जागिर छाडेर केराखेतीमा रमाएका टोपलाल विक, १२ बिघामा केरा खेती

नेपालगन्ज । युरोपको बसाइ र इलेक्ट्रिकल इन्जिनियर अध्ययनको पृष्ठभुमि अनि नगरपालिकाको जागिर छाडेर टोपलाल विक अहिले व्यावसायिक केराखेतीमा रमाइरहेका छन्। आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै बर्दियाको गुलरियामा केराखेती र बेर्ना उत्पादनको व्यवसाय सञ्चालन गरिरहेका विक नेपाली युवाका लागि प्रेरणादायी उदाहरण बनेका छन्।

गुलरिया नगरपालिका–४ सिर्जनशील टोलका विकले नगरपालिकाको उद्यम विकास शाखामा ६ वर्ष काम गरे । गत असोजमा जागिर छाडेका उनी पूर्ण रुपमा आफ्नै व्यवसायमा लागेका छन् । व्यावसायिक केरा खेतीमा दत्तचित्त भएर लागेका टोपलाल विकले मनग्गे आम्दानी गर्नुका साथै १२ जनालाई रोजगारी दिएका छन् ।

विदेशमा अवसर खोज्ने युवाहरूलाई आफ्नै देशमा पनि मेहनत, सीप र आधुनिक प्रविधिको प्रयोगबाट सफल उद्यमी बन्न सकिन्छ भन्ने सन्देश उनले आफ्नो काममार्फत दिइरहेका छन्।

विकले बर्दियाको गुलरियामा करिब १२ बिघा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। केराको उत्पादनसँगै उनले उन्नत जातका केराका बेर्ना उत्पादन र बिक्रीलाई पनि आफ्नो व्यवसायको महत्वपूर्ण हिस्सा बनाएका छन्।
परम्परागत खेतीभन्दा फरक ढंगले कृषि व्यवसायलाई अघि बढाएका उनले वैज्ञानिक प्रविधि र व्यवस्थित उत्पादन प्रणालीलाई प्राथमिकता दिएका छन्। केराखेतीसँगै बेर्ना उत्पादनलाई जोड दिँदा उनको व्यवसायले थप बजार विस्तार गर्ने अवसर पाएको छ।

टिस्यु कल्चर प्रविधिबाट बेर्ना उत्पादन
केराखेतीमा उन्नत प्रविधिको प्रयोगलाई महत्व दिएका विकले टिस्यु कल्चर प्रविधिबाट उत्पादित केराका बेर्ना प्रयोग तथा उत्पादन गर्दै आएका छन्।
उनले उत्पादन गरेका केराका बेर्नाको माग बर्दियामा मात्र सीमित छैन। चितवन, नवलपरासी, सुर्खेत, बाँके र कैलालीलगायत जिल्लासम्म बेर्ना पुग्ने गरेको छ।
यसले उनको व्यवसायलाई केराको फल उत्पादनमा मात्र सीमित नराखी कृषि सामग्री आपूर्तिसँग समेत जोडेको छ। गुणस्तरीय बेर्नाको उपलब्धताले अन्य किसानलाई पनि व्यावसायिक केराखेती विस्तार गर्न सहयोग पुग्न सक्छ।

वार्षिक एक करोडको कारोबार
विकको केराखेती र बेर्ना बिक्रीबाट वार्षिक करिब एक करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको बिकको अनुभव रहेको छ।
विदेशमा बिताएको समय र इलेक्ट्रिकल इन्जिनियरिङको पृष्ठभूमि छाडेर कृषिमा लाग्नु विकका लागि सामान्य निर्णय थिएन। तर उनले कृषि क्षेत्रलाई सम्भावनायुक्त व्यवसायका रूपमा अघि बढाउँदै आफ्नो सीप र मेहनतलाई स्वदेशमै प्रयोग गर्ने बाटो रोजेका बिकले बर्दियामा केरा खेति बिस्तारमा उल्लेख योगदान पुराएका छन् ।

प्रतिक्रिया