
रिस त उठेन ? शिर्षक देखेर वा पढेर । तर मैले दुई चोटि सोचेर , छानेको शिर्षक हो ।
साच्चिकै छाडी दिनुस् , आजका यी कुराहरू । कारण नेपालगन्जले नाटक गर्छ । किनकी नेपालगन्जले नाटक गर्न मन पराउछ । नेपालगन्जले नाटक गर्न यति मन पराउछ कि त्यसको सिमै छैन।
बस कहिलेकाहीँ लाग्छ नेपालगन्ज आजभोलि थिएटर बन्दै छ । विभिन्न समयमा विभिन्न स्वादका , विभिन्न भाषा , जात ,धर्म , बिचार अनि समुदायको प्रतिनिधित्व हुने गरि नाटक मंचन हुने ।
अनि तिमी र म यही नाटक हेर्दै हुर्कदै बढ्दै छौ । नेपालगन्जको नाटकमा हुनत आफ्नै बिशेषता छ , आफ्नै मौलिकता छ अनि सबैभन्दा महत्त्वपूर्ण कुरा हरेक स्वादका नाटकका पारखी पनि टन्नै छन् । जसलाई नेपालगन्जले आफ्नै स्थानिय भाषामा सायद ‘हनुमान’ भन्ने गर्छन् ।
यो हनुमान शब्दको उत्पत्ति मैले अर्थात यो वाक्यांश लेख्दै गरेको रामु ओलिले गरेको होईन । यसको सर्वाधिकार नेपालगन्जमै निहित छ । त्यसैले हनुमान शब्दको ब्याख्या पनि नेपालगन्जले नै बेलामौकामा आफ्नै तौरतरिकाले आफू अनुकुल प्रयोग र विश्लेषण गर्छन् त्यसमा मेरो कुनै आपत्ति छैन ।
देशमा कोरोना छिर्यो , कति दिक्क लाग्ने कुरो । ब्यक्ति मात्रै होईन म मेरो परिवार, छिमेकी ,अनि शहर र पुरै देश मेरै कारणले जोखिममा जान सक्छ । उनैले घन्काए सुचना , बोले मिडियामा , कुर्लिय जहाँजहाँ ठाउँ पाए । अनि म मनुवा ताली बजाए वा वा …भने , फेसबुकमा राजा त कसैलाई रानी बनाए , कसैलाई प्रधानमन्त्री र मन्त्री बनाए , कोहि छुटे कि ? बनाउन बाकी ।
नाइँ छुट्न दिइन … चाउचाउ बाड्ने र मास्क बाड्ने सम्मलाई सुहाउँदो केही न केही दिए समाचारमा , मनमा , शब्दमा किनकी लाग्यो विषम परिस्थितिमा नेपालगन्जले नाटक हैन काम गर्छ । कोरोनालाई भगाउन नेपालगन्जले नाटक हैन हातेमालो गर्छ । लकडाउनलाई पालना गर्न नमस्कार गर्दै एक-आपसमा माया ममता बड्छ ।
होईन रहेछ , नेपालगन्जले अझै पनि नाटक नै गर्दो रहेछ । नाटक नै गरिरहेको रहेछ । भुल त मेरै रहेछ, किनकी नाटकको नयाँ कथा , नयाँ भाग सुरु भएको मैले नै पत्तो नपाएको रहेछु ।
नाटकका कलाकार उहीँ , नेपालगन्ज उहीँ , स्वार्थ उहीँ , नाटक हेर्ने दर्शक उहीँ , केही फरक थियो त त्यो थियो कथा ! जसको नाम थियो -कोरोना ।
राजनैतिक बन्द र विषम परिस्थितिको लकडाउन बिचको फरक थाहा नपाउने मेरो नेपालगन्जले नाटक नै गरेको हो । महामारी छेउ मै टपक्कै र्याल काडेर बसेको छ , र पनि नेपालगन्जलाई टहलाउन उतै जानै पर्ने , हावा खानै पर्ने , घर दैलोमै ठेलामा राखेको सब्जी होईन दिनदिनै मन्डी धाउनै पर्ने यी पनि नाटक नै त हुन् । जो मैले र तिमिले नेपालगन्जको नाममा गरेका छौं । त्यसैले त अझै नेपालगन्जले नाटक नै गर्छ । छोडेको छैन नाटक गर्न ।
गल्ती नेपालगन्जको मात्रै होइन , नाटक गर्नु । नाटक देखाउने प्लेटफर्म नै यति गज्जबका छन् कि नेपालगन्जले नाटक नगरी बस्नै सक्दैन । हातहातमै मोबाइल , मोबाइलमा अन्लाईन मिडिया , फेसबुक र टिकटक । नाटक गर्यो पोस्ट्यायो । अनि नेपालगन्ज हौसिदै गयो । सायद को पो हौसिदैन होला र ?
अहिले भने नेपालगन्ज नाटक गर्ने एडिक्ट नै बनिसकेको छ कि ? नचाहेर पनि नाटक गरेकै छ । नथाहा पाएर पनि नाटक गरेकै छ । राहत र आहत सम्मको नाटक अब फिक्का भयो रे त्यसैले अब त भोजमै नाटक देखाउने उसको ठूलो इच्छा छ रे …। यस्तै सुने ।
यसै गरि सुत्नु अगाडी एउटाले भन्यो , भोजको नाटकको थोरै कथा …रे कै आसयमा । उता मेरा ठूलो बाबाले घर भित्रै बस्नु भन्ने उर्दि जारी गरेका छन् । छिमेकी बा पनि त्यसै भन्दै छन् । तर नेपालगन्जलाई औडाह भयो रे किनकी भित्र भित्रै बसेर गरेको नाटक कस्ले हेरे ? प्रश्न आयो रे अनि सोच्यो रे अब ठुलै नाटक गर्छु किनकी म नेपालगन्ज हु । कारण मेरो अस्तित्व नाटक गर्नु मै छ । म नाटक गरेरै त जिवित छु । बाकी त सप्पै बुटवलले खाइदी सक्यो ।
सायद यस्तै सोच्दो हो नेपालगन्ज । मैले कल्पना गरे । त्यसैले त नेपालगन्ज नाटक गर्न रहर गर्छ । अब त झनै ठूलो नाटक गर्ने रहर पालेको छ । सब्बै समाजलाई देखाउने उसको रहर छ रे त्यो पनि प्रत्यक्ष । चित्र र चलचित्रमा देखाइएको नाटकको ताली सायद उत्तिसारो रुचाएन नेपालगन्जले । सुन्दै छु अब लाइभ नाटक देखाउन चाहन्छ नेपालगन्ज । चाइनामा लेखिएको नाटक -कोरोना ।
त्यसैले छाड्नुस यि कुरा । किनकी नाटक गर्छ नेपालगन्ज ।










