सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज । नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्दै ‘स्क्रिनसट’सहित बुलेटिन प्रकाशन गर्ने भएको छ।

एमाले बाँकेकी उपसमिति एवं प्रचार विभाग प्रमुख निर्मला सुनारले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, अशिष्ट तथा अमर्यादित अभिव्यक्ति र घृणा–द्वेषपूर्ण गतिविधिको स्क्रिनसट संकलन गरी अध्ययन तथा अनुसन्धानपछि तथ्यका आधारमा बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक असहमति र आलोचनालाई गालीगलौज तथा व्यक्तिगत आक्रमणमा परिणत गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता–कार्यकर्ताबाट राजनीतिक विरोधी तथा आलोचकलाई लक्षित गरी अशिष्ट र अपमानजनक अभिव्यक्ति आउने गरेको भन्दै एमालेले आपत्ति जनाएको छ।

एमालेले आलोचना लोकतन्त्रको आवश्यक पक्ष भए पनि आमाको नाम जोडेर गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा व्यक्तिगत अपमानमा उत्रिने कार्य राजनीतिक संस्कार नभएको जनाएको छ।

पार्टीले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिले समाजमा असहिष्णुता र राजनीतिक ध्रुवीकरण बढाउन सक्ने भन्दै सबै राजनीतिक दलका नेता–कार्यकर्ता तथा आम नागरिकलाई मर्यादित ढङ्गले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ।

‘विचारसँग लडौँ, व्यक्तिसँग होइन; तर्कले जवाफ दिऔँ, गालीले होइन’ भन्दै एमाले बाँकेले राजनीतिक विरोधीलाई गाली गरेर आफ्नो विचार बलियो नहुने जनाएको छ।

बुलेटिन प्रकाशनका लागि एमाले बाँकेले सात सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा निर्मला सुनार तथा सदस्यमा खेमराज शर्मा, मिनबहादुर मल्ल, कौशिला कठायत, माया गौतम, अनिता पौडेल र सकिल खाँ रहेका छन्।

प्रतिक्रिया