हरि प्रसाद रिजाल

भाइरस( काेभिड-१९ )काे संक्रमण तिव्र रुपमा फैलिरहेकाे छ,यसकाे नियन्त्रण र राेकथामकाे लागि नेपालमा सरकारबाट बन्दाबन्दी गरिएकाे पनि एक महिना भन्दा बढि भईसकेकाे छ। बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित भई अन्याेलग्रस्त अवस्थामा रहेकाेछ।
अझै याे अवस्था लम्बिने सम्भावना पनि देखिन्छ।याे संक्रमणलाई राेक्ने र नियन्त्रण गर्ने एउटै उपाय बन्दाबन्दी नै हाे,यसकाे अहिले सम्म औषधि पत्ता लागेर प्रयाेगमा आएकाे पनि देखिंदैन।याे बन्दाबन्दीकाे प्रभाव विद्यालयमा पनि परेकाे छ र लाखौं विद्यार्थीहरु घरमा बसेर समय विताउनुपरेकाे छ भने अर्कोतिर कक्षा १०,११ र १२ कक्षाको परीक्षा हुन सकेकाे छैन।
अर्कोतिर नयाँ शैक्षिकसत्रमा नयाँ विद्यालय प्रवेश गर्ने उमेरका विद्यार्थीहरुमा विद्या लय जाने चाहना पूरा हुन सकेकाे छैन भने विद्यालयमा कक्षा १-९ सम्मका परिक्षाफल प्रकाशित नभएकोले कक्षा उत्तीर्ण भई नयाँ पाठ्यपुस्तक सहित माथिल्लो कक्षामा पढ्न पाउने चाहना पूरा नहुँदा निराश भएका छन।विद्यालय जाने र सिक्ने अवसर नहुँदा याे समयलाई सिकाई प्रकृयामा उपयाेग गर्न सकेका छैनन्।यस्तो अवस्थामा आजकाे विद्यार्थीहरुलाई कसरी सिकाउने भन्ने बहस चलिरहेकाे छ,त्यसमा अहिले अनलाईन कक्षाले चर्चा पाईरहेकाे छ ।
अनलाईन कक्षा उपयोगी ,सान्दर्भिक भनेर कक्षा सञ्चालन भईरहेकाे पनि सुनिन्छ । नेपालमा अनलाईन कक्षा उपयाेगी ,सान्दर्भिक र प्रभावकारी छ?नेपाली गाउँबस्ती, कुनाकाप्चा,शहर,हिमाल , पहाड,तराई देशकाे सम्पुर्ण भू-भाग र क्षेत्रमा सम्पूर्ण बालबालिकाहरुकाे पहुँचमा पुग्न सक्छ?सम्पूर्ण बालबालिकाहरुले अनलाइन कक्षाका लागि आवश्यक पर्ने,यन्त्र ,उपकरण, विद्युत, ईन्टरनेट लगायत सबै सुविधा सहजै उपयाेग गर्न सक्ने अवस्था छ?नेपालमा वि. सं. २०६८ काे जनगणनाकाे तथ्यांक अनुसार ७.३ प्रतिशत घरपरिवारले कम्प्युटर ,५१ प्रतिशतले रेडियाे ,३७ प्रतिशतले टेलिभिजन र ६५ प्रतिशतले माेवाईल फाेन प्रयाेग गर्दछन्।
तर याे तथ्यांक आजकाे मितिसम्म ७/८ वर्षको अवधिमा वृद्धि भएको छ, तर पनि कम्प्युटर ,माेवाईल,टेलिभिजनकाे संख्या दुरदराजका ग्रामीण क्षेत्रमा भन्दा शहरी र विकसित ग्रामीण क्षेत्रमा नै बढि थियाे र वृदि्द पनि भएको हाेला। अहिले अनलाईन कक्षाकाे बहस र सन्दर्भ चलिरहँदा शहरी क्षेत्र केन्द्रीत र माथिल्ला कक्षाहरु खासगरी माध्यमिक तह (९-१२)मा मात्रै चलेका र चलाउने बहस ,छलफल गरेकाे बुझिन्छ ।
विद्यालयमा बालविकास कक्षा देखि कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिकाहरु ४ वर्ष उमेरदेखि १७ वर्ष उमेर सम्मका बालबालिकाहरु हुन्छन भने सबै कक्षाका सबै उमेरका बालबालिकाहरुलाई सिक्ने र सिकाउने व्यवस्था हुनुपर्छ कि पर्दैन ?अनलाईन कक्षा सबै कक्षाका विद्यार्थीलाई पहुँच हुनेगरी सम्भव हुन सक्ला कि नसक्ला? चुनौति छ तर अवसर पनि ल्याउँछ,सम्बन्धित पक्ष गम्भीर हुनुपर्दछ। हामीले गर्न सक्ने सामान्य काम त गर्न सकेका छैनौं परिस्थिति प्रति हामी कति चिन्तित छौं भन्ने कुरा यसबाट स्पष्ट हुन्छ।
