ज्ञानु सङ्गम खड्का/नेपालगन्ज : नेपाल लगायत विश्वजगत नै यतिबेला कोरोना भाइरसको चपेटामा छ। कोरोनाको संक्रमण फैलिन नदिन नेपालमा गत चैत्र ११ गतेदेखि हालका दिनसम्म लकडाउन जारी छ।
जसले गर्दा अधिकांश नेपाली नागरिकलाई दैनिक जीवनयापन गर्न यतिबेला कठिनाइ आइपरेको छ। यसैबीच, यस्तै समसामयिक परिवेशमा आधारित सन्तोष केसीको गीत “संसार रुँदैछ” लाई अत्याधिक रुचाइएको छ।
सन्तोष केसीको लय,शब्द तथा स्वर रहेको उक्त गीत यतिबेला युट्युबको ट्रेन्डिङ नम्बरमा पर्न सफल भएको छ। चर्चित गायिका सर्मिला गुरुङको समेत स्वर रहेको उक्त गीत यो समाचार तयार पार्दासम्म युट्युबको ट्रेन्डिङ नम्बर ३९ मा आइपुगेको छ।
गीतमा समावेश प्रत्येक शब्दले गीत सुन्ने जोकोहीको मन भावुक हुने गर्छ। मौलिक लोकगीतमा लामो समयदेखि योगदान पुर्याउँदै आएका गायक तथा सर्जक केसीले कोरोनाको महामारीबीच १ हप्ता अगाडि उक्त गीत बजारमा सार्वजनिक गरेका हुन् ।
भिडियोमा गायिका गुरुङ र गायक केसीले स्टुडियो भित्र गीत गाइरहेको दृश्य देख्न सकिन्छ। सुरेश श्रेष्ठले खिचेको भिडियोमा सन्तोषकै निर्देशन रहेको छ भने प्रबिन भट्टको सम्पादन रहेको छ।
“सन्तोष केसी-एसएस डिजिटल” नामक युटुब च्यानलबाट सार्वजनिक गीतलाई छोटो समयमै दर्शक स्रोताले रुचाएकोमा गायक केसी खुसी छन् । अझै यो गीतलाई दर्शक स्रोताले रुचाइदिने आशा रहेको गायक केसीले जनाएका छन् । हेर्नुस् भिडियो…









