तस्वीर : करुणा शाह
नेपालगन्ज : बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस र कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनको आज ७१ औं दिन नेपालगन्जमा चोकहरुमा कडाइ गरिएको छ ।
उता प्रशासन र प्रहरिले लकडाउनलाई कडाइ गर्ने प्रयास गरे पनि बैंक तथा बित्तिय क्षेत्रको कार्यालयहरुको अगाडि अवस्था भने बेग्लै हुने गरेको छ । चोक तथा मुख्य सडकमा कडाइ गरिए पनि बजार तथा बैंकहरुमा भने भिड नै रहेको छ ।
नेपालगन्जका बैंक तथा बित्तिय संस्थाहरुको अगाडि देखिने भिडका कारण जोखिम थपिदै गएको समेत गुनासो सुनिन थालेको छ । विशेषगरी नेपालगन्जका बैंकहरुमा देखिने भिडले लकडाउन छ भन्ने भान नै नहुने खजुराका प्रकाश केसि बताउछन् ।
उनका अनुसार सबैभन्दा जोखिम क्षेत्र नै बैंक बनेको छ । त्यसैमा यतिका भिड , उनले भने । केसि जस्तै राष्ट्रिय बाणिज्य बैंकमा पुगेका अर्का ब्यक्तिले समेत बैंकमा देखिने भिडले बैंक आउनै गाह्रो भएको बताएका छन् । बैंकमा न आउने हो समस्या टार्न गाह्रो छ आउने हो यतिका भिड जसले जोखिम निम्त्याउने खतरा छ ।
हप्तामा दुई वा तीन दिन मात्रै खुल्ने गरेका धेरै जसो बैंकहरुमा खुलेका दिनमा लामै लाइन देख्न सकिन्छ । बैंकहरु दिन बिराएर खुल्ने हुदा दुई तीन दिनका ग्राहकको चाप एकै दिन हुने हुँदा भिड लाग्ने स्वभाविक रहेको एक बैंकका कर्मचारीले बताए ।
सरकारले बिस्तारै अर्थतन्त्रलाई चलायमान गराउनको लागि गृहकार्य गरिरहेको बेला नेपालगन्जका बैंक तथा बित्तीय संस्थाले पनि सोच्नुपर्ने बेला भएको र दैनिक रुपमा बैंकहरु खुले अहिलेको जस्तो भिड नहुने नेपालगन्ज १० का श्याम कुमार थापा बताउछन् ।











