प्रहरी प्रधान कार्यालयको कार्य सम्पादनमा प्रहरी कार्यालय बाँके पहिलो स्थानमा पर्न सफल

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनाभर २९६ वटा मुद्दा दर्ता भएका छन्।

तीमध्ये ११ वटा जघन्य अपराध,५८ वटा गम्भीर अपराध,
१४७ वटा सामान्य अपराध तथा ५४ वटा आर्थिक अपराध सम्बन्धी मुद्दा रहेका छन्। सार्वजनिक चासोका ५८ वटा पेन्डिङ मुद्दा सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रणतर्फ २४ वटा मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ३४२ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर, १४८ ग्राम चरेस, १६८ ट्याब्लेट नाइट्रोजेपाम तथा २५० क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ।

भन्सार छली नियन्त्रण अभियानअन्तर्गत करिब रु. ३५ लाख ५९ हजार ६ सय १२ बराबरका अवैध सामान बरामद गरिएको छ। यस क्रममा १२ जना व्यक्ति र १०४ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ।

अदालतबाट भएका फैसला कार्यान्वयनतर्फ १२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकाले ४५ वर्ष ३ महिना २३ दिन कैद सजाय तथा रु. ४७ लाख १० हजार ३ सय ५८ जरिवाना भुक्तानी गर्न बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ।
ट्राफिक व्यवस्थापनतर्फ असारमा ११ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट १ हजार ८७० सवारी साधनमाथि कारबाही गरी रु. १६ लाख ४० हजार राजस्व संकलन गरिएको छ।

प्रहरीले असार महिनाभर १ हजार ५६ पटक पिकेट, ५८२ पटक चेकिङ, ५ हजार ८४ वटा ग्रामीण गस्ती (SRP) र २२ वटा लामो दूरी गस्ती (LRP) सञ्चालन गरेको जनाएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ११५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रमबाट २१ हजार ७६७ पुरुष र १३ हजार २६३ महिला लाभान्वित भएका छन्। विद्यालयमा मात्रै ११ वटा कार्यक्रम सञ्चालन हुँदा २ हजार ६४६ छात्र र २ हजार ३३४ छात्रा सहभागी भएका थिए।

प्रहरीका अनुसार असार महिनामा ५२ वटा घरेलु हिंसाका उजुरी, ५९९ वटा विभिन्न उजुरी, १० वटा आत्महत्या तथा ८२ वटा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरी दर्ता भएका छन्।
यस्तै प्राकृतिक सम्पदा संरक्षणतर्फ १५ वटा सवारी साधन नियन्त्रणमा लिई रु. १ लाख ४३ हजार ७ सय ७० जरिवाना संकलन गरिएको छ। अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका क्रममा ८० केजी माछा र २ हजार कुखुरा बरामद गरी रु. २ लाख २८ हजार २ सय राजस्व संकलन गरिएको छ। अवैध वन पैदावार नियन्त्रणमा ७०.१३६ क्युफिट काठ नियन्त्रणमा लिई रु. २० हजार राजस्व संकलन गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको नेतृत्वमा अपराध नियन्त्रण, अनुसन्धान, लागूऔषध नियन्त्रण, सीमा सुरक्षा तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाइएकै कारण बाँकेले नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेको चर्चा भइरहेको छ। प्रहरी स्रोतका अनुसार आगामी दिनमा पनि यही सक्रियता र प्रभावकारिता कायम राख्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिनेछ।

प्रतिक्रिया