नेपालगञ्ज : रिकभरिङ नेपालले नेपालगन्जमा लागू औषध दुर्ब्यसनीहरुले भोग्दै आएका विभेद र हिंसाको बारेमा सरोकारवाला निकायसंग छलफल गरेको छ ।

लागू औषध प्रयोगकर्ताले परिवार, समाज र राज्यका विभिन्न अंगबाट भोग्दै आएका विभेद र हिंसा कसरी कम गर्न सकिन्छ र उनिहरुलाई कसरी उपचारमा सरिक गराउन सकिन्छ भनेर नेपालगन्जमा सरोकारवाला निकायसंग रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले समन्वय सहितको छलफल गरेको हो ।

लागूऔषध प्रयोगलाई केवल अपराधका रूपमा हेर्ने प्रवृत्तिभन्दा यसको स्वास्थ्य, सामाजिक र पुनर्स्थापनासँग जोडिएको पक्षलाई पनि समान रूपमा सम्बोधन गर्नुपर्ने नेपालगन्जमा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागीको भनाइ छ ।

बैठकको सहजीकरण समेत गर्दै रिकभरिङ नेपाल लुम्बिनी प्रदेश महासचिव यशोदा ज्ञावालीले लागूऔषध प्रयोग गर्ने व्यक्तिले परिवार, समुदाय र सार्वजनिक स्थानमा अपमान, तिरस्कार तथा विभेदको सामना गर्नुपर्दा समस्या लुकाउने वा उपचारबाट टाढिने अवस्था सिर्जना हुन सक्छ, यस्तो अवस्थामा उनीहरू स्वास्थ्य सेवा, परामर्श, उपचार तथा पुनर्स्थापना कार्यक्रमको पहुँचबाट समेत बाहिरिन सक्ने जोखिम हुने बताउनु भयो ।
लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई ‘खराब व्यक्ति’ वा ‘अपराधी’को रूपमा मात्र चित्रण गर्दा उनीहरू आफ्नो समस्या खुलेर व्यक्त गर्न हिच्किचाउने र लागू औषध प्रयोगकर्ताहरुमा विभिन्न किसिमको विभेद हुने गरेको र त्यसको समाधानको लागि सरोकारवाला निकाय बीचको समन्वयमा योजना र कार्यान्वयनको पक्षमा मिलेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको महासचिव ज्ञावालीले बताउनुभयो।
जिल्लामा लैङ्गिक अल्पसङ्ख्यक तथा लागू औषध प्रयोगकर्ताले लैङ्गिक अल्पसङ्ख्यक तथा लागू औषध प्रयोगकर्ता भएकै कारण बिभेदको सामना गर्नुपरेको यथार्थलाई चिर्न जिल्लामा रहेका सबै सरोकारवाला निकायले मिलेर कार्य गर्नुपर्ने वेस्टर्न स्टार नेपालकी परिना चौधरीले बताउनु भयो ।
बैठकमा आफ्नो धारणा राख्दै चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्शन प्रबिण बिसीले लागूऔषधको अवैध कारोबार, ओसारपसार र बिक्री नियन्त्रण गर्नु राज्यको महत्वपूर्ण जिम्मेवारी हो त्योसंगै लागूऔषध प्रयोगकर्ताको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई छुट्टाछुट्टै पहिचान गर्नुपर्ने र लागूऔषध प्रयोगकर्तालाई उपचारमा ल्याउन सके समाजमा पुनःस्थापन गर्न सकिने बताउनुभयो ।
रिकभरिङ नेपाल पूर्व लागुऔषध प्रयोगकर्ताहरू र लागुपदार्थ सेवा प्रदान गर्ने सङ्घ, संस्थाहरूको राष्ट्रिय स्तरको महासंघ हो।र रिकभरिङ नेपालले नेपालमा लागूऔषध प्रयोगकर्ता तथा त्यससँग सम्बन्धित समुदायको अधिकार, स्वास्थ्य र पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै लागुऔषध प्रयोगकर्ताहरूको उपचार र पुनःस्थापनाको लागी नीति निर्माणको लागी वकालत गर्दै आएको छ ।
कार्यक्रममा बिष्णु गोसाई, सिद्दराज पनेरु, पुष्प शाही ठकुरी, सकुन रिजाल, पुजा सापकोटा लगायत सहभागीले छलफलमा आफ्नो धारणा राखेका थिए ।












