मोफसल नबुझेको काठमाण्डौें

मित्रलाल सापकोटा

हिजोबाट लगडाउन खुलेको घोषणा भएको छ । यस्तो लाग्दै छ मानौं अब नेपालमा कुनै कोरोनाको डर सन्त्रास हटिसकेको जस्तोगरि बाटाघाटा भरिभराउ भएका छन् । देशभर बाढि र पहिरोले जीउ ज्यानको क्षति भै रहेको छ । चारभञ्ज्याङ बाहिरको जिन्दगी त मानौं कतै सीमातिरबाट आउने रोगको त्रासमा छ कतै बाढी र पहिरोको त्रासमा । कतै जँङ्गे पिलरमा बजारिने बुट र बन्दुकको नाल यता छातितिर पनि तेर्सिने त्रास छ तर कतै कमाउन गएको नफर्कने हो कि त्रास छ । यो त्रासै त्रासमा बाँचेको मोफसलका विद्यालय क्षेत्रको के हुने र कसरी व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताको पिरलोले घरबार नै छोडेर अब कहाँ जाने हो भन्नेमा पुगेको पनि छ । चार भञ्ज्याङभित्र त यसका बारेमा अझै पनि कुनै ठोस निर्णय भएको छैन भएको छ बस फिस उठाइन्छ, स्कूल चलाइन्छ ।

विश्वविद्यालयले र परीक्षा बोर्डले भने अब परीक्षाहरु सञ्चालन गर्ने भन्ने बोल्न थालिसकेका छन् । काठमाण्डौंका नीजि विद्यालयहरु र यसका मालिकहरुका कुरा भने सबै ठिक छ जस्ता छन् । त्यहँ त शिक्षाका कुरा, नीजि विद्यालयका कुरा, शिक्षक र अभिभावकका कुराको टेलिभिजनहरुमा विज्ञहरु बोलाएर बहस गराईंदै छ । नीजि विद्यालयका संगठनहरु प्याब्सन एन प्याब्सनका नेताहरुलाई हरेक दिन जसो बोलाएर नीजि विद्यालयको बारेमा प्रश्नहरुको बौछार गरिँदै छ । अनि जबर्जस्ती बन्द भएका बेलामा पनि शिक्षकहरुको तलब दिने बारे सहमती गराईदै छ । अभिभावकका संगठनका नेताहरुलाई पनि ल्याएर फिसका कुरा गरिँदै छ ।

यो सम्पूर्ण गफगाफमा एउटा मात्रै चुरो कुरो भनेको यहि नै निकालिँदै छ कि विद्यालयहरुलाई सत्तोसराप गर्ने, नीजि विद्यालयहरु र यसका सञ्चालक भनेका डाँकै हुन भन्ने नै सिद्ध गराउन खोजिएको छ । नीजि विद्यालयका नेताहरुको कुरा भनेका एउटै छन् कि ‘हामीले त अभिभावकसँग कुरा गरि सक्यौं, वहाँहरु वैसाख देखि नै शूल्क दिन तयार हुनुहुन्छ भन्दै हुनुहुन्छ’ तर मलाई यो कुरामा मलाई एउटा प्रश्न गर्नै मन लागेको छ ती अभिभावकका नेतालाई अनि ती प्याब्सन र एन प्याब्सनका नेताहरुलाईः तपाईहरुले आफ्ना ठूला कुरा के का आधारमा गर्दै हुनुहुन्छ ? ती अभिभावकका नेता भनेका काठमाण्डौंका केहि विद्यालयका विद्यार्थीको अभिभावक कि देशै भरिका अभिभावकको नेता ? प्प्याब्सन एन प्याब्सनका नेता भनेको काठमाण्डौंका केहि विद्यालयका नेता कि देशै भरिका विद्यालयहरुको नेता ? के दशे भनेको काठमाण्डौं मात्रै हो ? उपत्यका बाहिर देश छैन ? तपाईहरुले जुनकुनै पनि निर्णय गर्दा के काण्ठमाण्डौं बाहिर कुनै निमूखा विद्यालयहरु छन् जो आफ्नो विद्यालयको दैनिक खर्च पनि धौ धौ गरेर धानेका छन् भन्ने कहिल्यै सोंच्नु भयो ? तपाईहरुले पुख्र्यौलि सम्पत्ति बेचेर या बन्धकी राखेर स्वरोजगारी चलाउँन हजार पाँचसय शुल्क लिएर विद्यार्थाी पढाएका विद्यालयहरुको बारेमा कहिल्यै सोंच्नु भयो ? के तपाईले कुरा गरेका र तपाईलाई शिक्षक कर्मचारी पाल्न वैसाख दखि नै फिस तिर्न तयार भएका अभिभावकहरु तपाईको काठमाण्डौं भन्दा बाहिरका हुन ? के काठमाण्डौंका जस्तै गाउँ र मोफसलका अभिभावक पनि शुल्क तिर्न सक्षम छन् ? के तपाईहरुसँग कुनै तथ्यांङ्कछ कि काठमाण्डौं भन्दा बाहिरका विद्यालयहरु कति र कस्तो आर्थिक हैसियत भएका हुन भन्ने ? छैन तपाईहरुलाई केहि पनि थाह छैन । तपाईहरु जहिले पनि जुनसुकै पार्टीको सरकार आएपनि काठमाण्डौंमा सिँहदरबार र बालुवाटारको बीचमा कुँदेर, भाडाको घरमा विद्यालय चलाएर दशौं हजार शुल्क उठाएर हामी त सक्षम छौं भन्ने भ्रम नपाल्नुस ।

तपाईहरुको दाँजोमा यो देशमा दुई हजार पनि विद्यालयहरु होलान तर दश दश हजार विद्यालयहरु भएको देशमा सबैलाई एउटै भँगालो र तराजुमा राखेर जसरी काठमाण्डौंमा बसेर निर्णय गर्दै हुनुहुन्छ नि त्यो बाँकी आठ हजार विद्यालयहरुका लागि मान्य नहुन सक्छ । आर्थिक हैसियतले भ्याए हो तपाईका निर्णहरु मान्न सकिने अन्यथा तपाईको त्यो काठमाण्डौंको सांचलाई मोफसलले स्वीकार गर्न सक्दैन ।

आज मोफसलका नीजि विद्यालयहरु रोएका छन् । यहाँका अभिभावकहरुको आर्थिक हालत खस्ता भएको छ । यहाँ तपाई अभिभावकका नेताहरुले भने जस्तो गरि सजिलै कसैले पनि विद्यालय सञ्चालन नगरेको बेलाको शुल्क दिनेवाला छैन । मोफसलका विद्यालयहरुमा आज पनि तीन बच्चामा एउटा फ्री बढाउने प्रचलन छ । शायद तपाईहरुलाई यो थाह छैन किन कि तपाईका विद्यालयहरुमा निशुल्क भनेका बिरलै होलान । यहाँ त खेतीपातीको मौसम हेरेर र इण्डियाबाट र विदेशबाट पैसा आउँछ र फिस तिरांैला भनेर बसेका अभिभावकहरु र आउला नि त एक दिन भन्दा भन्दै हजारौं रुपैंया बक्यौता राखेर अर्को विद्यालय या सरकारी विद्यालय चाहर्ने मनग्य अभिभावक छन् तपाईलाई त यो पनि थाह छैन । यहाँ त चिनेजानेको आफ्नै गाउँको त हो नि फिस त आइ हाल्छ नि भन्दै पर्खिंदा पर्खिंदा माछो माछो भ्यागुतो भएका धेरै उदाहरण छन् । जति कोशिश गरेपनि १५ प्रतिशत निशुल्क पढ्ने र २० प्रतिशत फिस नै नतिरी विद्यालय फेर्ने गरेका विद्यार्थी चराउने विद्यालयहरुको व्यथा तपाईहरु जस्ता केन्द्रको राप र तापमा बसेकाहरुको सोंच भन्दा धेरै परको कुरा हो ।

