नेपालगन्ज : उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ताहाचल, काठमाण्डौको आयोजनामा स्वच्छ चुलो कार्यक्रम सम्बन्धी जानकारी दिने उद्देश्यले १ दिने कार्यशाला गोष्ठी आज सोमबार कोहलपुर स्थित सेन्ट्रल प्लाजा होटलमा सम्पन्न भयो ।
कार्यक्रममा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र परियोजनाको कलस्टर ४ अन्तर्गतका बाँके, बर्दिया, दाङ जिल्लाका स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत,कार्यक्रम फोकल पर्सन ,र सामाजिक परिचालकहरुको सहभागिता रहेको उक्त कार्यक्रम कलस्टर ४ का परियोजना संयोजक ई. नारायण घिमिरेको अध्यक्षतामा भएको थियो ।
तराईका पूर्वमा झापा जिल्ला देखि सूदुरपश्चिमको कञ्चनपुर सम्मका २२ जिल्लाका २८४ स्थानीय तहहरु मध्ये १५० स्थानीय तहहरु छनौट गरी कार्यक्रम कार्यान्वयन गरिएको र कार्यक्रम कार्यान्वयन हुने जिल्लाहरुलाई चार कलस्टरमा विभाजन गरि कार्यक्रम सञ्चालन गरिएको तथा उक्त मध्ये कलस्टर नं. ४ अन्तर्गतका दाङ्, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका ३२ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालनमा रहेको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कलस्टर नं. ४ का संयोजक ई. नारायण घिमिरेले जानकारी दिएका छन् ।
यो परियोजना अन्तर्गत विद्युतिय चुलो वितरण, तह ३ को सुधारिएको चुलो र बायो ग्याँस (गोबर ग्यास)जडान कार्यक्रम रहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र सहित हरित जलवायु कोष(दातृ निकाय), स्थानीय तह र उपभोक्ताको समेत लागत सहभागिता रहने जनाइको छ ।
लाभग्राही छनोटका लागि स्थानीय तहले जिम्मा पाएको यस कार्यक्रमका मुख्य २ वटा छनोट विधि रहेका छन् । पहिलो प्राविधिक आधार अन्तर्गत विद्युतिय चुलो जडानका लागि कम्तिमा १५ एम्पियर क्षमताको मिटर जडान भएको हुनुपर्ने वा सो नभएमा सम्बन्धित उपभोक्ताले स्तरोन्नती गर्ने प्रतिवद्धता गर्नुपर्ने, तह ३ को सुधारिएको चुलो जडानका लागि दाउरा वा बायोग्याँसको सहज तथा सुलभ उपलब्धता हुनुपर्ने, ४ घन मिटर को घरायसी बायोग्यास (गोबर ग्यास)जडानका लागि घरमा कम्तिमा एउटा गाईवस्तु पालन भएको हुनुपर्ने । दोस्रो आर्थिक सामाजिक आधार अन्तर्गत घरमुली महिला भएको परिवार, एकल महिला भएको परिवार, आदिवासी दलित,पिछडिएको वर्ग भएको परिवार शारीरिक अशक्तता भएको परिवार रहने आयोजकले जानकारी दिएको छ ।
कम खर्चमा लक्षित वर्गको घरधुरीमा स्वच्छ तथा आधुनिक चुलोको पहुँच पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन रहेको र परियोजना सञ्चालन भएको ५ वर्ष (२०२५–२०३०) भित्र विद्युतिय चुलो ५ लाख, बायो ग्याँस १० हजार र तह ३ सुधारिएको चुलो ४ लाख ९० हजार घर परिवारमा पुर्याउने लक्ष्य रहेको परियोजनाका आर्थिक प्रशासन प्रमुख तारा पोख्रेलले जानकारी दिएका छन् । साथै आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन भएका प्रत्येक पालिकामा सर्भिस सेन्टरको व्यवस्थापन गर्ने समेत उनले जनाएका छन ।
कार्यक्रममा सहभागि स्थानीय तहका जनप्रतिनिधि तथा फोकल पर्सनहरुले यो परियोजना अन्तर्गत बैकल्पिक उर्जाका लागि यस वर्ष छनोट भएका लाभग्राही उपभोक्ताहरुलाई चालु आ.व.को असार मसान्त अगाबै सामाग्री उपलब्ध गराईदिन अनुरोध गरेका छन् भने कार्यक्रम सन्चालन क्ल्सटर ४ कि उप संयोजक पेन्पा गुरुङ ले गर्नु भएको थियोे !









