बाँके । बाँकेको जानकी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका एक सय ३८ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन् ।
कामका लागि भारतका विभिन्न स्थानमा गएका नागरिकहरु जेठ १ गते देखि नेपाल प्रवेशमा सहज भएपछि गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा उनीहरुलाई राखिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत खत्रीका अनुसार उनीहरुसँगै नेपाल प्रवेश गरेका बाँकेका विभिन्न पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकलाई स्वाब संकलन गरी धेरैको परिक्षण समेत भइसकेको छ ।
अन्य पालिकामा संक्रमित र सामान्यलाई छुट्टाछुट्टै राखि सकिएको छ । जानकी गाउँपालिकामा भने क्वारेन्टाइन बसेको ११ दिन विति सक्दा समेत स्वाब संकलनका लागि कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ ।
जानकी गाउँपालिकामा विद्यालय बाहेक सार्वजनिक संरचनाका छैनन् । यहाँ विद्यालयमा मात्रै क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइनमा राख्नका लागि समस्या भन्दा पनि भारतका विभिन्न स्थानमा आएका नागरिकलाई एकै स्थानको क्वारेन्टाइनमा राख्दा त्यहाँनै नयाँ व्यक्ति संक्रमित हुने हुनकी भन्ने समस्या रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाको भनाइ छ ।
क्वारेन्टाइनमा राख्नसाथ परिक्षण गर्दा राम्रो हुने थियो । को संक्रमित हो, को होइन छुट्याउन सजिलो हुने र नयाँ संक्रमण हुने जोखिम अन्त्य गर्न सकिने थियो । स्वास्थ्य शाखा प्रमुख राना भन्नु हुन्छ हामीले स्वाव संकलनका लागि विभिन्न तहका व्यक्तिले विभिन्न निकायमा अनुरोध गरेपनि सुनुवाई नभएको गुसानो उहाँको छ ।
गाउँपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतबाट आएका सयौं व्यक्तिसँग एकै साधनमा यात्रा गरेका र भारतमा रहदा एकै स्थानमा असुरक्षित तरिकाले छाक बास गरेका छन् । हाम्रो चहना नागरिक सुरक्षितका लागि तत्काल कोरोना भाइरस संक्रमणको चेक जाँचका लागि अनुरोध गरेका छौं सुनुवाई भएको छैन भन्नु हुन्छ पालिकाका सल्लाहकार किशोर थापा ।
जानकी गाउँपालिका लगाएत विभिन्न पालिकामा भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरु दिन प्रतिदिन बढी रहेका छन । हाल जानकी गाउँपालिका वडा नं. १ को प्राथमिक विद्यालय बढैयामा २७ जना सोही वडाका निम्नमाध्यामिक विद्यालय शिवपुरीमा २२ जना, प्राथमिक विद्यालय साइगाउँमा २३ जना, वडा नं. २को माध्यामिक विद्यालय जोगागाउँमा २९ जना, वडा नं. ३ को प्राथमिक विद्यालय मानपुरमा २५ जना र वडा नं. ४ को प्राथमिक विद्यालय वेलनियामा १२ जना रहेका छन् ।
यसैगरी जानकी गाउँपालिका कृषि तालिम केन्द्रको आइसोलेसनमा नरैनापुर गाउँपालिकाका कोरोना भाइरस संक्रमित ३९ जनालाई राखिएको छ ।