यस्तो बिषम परिस्थितिमा विद्यालय नचलेका बेलाको फिस माग्न तपाईहरुलाई कुनै लाज नलाग्ला र त्यहाँका अभिभावक ज्यूहरुले भोली विद्यालय नै नभेटिने पो हो कि भनेर तिर्लान पनि । किन कि तपाईहरुले त काठमाण्डौंमा जनसंख्याको बृद्धि सँगै कुनै अर्को सरकारी विद्यालयहरु थप्नै दिनु भएन । तपाईहरुको सत्तासँगको अघोषित साँठगाँठ छ भन्ने त प्राय सबैलाई थाह भएको कुरा हो । तर यहाँ त त्यस्तो छैन । हामीहरु त सरकारीसँगै हुर्केका हौं । प्रतिष्पर्धा पनि सरकारीसँगैको हो । निशुल्क बनाम केहि झिनो शुल्क । अभि तपाईहरुले कसरी हाम्रो प्रतिनिधित्व गर्नु भयो ? कहाँनिर मोफसलका विद्यालयहरुको व्यथा कहिले बुझ्ने प्रयास गर्नु भयो ? आज तपाईहरुले बन्द विद्यालयको फिस उठाउने र काम नगरेका बेलाको तलब पनि तिर्ने भनेर सजिल्यै भन्न सुहाँउछ ?

नीजि विद्यालयहरुले लुटे रे । लुटेर थुपारेको मध्येबाट तलब दिए भै गो नि त । नाफा हुँदा नबाँडेको अहिले बाँडे भयो नि त । नीजि विद्यालयका मालिकहरुले घरखेत बेचेर ल्याएर, ऋण काढेर जसरी गरुन गरुन तर तलब त दिनै पर्छ भन्ने अभिभावकहरु र शिक्षक कर्मचारी ज्यूहरुलाई पनि ती त्यस्तो लूटेका विद्यालयतिर नै गएर औंलो उठाउनुहुन अनुरोध छ । होइन भने मोफसलका कतिवटा विद्यालयहरुले कमाएका रहेछन् तिनीहरुलाई तिनीहरुको पछिल्लो दश बर्षको वासलात उठाएर हेर्नुस कति कमाए कति बोनस खाएका रहेछन् ।

आफै कर्मचारी भएर काम गरेको बाहेक अन्य कुनै शेयर हाले बापत छुट्टै नाफा खाएर मोटाएका पनि छन् भने पनि कतिवटा रहेछन् तीनको हिसाब किताब राख्नुस तपाईहरुको संगठन छ । सञ्जाल छ । सत्य कुरामा अडान लिने हो सोलोडोलो होछुवाका भरमा सबैलाई एउटै भँगालोमा हालेर गरिने व्यवहारले कहिँ कसैको भलाई हुनेवाला छैन । कोहि मरेर या कसैलाई मारेर केहि बन्नै पर्छ भन्ने मानसिकता नेपालमा युगौं देखि यहाँको राज्यसत्ता्, राजनीतिक पार्टीहरु सबैको रहेको छ । यसैको परिणाम हो आज पनि काठमाण्डौं भन्दा बाहिर नेपाल नदेखिएको ।

अब त मोफसलले पनि आँट जुटाउँनै पर्छ । आफ्ना विद्यालयहरुमा तिनीहरुलाई आएर सञ्चालन गर्न र कुम्ल्याएर देखाउन चुनौती दिनै पर्छ । हाम्रा विद्यालयहरुको शेयर सबैका लागि खुला गर्नु पर्छ । किन पनि भने हिजो पनि काठमाण्डौंले मोफसललाई देखाएर अनुदान खाएको हो । मोफसल भनेको त सधै सत्ताका खुड्किला मात्रै भएका छन् चाहे राजनीतिको होस या जुनसुकै संगसंगठनको होस् । तर अब यसरी चल्नेवाला छैन । तपाईलाई अस्वीकार गर्नुको बिकल्प पनि मोफसलसँग छैन । आत्म नभएको काठमाण्डौं, दिल नभएको काठमाण्डौं र चारभञ्ज्याङ बाहिरको व्यथा नबुझेको काठमाण्डौं हामीलाई चाहिने किन ?

प्रतिक्रिया