्रवेश पुर्व
हामीलाई विश्वमाझ चिनाउने दुईकुरा छन । सगरमाथा र गौतम बुद्ध ।यी दुईकुरामा हामीलाई गौरव छ अझै गहिरिएर भन्दा घमण्ड पनि छ ।तर यी दुईकुरा मार्फत विश्वमा चिनिन पाउनु चरम भाग्य वा संयोग मात्रै हो। न त हामीले चाहेर सगरमाथा हाम्रा सीमामा पर्न गएको हो न त मायादेवी संग विन्ति विसाएर गौतम बुद्धको जन्म यहाँ भएको हो। गौतम बुद्ध नेपालमा जन्मिएको विषयमा हाम्रो घमण्ड ‘होमोनिड’ तहको छ भने ज्ञान र जानकारी ‘लिलिपुटे’तहको ।
आज २५६४औँ बुद्धजयन्तीका दिन बुद्ध, बुद्धत्व, गौतम बुद्ध र बुद्ध उपदेशलाई केन्द्रमा राखेर केही चर्चा गर्ने प्रयास गरिएको छ।
विषय प्रवेश
बुद्ध (अर्थ)
बुद्ध भन्ने बित्तिकै हामीले सिद्धार्थ गौतम भनेर बुझ्छा ै। तर सिद्धार्थ गौतम आफैले भनेका थिए म अगाडी पनि बुद्ध थिए म पछि पनि कति बुद्ध हुनेछन । जो पनि बुद्ध बन्न सक्छ। त्यसकारण सिद्धार्थ गौतमले गौतम शरणम गच्छामी भन्न नलगाएर बुद्धम शरणम गच्छामी भन्न लगाए । हामी मध्ये धेरैले ‘बुद्ध’ं शब्दलाई व्यक्तिवाचक नामका रुपमा बुझिरहेका छौँ । जुन गलत बुझाइ हो । जसले बोधी (ज्ञान) प्राप्त गर्छ उ बुद्ध हो। बौद्ध साहित्यमा तण्हंकर,मेघंकर,शरणंकर,दिपंकर लगायत २८ मानव बुद्धको नाम छ ।
‘बुद्ध’शब्द संस्कृत शब्द ‘बुध््’ बाट आएको हो जसको अर्थ ‘जागृत भएको’ भन्ने हुन्छ । बुद्ध धर्ममा पुर्णरुपमा जागृत वा निवार्ण प्राप्त गरेको व्यक्ति बुद्ध हो । यस्ता व्यक्ति लोभ,द्वेष र अज्ञानता सधैंका लागि पार गरेर पुर्णरुपमा दुःखबाट मुक्त हुन्छन र निर्वाण प्राप्त गर्छन्।
बुद्ध (प्रकार)
बुद्ध वाङ्मयमा तीन प्रकारका ‘बुद्ध’को उल्लेख भएको पाइन्छ ।
१. श्रावक बुद्ध
सम्यक सम्बुद्धको उपदेश सुनेर क्लेश अन्तगरी दुःखमुक्त हुने व्यक्तिलाई श्रावक बुद्ध भनिन्छ । अन्य मार्ग भन्दा सजिलो र छिटो हुने भएकोले गौतम बुद्धले पनि यही मार्गमा जोड दिएका छन् । श्रावक बुद्ध हुनका लागि सम्यक सम्बुद्ध हुन अत्यावशक छ ।
२. प्रत्येक बुद्ध
स्वयम बोधीज्ञान( बुद्धत्व) प्राप्त गरी बुद्ध हुने तर अरुलाई उपदेश दिएर प्रचारप्रसार नगर्ने बुद्धलाई प्रत्येक बुद्ध भनिन्छ । धर्मको आध्यात्मिक पक्षमा यी बुद्ध सम्यक सम्बुद्ध भन्दा पछि दोस्रो स्थानमा रहन्छन ।
३. सम्यक सम्बुद्ध
आफ्नै प्रयासले बोधीज्ञान( बुद्धत्व) प्राप्त गर्ने र बुद्धत्व एवम् दुःखबाट मुक्ति बारेमा अरुलाई सिकाउने बुद्धलाई सम्यक सम्बुद्ध भनिन्छ । यस्ता बुद्धले अरुलाई धर्मोपदेश द्वारा जागृत गर्छन । सिद्धार्थ गौतम पनि सम्यक सम्बुद्ध हुन । बुद्ध धर्ममा सम्यक सम्बुद्धको स्थान सबैभन्दा उच्च छ।
बुद्ध (सिद्धान्त)
बौद्ध दर्शन मुख्यरुपमा तीन सिद्धान्तमा आधारित रहेको पाइन्छ ।
१.अनिश्वरवाद
बुद्धले ईश्वरहुने सिद्धान्तलाई स्विकारेका छैनन् किनभने संसार कारण–कार्य(प्रतीत्यसमुत्पाद) नियमबाट सञ्चालन हुन्छ भन्ने धारणा व्यक्त गरेका थिए। ब्रह्माण्डलाई सञ्चालन गर्ने कोही छैन न त उत्पतिकर्ता छ न त अन्त्यकर्ता भन्ने यस सिद्धान्तको मुल आशय हो।
२. अनात्मावाद÷नैरात्मावाद
अनात्मावादको अर्थ ‘आत्मा छैन’ भन्ने हैन। जसलाई हामी आत्मा सम्झिन्छौ त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । चेतनाको स्तर फैलिएर कहिले बुद्धत्वको स्थितिमा पुग्न भने कहिले अध्याँरोमा विलिन हुनसक्छ । तसर्थ यो प्रत्येक पल परिवर्तनशिल छ। स्वयम हुनुको अर्थ नजानेर आत्मावान बन्न सकिदैन र निर्वाणको अवस्थामा मात्रै स्वयमलाई जान्न सकिन्छ। तसर्थ आत्मा त्यसबेला सम्म आत्मा हँुदैन जबसम्म बुद्धत्व प्राप्त हँुदैन।
३. क्षणिकवाद
संसारमा सबैकुरा नाशवान छन । सबै कुरालाई परिवर्तनशिल, क्षणिक ,केहि समयका लागि भएको र स्थायी रुपमा नहेर्न यस सिद्धान्तले जोड दिएको छ ।
गौतम बुद्ध (इ.पु. ५६३–४८३)
ब्राह्मण : के तपाईं ईश्वर हुनुहुन्छ ?
