नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले आफुलाई खेलकुद हबको रुपमा अगाडि सारेको वडाअध्यक्ष प्रमोद रिजालले बताएका छन् ।

वडा नम्बर एकका अध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका रिजालले वडा नम्बर एक ओपन इन्डोर क्रीकेट टुर्नामेन्टको समापन कार्यक्रममा बोल्दै वडा नम्बर एकले आफुलाई खेलकुद हबको रुपमा अगाडि सारेको बताएका हुन् ।


खेलकुदले सद्भाव र भाइचारा कायम गर्ने हुँदा खेलकुद आयोजना गर्नु पर्छ र शहरमा हुने खेलकुदका गतिविधिलाई सदैव सहयोग र हौसला दिनुपर्छ भन्ने मान्यता बोकेको बताउदै अध्यक्ष रिजालले प्रतियोगिता आयोजना गरेकोमा आयोजक क्लबलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले वडा नम्बर एकले २६ कठ्ठा क्षेत्रफलमा एन्फा एकेडेमी तयार गरेको र त्यहाँ आउटडोर गेमहरु हुँदैआएको तथा विभिन्न स्कुलहरुले आफ्ना खेलकुदका गतिविधि समेत गर्दै आएको सम्झदै वडा नम्बर एकले खेलकुद पुर्वाधारमा गरेको लगानीले यस क्षेत्रको खेलकुद तथा शैक्षिक बिकासमा योगदान पुराएको स्मरण गरेका थिए ।
साथै वडा नम्बर एकले नेपालकै दोस्रो ठूलो साइकल पम्प ट्र्याक निर्माण गरेको, ओपन जिम तथा बासकेट बल कोर्ट तयार गरेको र वडामा नेसनल गेमहरु पनि संचालन हुँदै आएको बताउदै खेलकुदको क्षेत्रमा वडाले गरेको गतिविधिले नयाँ खेलाडी उत्पादनमा तथा सद्भाव र भाइचारा कायम गर्न मद्धत गरेको बताएका थिए ।
धम्बोझी क्रीकेट क्लबले आयोजना गरेको वडा नम्बर एक ओपन इन्डोर क्रीकेट टुर्नामेन्टको उपाधी भेरी रकर्स स्पोर्ट्सले जितेको थियो । समापन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका आयोजक क्लबका अध्यक्ष वीर राना मगर सहभागी टिम र प्रायोजकलाई धन्यवाद दिएका थिए ।