अनलाईनबाट हामी शिक्षकहरुले कक्षा १-९ सम्मका परिक्षाफलकाे आन्तरीक रुपमा तयार पारी प्रकाशित गर्दै विद्यालय तहकाे पाठ्यपुस्तक ( पाठ्यपुस्तककाे रकम निकासा भएको हाेला नभए निकासा गराउन र सम्बन्धित निकायकाे सहयाेग लिएर) र परीक्षाफल सहित विद्यार्थीका घर घरमा गएर विद्यार्थी र अभिभावकहरुलाई काेराेना सम्बन्धि छलफल र सचेतनाका साथै समसामयिक शैक्षिक अवस्थाका बारेमा छलफल गरि विद्यार्थी र अभिभावकलाई समय मिलाएर स्व- अध्ययन गर्न र अघिल्लो र पछिल्लो कक्षाका विषयबस्तुहरु अध्ययन गर्न ,शैक्षिक स्तरबारे जानकारी दिन त सकिन्छ नि ? अतिरिक्त ज्ञान हासिल गर्न प्रेरित गर्ने , हामी सबै शिक्षकहरु ९०% भन्दा बढि त विद्यालय वरिपरि नै बसाेबास गर्ने छौँ ।
जसबाट शिक्षक ,विद्यार्थी र अभिभावक विच बन्दाबन्दीले बढाएकाे दुरी कम गर्न सकिन्छ । याे बन्दाबन्दीकाे समयमा शिक्षकहरुले आफ्नाे विद्यालयकाे वार्षिक शैक्षिक, आर्थिक याेजनाहरु, परीक्षाफल र शैक्षिक गुणस्तरकाे समीक्षा आदी वारेमा छलफल गर्न सक्दछन ।
अहिले सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई अनलाईन कक्षा सम्भव छैन,यसैलाई मात्रै महत्त्व र प्राथमिकता दिने हाे भने नेपालकाे शिक्षामा ठुलाे असमानता देखिन्छ र शैक्षिक क्षेत्र धराशाही हुन्छ। याे भनिरहँदा अनलाईन कक्षाकाे विराेध गरेकाे हाेईन, सिक्ने र सिकाउने कुरामा विभेद हुनसक्छ,भन्ने मात्रै हाे।वर्तमानको अवस्था विश्लेषण र भावी स्पष्ट याेजना बनाएर मात्रै यसलाई प्रभावकारी बनाउन सकिन्छ ,नेपालमा विद्यार्थी भन्दा पहिला शिक्षकलाई अनिवार्य प्रशिक्षण दिनुपर्दछ।अहिले संकट आएर मात्रै हाेईन,संकटपछि पनि कक्षाकाेठालाई प्रविधिसंग जाेडेर शिक्षण गर्नु अनिवार्य भईसकेकाेछ।
हाम्रो देश नेपालमा अशिक्षा ,अज्ञानता,विकटता र गरिबीले अझै नेपाली समाज अाक्रान्त छ,नियमित विद्यालय गएर न्यूनतम शुल्क तिर्न नसकेर अनि आवश्यक शैक्षिक सामग्रीकाे अभावमा विद्यालय छाेड्नुपर्ने विद्यमान अवस्था छ,कक्षा १ मा भर्ना भएका विद्यार्थी संख्या कक्षा १० मा पुग्न सक्दैनन।किन त्याे अवस्था आयाे? प्रत्येक शिक्षकलाई प्रशिक्षण सहित शैक्षिक साधनस्रोत सम्पन्न बनाउनुपर्छ,हरेक विद्यालयमा इन्टरनेट सुविधा सहित पर्याप्त प्रविधिको सुविधा सम्पन्न पुर्वाधारहरु निर्माण गरि यसलाई प्रभावकारी बनाउनुपर्दछ।
अहिलेकाे संकटमा भदौ पछि पठनपाठन गर्न सकेपनि शैक्षिकसत्रमा कुनै फरक पर्दैन ,अनलाईन कक्षामा पहुँच हुनेहरुबाट पहुँच नहुनेहरुलाई मनाेवैज्ञानिक रुपमा निराश बनाउनु पनि सान्दर्भिक हुँदैन।सम्भव भएकाहरुले आफ्नाे सिकाईलाई निरन्तरता दिई कक्षा १०,११ र १२ का विद्यार्थीहरुले आफ्नाे परीक्षाकाे तयारी नियमित गर्दै घरमा बसी काेराेना विरुद्धको सामुहिक लडाइँमा विजयी र सफलता हासिल गरौँ । चुनौतीले अवसर पनि ल्याउँछ । सम्पूर्ण विद्यार्थीहरुमा उज्ज्वल भविष्यको शुभकामना !!
(लेखक महाकाली बहुमुखी क्याम्पस बेलौरी कन्चनपुरमा अध्यापन गराउनु हुन्छ)