गौतम बुद्ध : नाई होइन ।
ब्राह्मण : के तपाईं देवदुत हुनुहुन्छ ?
गौतम बुद्ध : नाई होइन ।
ब्राह्मण : के तपाईं ईश्वर पुत्र हुनुहुन्छ ?
गौतम बुद्ध : नाई होइन ।
ब्राह्मण : त्यसो भए तपाईं को हुनुहुन्छ त ?
गौतम बुद्ध : म जागृत मानव हो।
(Dona-Sutta)
आज भन्दा २५०० वर्ष अगाडी हाल नेपालको सीमाभित्र पर्ने कपिलबस्तु जिल्लाको तिलौराकोटमा राजा शुद्धोदन र रानी मायादेवीको सुपुत्रको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । बैशाख शुक्ल पुर्णिमाकै दिन जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त गरेका महामानव हुन गौतम बुद्ध। २९ वर्षको उमेरमा भौतिक सुख–सयल परित्याग त्यागेर ज्ञानको खोजमा भौतारिएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा भारतको बोधगयामा बुद्धत्व( जागृत) प्राप्त गरेका थिए। सिद्धार्थ गौतमबाट गौतम बुद्धमा कायान्तरण भएका यी ‘महामानव’ले भारतको कुशीनगरमा ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए ।
बुद्धका चार आर्य सत्य
१.दुःख सत्य : दुःख छ भन्ने कुरा र यसको अवस्था बोध
२. दुःख कारण सत्य : दुःखको कारण आशक्ति र अन्ततः अविद्या हो भन्ने बोध
३. दुःख निवारण सत्य : दुःखको अन्त्य छ भन्ने कुरा बोध र यसको साक्षात्कार
४. दुःख निवारण मार्ग सत्य : दुःख निवारण गर्ने आर्यअष्टांगिक मार्ग बारे बोध र यसको पालना।
बुद्धका आर्यअष्टांगिक मार्ग
१.सम्यक दृष्टि : जस्तो छ त्यस्तै देख्नु अर्थात चार आर्य सत्यमा विश्वास गर्नु ।
२.सम्यक संकल्प : मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्नु।
३.सम्यक वाणी : अरुलाई बिझाउने र झुठो कुरा नगर्ने।
४.सम्यक कर्म : हानिकारक कामहरु नगर्ने।
५.सम्यक जीविका : आफु बाँच्नका लागि अरुलाई हानि नपु¥याउने ।
६.सम्यक प्रयास : आफुलाई सुधार्न कोशिस गर्ने ।
७.सम्यक स्मृति : स्पस्ट ज्ञानबाट देख्ने मानसिक क्षमता पाउने कोशिस गर्ने।
८.सम्यक समाधि : निर्वाण प्राप्ति ।
अन्तमा
संसारभर ‘लाइट अफ एशिया’ भएर प्रकाश छरेका गौतम बुद्धको आफ्नै जन्मभुमी भने अन्धकारमय छ। आफ्नै जन्मभुमीमा हराएका झै प्रतित हुने गौतम बुद्धलाई राज्यले राष्ट्रिय विभुतिमा कैद गर्ने, चित्र अंकित केही थान टिकट र सयको नोट प्रकाश गर्न र आमनागरिकलाई दीप प्रज्जवलनको उर्दी जारी गर्नमै ठुलो सम्मान दिएको ठानेको छ । यसैलाई राज्यले महान उपलब्धी र कर्तव्य ठानेको छ तर दशकैाँ देखि संरक्षणको अभावमा तिलौराकोट र लुम्बिनि रोइरहेको छ । बौद्ध सर्किट निर्माण, बौद्ध अध्ययन केन्द्र निर्माण लगायतका महत्त्वकांक्षी र दुरगामी अर्थ राख्ने योजनाहरु योजनैमा सिमित भएका छन ।
हामी आमनागरिकले पनि ‘बुद्ध वाज बर्न इन नेपाल’को राप एकोहोरो अलापिरहनु भन्दा बुद्ध, बुद्धत्व, गौतम बुद्ध र बुद्ध उपदेशलाई बुझिदिए श्रेयस्कर होला । बुद्ध चित्र अंकित टिर्सट छातीमा टाँस्न भन्दा बुद्धलाई मस्तिष्कमा बोक्ने प्रयत्न गरौँ ।अन्यथा भारतले बेलाबेलामा गर्ने गौतम बुद्ध जन्मको दाबीमा दाह्रा किटनु र‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर गिनिज बुकमा नाम लेखाउन खातिर टुंडिखेलमा पाङ्दुरे र खयाली डान्स गर्नुको कुनै औचित्य छैन ।
अप्पो दीपो भवः को कामना सहित बुद्ध जयन्तीको शुभकामना
सन्दर्भ स्रोत










