नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाले बि(ग्रुपको सहयोगमा ग्रामीण समुदायमा पोषण सचेतना अभिवृद्धि, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा आधुनिक कृषि प्रविधिको विस्तार गर्ने उद्देश्यसहित बेलभारमा आयोजना गरेको “प्राङ्गारिक कृषि तथा पोषण मेला” सम्पन्न गरेको छ ।
“स्वस्थ माटो, स्वस्थ बाली, स्वस्थ जीवन, हामी सबैको जिम्मेवारी” भन्ने मूल नारासहित आयोजित मेलामा चार दर्जनभन्दा बढी स्थानीय कृषकहरूले आफ्नै उत्पादन प्रदर्शनीमा राखेका थिए ।
मेलाले स्थानीय कृषि उत्पादन, रैथाने बीउ संरक्षण, पोषणयुक्त खानपान र वातावरणमैत्री खेती प्रणालीप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो ।
आइतबार आयोजित मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष छब्बन खाँले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष खाँले माटोको उर्वराशक्ति जोगाउन र मानव स्वास्थ्य सुरक्षित राख्न प्राङ्गारिक खेती प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले पछिल्लो समय अत्यधिक विषादी प्रयोगका कारण कृषि उपज र मानव स्वास्थ्य दुवै जोखिममा परेको उल्लेख गर्दै अबको खेती प्रणाली वातावरणमैत्री र प्राङ्गारिक हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले किसानहरूलाई एउटै बालीमा व्यावसायिक रूपमा केन्द्रित हुन, जलवायु अनुकूल खेती प्रणाली अपनाउन तथा रैथाने बालीका बीउ संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कृषि पेशालाई सम्मानित र आत्मनिर्भर बनाउने उद्देश्यले किसानमैत्री बजेट ल्याउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
मेलामा डिजिटल खेती, स्मार्ट कृषि प्रणाली, पोषण प्रवर्द्धन तथा नवप्रवर्तनमा आधारित जानकारीमूलक स्टलहरू राखिएका थिए । स्थानीय कृषकहरूले उत्पादन गरेका तरकारी, अन्नबाली, फलफूल, घरेलु परिकार तथा प्राङ्गारिक उत्पादनहरू अवलोकनकर्ताको आकर्षण बनेका थिए ।
कार्यक्रममा जलवायु परिवर्तन अनुकूल कृषि प्रविधि अपनाएर उत्पादन वृद्धि गर्ने उपायबारे जानकारी दिइएको थियो भने सुनौला हजार दिनका आमा तथा बालबालिकाको पोषण सुधारमा यस्ता कार्यक्रम प्रभावकारी हुने जनाइएको थियो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक दल बहादुर रानाले पोषण र कृषिबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता मेलाले ग्रामीण समुदायमा पोषणसम्बन्धी व्यवहार परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बिग्रुपकि उपाध्यक्ष मिरा खनाल, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, वडा नं १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नं ३ का अध्यक्ष राज कुमार बर्मा, सामाजिक बिकास समितिका संयोजक राम अचल धोबी, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, स्वास्थ्य संयोजक दल बहादुर राना, आइटी अधिकृत बिकास जिसी, स्वास्थ्य अधिकृत पार्वती स्वमैय, स्वास्थ्यकर्मीहरू गीता शाही, दिपा पुन, उषा वाग्ले लगायत स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।









