सरकारले धान नलगाउदै धानको समर्थन मूल्य तोक्यो

नेपालगन्ज : सरकारले धान नलगाउदै धानको समर्थन मूल्य तोकेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य तोकेको एक मन्त्रीले जानकारी दिए।

कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको प्रस्तावमा सो मूल्य तय गरिएको हो।

यस वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ।

नेपालमा पहिलो पटक बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो।

संरक्षित कृषि, सुनिश्चित बचत अन्तर्गत बाली लगाउनु पूर्व नै समर्थन मूल्य तोक्ने कुरालाई कार्यान्वयन गर्दै यस वर्ष लगाइने धानको मूल्य प्रस्तावित गरिएको कृषि विकास तथा पशुपन्क्षी मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार खेतीको सबै लागत खर्चमा २० प्रतिशत नाफा र १० प्रतिशत ढुवानी भाडा जोडेर उक्त मूल्य तोकिएको हो।

घनश्याम भूसाल कृषि मन्त्री भएपछि किसानलाई निश्चित नाफा (बचत) ग्यारेन्टी हुनेगरी मुख्य बाली वस्तुको न्युनतम समर्थन मूल्य तोक्ने र बजारमा बिक्री नभए सरकारले खरिद गर्ने व्यवस्था गरेर कृषिलाई संरक्षित र किसानलाई नाफा हुने वातावरण बनाउने बताउँदै आएका थिए। यो उनको योजना कार्यान्वयन हो। यस कार्यलाई कृषिमा आमूल परिवर्तनको संकेतको रुपमा हेरिएको छ।

प्रतिक्रिया