मानवअधिकारका बारेमा बढैयातालका जनप्रतिनिधीलाई अभिमुखीकरण

बर्दिया :

मानवअधिकारका बारेमा बढैयातालका जनप्रतिनिधीलाई अभिमुखीकरण

मानवअधिकार संरक्षण तथा प्रबद्र्धनका लागि बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाका जनप्रतिनिधीलाई मानवअधिकारका मापदण्ड र जिम्मेवारीका बारेमा अभिमुखीकरण गरिएको छ ।

पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज मंगलबार बढैयातालमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मानवअधिकारका आधारभुत कुरा, कानून, सिद्धान्त, अवधारणा, अधिकार, कर्तव्य, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मापदण्ड लगायतका विषयमा जानकारी गराइएको छ ।

कार्यक्रममा मानवअधिकारका आधारभुत जानकारी, अवधारणा, मुल्यमान्यता, सिद्धान्त, विशेषताका बारेमा अधिकारकर्मी शुसिल चौधरी, नेपालको संबिधानले व्यवस्था गरेको मौलिक हक, मानवअधिकार संरक्षणको व्यवस्था र राष्ट्रिय मानवअधिकार आयोगको भुमिका र मानवअधिकार संरक्षणमा स्थानीय सरकारको भुमिकाका बारेमा एफएचआइ ३६० का मानवअधिकार एडभाइजर सन्तोष सिग्देल र राष्टिय तथा अन्र्तराष्टिय मानवअधिकारको मापदण्ड र कानूनी व्यवस्थाका बारेमा एफएचआइ ३६० का मानवअधिकार अधिकृत दिचेन लामाले सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरणमा बर्तमान अवस्थामा मानवअधिकारको मापदण्ड अवस्था, कानूनी व्यवस्था, र गाउँपालिकाको भुमिकाका बारेमा छलफल गरिएको थियो ।

गाउँपालिकालाई मानवअधिकार मैत्री बाताबरण निमार्ण गर्नमा सहयोग पुरयाउने उद्देश्यले संचालित परियोजनाले कार्यपालिकालाई क्षमता अभिबृद्धि गरिएको हो ।

अभिमुखीकरणको समापन गर्दै गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले गाउँपालिकाले निमार्ण गरेका विभिन्न कानून तथा नितिहरुमा मानवअधिकारका कुरा कतिको समाबेश भएको छ त्यसलाई अध्ययन तथा विश्लेषण गर्न मद्दत पुगेको बताउनुभयो ।

उहाँले गाउँपालिकाले मानवअधिकारका सवाललाई पहिचान गर्न सहजभएकाले ती सवाललाई समयमै समाबेश गर्ने प्रतिबद्धता गर्नुभयो ।

संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले संचालन गर्नुभएको कार्यक्रममा परियोजना बारे संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी गराउनु भएको थियो ।

अभिमुखीकरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडासदस्य, तथा विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया