नाटक गर्छ नेपालगन्ज !

रामु ओली

नाटक गर्छ नेपालगन्ज !

नेपालगन्जले नाटक गर्छ ! वा यसो भनौं नाटक गर्छ नेपालगन्ज !
कुरा उस्तै हुन्, सुन्दा , बुझ्दा र बुझाउदा । तर मलाइ यस्तै लाग्छ -‘नेपालगन्जले नाटक गर्छ’ । बारम्बार नाटक गर्छ । कहिलेकाहीँ त दिन्कै नाटक गर्छ ।

नेपालगन्ज पुरानो शहर , भनिन्छ जंग बहादुरको सपनाको शहर हो रे , किनकी मैले देखिन । त्यसैले रे नै भने। नदेखेको कुरा, हो नै भनेर ठोकुवा गर्न मन लागेन । मन नै त हो । उनले पनि कुन मुडमा आएर नेपालमा गन्ज थपे अनि नेपालगन्ज बनाए ,त्यसैमा हामी गोल थप्दै गन्जागोल बनाउदै छौं । यो मेरो कुरा हो , मेरो धारण हो । सबैलाई सहमत हुनुपर्ने कुनै प्रावधान छैन ।

कहिलेकाहीँ मनमा कुरा खेलाउछु , के चाहिँ कुरामा नेपालगन्जले नाटक गरेन ? अनि उत्तर फटाफट आउँछ , मध्यपश्चिम बिश्वबिद्धालय गुमाउदा, प्रदेशको सिमान्कन गर्दा , प्रदेश राजधानीको कुरा उठ्दा , अनि सभाहल गुमाउँदा । अनि अरु केही ? झिनामसिना नाटक नलेखौ क्यार ! शब्द खेलाउन उति जाँगर चल्दैन आजकाल ।

अनि के कुरामा नाटक गर्‍यो त ? कत्तिले मनमा कुरा खेलाउनु भो होला । स्वभाविक नै हो कुरा खेल्नु , तर त्यसको उत्तर म भन्दा नेपालगन्जले नै राम्रो संग दिन सक्छ ।

अस्ति को कुरा , मतलब केही दिन अगाडि क्रीकेट प्रतियोगिताको उद्घाटन सत्रमा नेपालगन्जले नाटक गर्‍यो । हेर्नेले रमिता जस्तै माने , मजा लुटे , कसैले धापडी मारे , कतिले ओठ टोके , कतिले क्यामेरामा कैद गरे नाटक मंचनका चित्र र ध्वनि ।

प्रमुख अतिथि मेयर तथा उपमेयर नबनाइएको विषयले नाटकको रुप ग्रहण गर्‍यो । त्यहाँ धेरैले भने राजनिती भयो तर मेरो बुद्धिले भन्दै थियो – यो नेपालगन्जको यो मौलिक आचरण हो ‘नाटक गर्ने’

अनि बेलाबखत नेपालगन्जले कर्णाली प्रदेशमा जाने भन्दै कुरा गर्छ , आन्दोलन गर्ने उद्घोष गर्छ अनि फेरि दाङ राजधानी भनेर बार्गेनिङ गर्छ । यो सबै क्रिया पनि नाटक नै लाग्छ । यो नाटक नेपालगन्जले केहि बर्ष अगाडी देखि गर्दै छ र अझै केही समय पक्कै गर्ने छ ।

नेपालगन्जको मुटु धम्बोझी चोकमा ४६ लाखमा सौचालय बन्छ । सौचालयमा संगीत सुन्न पाइन्छ । संगीतको धुनमा सौच गर्न मिल्छ । तर त्यसैको पचास मिटरको दुरिमा रहेको ब्यस्त सडकमा ठुला ठुला खाडल परेका छन् तर नेपालगन्जको ध्यान जादैन , त्यसैले म भन्छु नेपालगन्जले नाटक गर्छ । किनकी नेपालगन्जलाई सौच गर्दा संगीत चाहिन्छ तर दुर्घटना भएपनी सडकको अवस्थामा मौन बसेर नाटक गर्न रुचाउँछ ।

नेपालगन्जले आफ्नो सडकको अवस्था सुधार गर्दैन , त्यता चासो पनि राख्दैन , किनकी नेपालगन्जलाई थाहा छ सडकबाट पैसा आउदैन, पैसा त केवल ब्यापारिक कम्प्लेक्स वा साधारण भाषामा सटरमा छ । त्यसैले त सटर निर्माण गर्न ब्यस्त छ तर त्यही छेउको भत्किएको , अस्वस्थ वा जिर्ण सडगले हास्दै भन्छ – ‘नाटक गर्छ नेपालगन्ज’!

के नाटक मात्रै गर्छ त नेपालगन्ज ? यो प्रश्न पनि जायज नै हो । अनि फेरि सोच्न बाध्य हुन्छ नेपालगन्ज । अनि नेपालगन्जको उत्तर हैन भन्ने आउँछ । नेपालगन्ज कहिले काहीं संबेदनसिल पनि बनी दिन्छ । सायद थाक्दो हो नेपालगन्ज नाटक गर्दा गर्दै ।

मैले देख्दा देखै एक-एक दशकको अन्तरालमा संबेदनसिल बनी दियो नेपालगन्ज, करिब दुई दशक अगाडि र एक दशक अगाडि संबेदनसिल बनेको नेपालगन्जले त्यसपछि भने आफुलाई सद्भावको शहरको रुपमा परिणत गर्‍यो ।

त्रिभुवन चोकलाई भत्काउने र भत्काइएको कुरामा पनि नाटक गर्‍यो नेपालगन्जले, त्यसैले त आज आफ्नो लाज छोप्न फ्लेसबोर्डको सहारा लिदै छ । त्यही फ्लेसलाई पनि सम्हाल्न नसकेको नेपालगन्जले च्यातिएको कमिज लाएर सुन्दर अनि स्मार्टको नारा बोकेको छ । अनि भन्ने , देख्ने र सुन्नेले भन्छन् ,- नाटक गर्छ नेपालगन्ज !

के नेपालगन्ज आफैले नाटक गर्छ त ? म कहिलेकाहीँ गम्भीर हुने कोसिस गर्छु , आफैले कसरी नटक गर्दो हो ? आफैले कसरी आफुमै खिस्सी गर्दो हो ? कसरी हास्दो हो ? यी प्रश्न हरु प्रश्न मै सिमित छन् किनकी नेपालगन्ज जंग बहादुरको सपनाको शहर हो ।

जब, जंग बहादुरको बिपनाको शहर बन्ने छ नेपालगन्ज अनि सायद नेपालगन्जले नाटक गर्ने छैन , काम गर्ने छ । बिकास गर्ने छ । अवसरको खोजी गर्ने छ । लड्ने छ । बनाउने छ र चिनाउने छ आफुलाई , आफ्नो गुमेको अस्तित्वलाई ।

अनि भन्ने छ नेपालगन्ज पश्चिमको एउटा नगरी थियो , छ र रहि रहने छ । यसपछि पुनः भन्ने छ नेपालगन्ज औद्योगिक , ब्यापारीक , शैक्षिक , पर्यटन र मेडिकलको हब हो भनेर ।



प्रतिक्रिया