ज्ञानु सङ्गम खड्का/नेपालगन्ज : कोरोना महामारीकाबीच देश अहिले लकडाउनमा छ। लकडाउनको यो समयमा अधिकांश मानिसहरू घरमै छन् । घरमै रहँदा समय व्यतीत गर्न मानिसहरुले फेसबुक, युटुब, टिकटक लगायतका सामाजिक संजाल धेरै प्रयोग गरेका छन् ।
यी मध्ये पछिल्लो समयमा अधिकांशले प्रयोग टिकटकलाई गरेका छन् । मनोरञ्जन अनि प्रतिभा प्रस्फुटनको गतिलो माध्यम वनेको टिकटक लकडाउनमा अधिकांशले प्रयोग गर्ने गरेका छन् । यसैबीच, पछिल्लो समय टिकटक खोल्ने बित्तिकै गुन्जने गीत मध्ये एक हो “माया बस्ला बेसरी”।
केही महिना पहिले एसथ्रीके युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतलाई पछिल्लो समय दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । युटुब, फेसबुक , टिकटक लगायतमा अत्याधिक उक्त मेलोडियस गीतले प्राय सबैको मन जितेको छ।
झट्ट सुन्दा गीतमा सुमधुर संगीतसँगै आवाजले सबैको मन आकर्षित पार्छ । मनै लोभ्याउने उक्त गीतमा आवाज भरेका छन् चर्चित गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीले।
गीतको भाव अनुसार भिडियो पनि त्यतिकै आकर्षक बनेको छ। भिडियोमा चर्चित नायिका वर्षा शिवाकोटी र समीर खान फिचर्ड छन् ।
गीतको अंशहरु टिकटकमा धेरै भाइरल बनेका छन् । उक्त गीतमा ८५ हजार बढी भिडियोहरु महिलाले बनाएका छन् भने ४० हजार बढी भिडियोहरु पुरुषले बनाएका छन् । यसरी टिकटकमा उक्त गीतको १ लाख भन्दा बढी भिडियोहरु बनेका छन् ।
उक्त गीतलाई फेसबुकमा पनि धेरैले सेयर गरेका छन् भने युट्युबमा पनि धेरै कभर भिडियो बनेका छन् । युट्युबमा उक्त गीतलाई ५ लाख बढी भ्युज मिलेको छ। चोखो प्रेम गर्ने प्रेमिल जोडिको कथा बोल्ने गीतमा प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको छ। गीतलाई एरेन्ज तथा मिक्सिङ बिशालले नै गरेका हुन् ।
काठमाडौं स्थित अनामनगरमा अवस्थित अलंकार रेकर्डिङ स्टुडियोका संचालक समेत रहेका गायक बिशाल निरौला यो गीतबाट अधिकांश युवा युवतीको रोजाइमा परेका छन् । करिब २० भन्दा बढी गीतमा आवाज अनि १ हजार बढी गीतमा म्युजिक एरेन्ज गरिसकेका बिशाललाई यो गीतले थप उचाइ दिएको छ।









