केपी घिमिरे : खै साथी कसरी लेखु ? हात थरथर काम्दै छ, मनमा अनेकौं कुराहरु खेलिरहेको छ, तिम्रो र हाम्रो सपना पूरा गर्न कसरी भूमिका खेलु भनेर दिनभर मनमा कुरा खेलेको छ ।
आखिर जीवन के नै रहेछ र ? केही दिन पहिला संगै चिया पिएका थियौं आज तिम्रो त्यो शरीर खरानी बनेर गयो ।
कोरोना तिम्रो लागि काल बनेर आयो, २० वर्ष देखि एउटै संस्थामा काम गर्दा तिमीले कसैको मन दुखाएनौ, आज तिमीले युवा अवस्थामै सबैको मन रुवाएर गयौ ।
कहिले शिक्षण अस्पताल कोहलपुर त कहिले शिक्षण अस्पताल नेपालगन्ज तिमीले काम गर्यौ , तिमीले सेवाग्राहीलाई दिएको सेवा तिम्रो श्रद्धाञ्जली सभा गर्दा सबैको आँखा रसाएको हेर्दा स्पष्ट हुन्थ्यो । अब तिम्रो अनुपस्थितमा नेपालगन्ज मेडिकल कलेजलाई धेरै क्षति पुगेको छ ।
तिमी सुरुदेखि नै कर्मचारी संगठनमा आबद्ध रहेर ठूलो सहयोग गरेका थियौ, पछि मेडिकल कलेजमा तिनवटा युनियन हुदा तिमीले यसले कर्मचारीहरुका सामुहिक मुद्दामा घाटा पुग्छ, युनियन एउटा हुनुपर्छ त्यो पनि कुनै पनि पार्टीसंग आबद्ध नभएर स्वतन्त्र युनियन हुनुपर्छ भन्ने तिम्रो कुरामा म पनि सहमत थिए र छु ।
तिमीले सर युनियन एउटै बनाउन पहल गर्नुस हामी हस्ताक्षर गरेर र गराएर साथ दिन्छौं भनेको कुरा तिम्रो मृत्युको खबर सुनेपछि मनमा खेलिरहेको छ ।
तिमीले समाजमा पनि केही गर्नुपर्छ भनेर विभिन्न संघसंस्थामा आबद्ध रहेर सेवा गरेका थियौ । गुम्बा निर्माण गर्नेदेखि, कसैलाई आर्थिक सहयोग गर्नुपरे अगाडि हुन्थ्यौ अब त्यो नहुने भयो । तिमीले परिवारको चिन्ता गर्थ्यौ अब कसले गर्ने ?
साथी म अन्त्यमा यति भन्छु कि तिम्रो सपना, तिमी जीवित रहदा त सकिएन तिम्रो चाहानालाई पनि म सकेसम्म पूरा गर्न लागि पर्नेछु । तिमीलाई हार्दिक श्रद्धा सुमन !











