नेपालगन्ज । नेपाली सेनाबाट अवकाश लिएपछि फुर्सदको समयलाई सदुपयोग गर्दै केरा खेतीमा लागेका बर्दियाको गुलरिया नगरपालिकाका टंक योगी अहिले व्यावसायिक केरा खेतीमा रमाइरहेका छन्। सुरुमा १०–१२ कठ्ठा जमिनबाट केरा खेती सुरु गरेका योगीले अहिले आफ्नो खेती विस्तार गरेर करिब १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन्।

विगत ८–९ वर्षदेखि केरा खेतीमा सक्रिय योगीले कृषि कर्मबाट आफूलाई व्यस्त राख्नुका साथै व्यावसायिक उत्पादनलाई समेत विस्तार गर्दै लगेका छन्। नेपाली सेनाको सेवाबाट अवकाश लिएपछि बाँकी जीवनको समयलाई उत्पादनमूलक काममा लगाउने सोचका साथ उनी केरा खेतीमा प्रवेश गरेका हुन्।

सानो क्षेत्रफलबाट सुरु गरेको खेतीलाई विस्तार गर्दै १० बिघासम्म पुर्याउनु उनको कृषि यात्राको महत्वपूर्ण उपलब्धि हो। तर, खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि उत्पादनको बजार र उचित मूल्यको सुनिश्चितता नहुँदा उनलाई चिन्ता थपिएको छ।

केरा खेतीमा अहिलेसम्म घाटा व्यहोर्नु नपरे पनि किसानले विभिन्न चुनौतीको सामना गर्नुपर्ने योगीको अनुभव छ। कहिले प्राकृतिक विपत्तिले क्षति पुर्याउने त कहिले रोग तथा कीराको समस्याले उत्पादनमा असर गर्ने गरेको उनी बताउँछन्। कृषि कर्ममा निरन्तर लागिरहँदा यस्ता समस्यासँग जुध्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
“केरामा राम्रो सम्भावना छ, सम्भावना देखेर नै बर्दियामा पछिल्लो समय केरा खेती गर्ने किसान उल्लेख रुपमा वृद्धि भएका छन्, तर सम्भावना संगै कयौं चुनौती पनि छ, बजारको समस्या नै प्रमुख समस्याको रुपमा देखा परेको छ”, योगीले बताए ।
यतिबेला केरा बिक्री हुने मुख्य सिजन भए पनि बजारमा बिक्री सन्तोषजनक हुन नसकेको योगीको गुनासो छ। उत्पादन बिक्री गर्ने समयमै बजारबाट अपेक्षित माग नआउँदा केरा बिक्री गर्न समस्या भइरहेको छ। त्यसमाथि उचित मूल्यसमेत नपाउँदा किसानको मेहनतअनुसार आम्दानी लिन कठिन भएको उनी बताउँछन्।
केरा खेतीमा किसानले वर्षभरि गरेको मेहनत उत्पादन बिक्री गर्ने बेलामा बजारको समस्याले प्रभावित हुने गरेको छ। खेती गर्न जग्गा तयार पार्नेदेखि बिरुवा रोप्ने, मलजल गर्ने, रोग नियन्त्रण गर्ने र उत्पादन तयार पार्नेसम्म किसानले निरन्तर लगानी तथा श्रम गर्नुपर्छ। तर, उत्पादन तयार भएपछि बिक्रीको सुनिश्चितता नहुँदा किसानलाई आर्थिक जोखिम बढ्ने गरेको छ।
योगीको अनुभवले व्यावसायिक केरा खेतीमा उत्पादन बढाउनु मात्रै पर्याप्त नहुने देखाउँछ। उत्पादित केराको सहज बजारीकरण, उचित मूल्य र बजार व्यवस्थापन पनि उत्तिकै आवश्यक छन्।
नेपालमा कृषि उत्पादनको बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सके किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न थप मद्दत पुग्न सक्छ। स्थानीय उत्पादनले बजार नपाउने अवस्था अन्त्य गर्न सम्बन्धित निकायले किसानका समस्या पहिचान गरी बिक्री वितरण र बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने देखिन्छ।












