व्यवसायसँगै समाजसेवामा उदाएकी ‘तारा’

नेपालगन्जका लागि उनको नाम नौलो होईन तर नौलो काम गर्ने बानी र सहयोगी मनका धनी तारा खत्री रोकाय उद्योग व्यवसायसंगै समाजसेवाको क्षेत्रमा एउटा ताराको रुपमा चित्रण हुने गर्दछन ।

नेपालगन्ज उद्योग वाणिज्य महासंघकी निवर्तमान उप-महासचिव समेत रहेकी तारा उज्यालो लालिगुराँस गार्मेन्ट उद्योगको अध्यक्ष समेत हुन् । लालिगुराँस गार्मेन्ट उद्योग २१ जनाको समूहद्वारा संचालित उद्योग हो । गार्मेन्ट उद्योगलाई हालको उचाइसम्म पुर्‍याउन अथक मेहनत गर्दै आएकी ताराको अर्को परिचय भनेको समाजसेवा हो ।

शिक्षा, स्वास्थ्य र विशेषगरी महिला तथा बालबालिकाका अधिकारको क्षेत्रमा वकालत र योगदान पुर्‍याउँदै आएकी ताराको लागि महिला सशक्तिकरणको मुद्दा प्रमुख बनिदिन्छन । असहाय वा कुनैपनी किसिमले आर्थिक कमजोर भएका महिलाका लागि ताराको प्रेम र योगदान सहयोग सम्म मात्रै रोकिँदैन, उनी आफ्नै परिवारलाई जस्तै कसिमा बाधेर जीवन जिउने कला सम्म सिकाउन भ्याउँछिन।

असहाय तथा कमजोर आर्थिक हैसियत भएका महिलाका लागि गार्मेन्ट सम्बन्धी तालिम दिने मात्रै होईन रोजगारी वा स्वरोजगारीको बाटो समेत देखाउँछिन । उसो त ताराले तालिम दिनु पुर्व नै केही सर्त राख्ने बताउँछिन ।

‘अहिले पनि गुन्द्रुक, सिन्की र मस्यौराको राम्रो बजार छ , तर यसतर्फ कसैको ध्यान जान सकेको छैन । यदि हाम्रो महिला दिदिबहिनीहरुले इच्छा राख्नु हुन्छ भने हामी तालिम दिने गर्छौँ र उहाँहरुले उत्पादन गर्नुभएको सामन किनिदिने समेत गर्छौँ ताकी उहाँहरुलाई बजार खोज्ने समस्या नहोस् । र हामीले निशुल्क गार्मेन्टको तालिम समेत दिन्छौँ तर सर्त भने तालिम लिएको भोलि पल्टदेखि नै काममा लाग्नु पर्ने हुन्छ ।’ खत्री रोकाय बताउँछिन ।

राम्रो नेतृत्व दिन सक्ने क्षमता भएकी नेपालगन्जकी उद्योगी/व्यवसायी तथा समाजसेवी ताराको चमक नेपालगन्ज उद्योग वाणिज्य संघमा उप-महासचिव रहँदा नै व्यवसायीले अनुभव गरेका थिए । व्यवसायसंगै समाजसेवा गर्न सानो सोचले हुँदैन, खुल्ला हृदय अनि सबैलाई अपनत्व गर्न सक्ने मनको आवश्यकता पर्दछ । यी सबै गुणले भरिपुर्ण ताराले नितान्त समाजसेवाकै लागि भनेर पुर्ण तारा फाउन्डेसनको स्थापना समेत गरेकी छिन ।

२०७६ फाल्गुन ७ गते स्थापना भएको फाउन्डेसनको चेयरमेन समेत रहेकी ताराको एउटै उदेश्य भनेको अरुको सेवा गर्नु हो । शिक्षा स्वास्थ्य र अधिकारको क्षेत्रमा कार्य गर्ने गरि स्थापना भएको फाउन्डेसनले अनाथ, असहाय महिला, एकल महिला तथा अपाङ्गको लागि विशेष सहयोग गर्ने बताउँछिन रोकाया ।

खुसी सबैको लागि प्यारो छ, हर कोही जीवनमा खुसी हुन चाहन्छ । तर अरुको खुसीको लागी केही गर्ने र अरुको खुसिमा रमाउन जान्ने धेरै कम मानिस यो संसारमा भेटिन्छन् , जसका लागी ठुलै हिम्मत र त्यागको आवश्यकता पर्छ। त्यस्तै दुखी तथा असहायका लागि र उनीहरुकै खुसीमा आफ्नो खुसी खोज्ने उज्यालो तारा बन्दै छिन् तारा खत्री रोकाय । अनि त्यसैका लागी ५ लाखको अक्षय कोष स्थापना गरेको बताउँछिन तारा खत्री रोकाय ।

‘हाम्रो फाउन्डेसनले पढ्न इच्छा राख्ने तर आर्थिक हैसियत कमजोर रहेकोलाई आर्थिक मद्दत गर्नु हो , वृद्धबृद्दालाई औषधि उपचार जस्ता अत्यावश्यक कार्यको लागि आर्थिक सहयोग गर्नु हो , महिला अधिकारको लागि तालिम दिएर स्वरोजगार तथा रोजगार प्रदान गर्नु र उनीहरुको मुहारमा खुसी ल्याउने कार्यमा हामिले काम गर्दै आएका छौं र आउने दिनमा हामिले हाम्रो हैसियतले भ्याए सम्मको कार्य गर्दै जानेछौ ।’

फाउन्डेसन स्थापनाको वर्ष दिन पुगेकै छैन । कयौं योजना बन्दै थिए , कयौं विद्यार्थी तथा महिलाका लागी उनले तथा उनको फाउन्डेसनले केहि नयाँ सुरुवात गर्दै थियो तर विश्व जगतलाई नै लाचार पार्दै कोरोना भाइरस (कोभिड १९) ले घेर्दै लग्यो । सबै जस्तै उनी पनि लकडाउनको कहरमा पिल्सिन बाध्य भईन । विश्वको अर्थतन्त्र डुब्दै गयो , नेपाल लगायत अन्य मुलुक समेत महामारीबाट ग्रसित छ तर समाजसेवामा उदायमान ताराको मन यो समय पनि चुपचाप घर भित्रै मात्र बस्न सकेन । लकडाउनकै कहरका बीच उनले ५० हजार बराबरको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिन ।

मनले कहाँ मान्छ र ? प्रतिप्रश्न गर्दै उनले भनिन् – यहि बेला त हो हामिले आफुले सकेको सहयोग गर्ने , हामीले मानवता मर्न दिनु हुँदैन।

कोरोनाकै कहरकाबीच फाउन्डेसनको आगामी कार्यक्रम र कसरी प्रभावकारी रुपमा समाजमा योगदान दिन सकिन्छ भनेर योजना बनाउँदै गर्दा भेटिएकी समाजसेवाको उदाउँदो ‘तारा’ तारा खत्री रोकायको महिला उधमी बीचको परिचय अझै छुट्टै रहेको छ । कतिका प्रेरणाका स्रोत छिन त कतिका लागि आड अनि भरोसा ।

प्रतिक्रिया