कोरोनाभाइरसबाट हालसम्म विदेशमा बस्ने १२१ नेपालीको मृत्यु भएको छ । सबैभन्दा धेरै बेलायतमा नेपालीको मृत्यु भएको छ ।
शनिबारसम्म विदेशमा रहेका १४ हजार चार सय २५ नेपाली संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना नेपालीको मृत्यु भएको छ । युएईमा १९ जना नेपालीको निधन भएको छ ।
अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । यस्तै, साउदी अरबमा आठजना, बहराइनमा तीनजना, कुवेतमा दुईजना, कतारमा एकजना, आयरल्याण्डमा एकजना, जापानमा एकजना, टर्कीमा एकजना, नेदरल्यान्डमा एक जना, र स्वीडेनमा एकजनाको मृत्यु भएको छ ।
एनआरएनएका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीटजरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्यूजील्यान्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेनलगायत ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा अहिलेसम्म साढे १४ सय संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या सात पुगेको छ ।











