ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो समय प्रायले प्रतिभा देखाउने र समय व्यतीत गर्ने गतिलो माध्यम वनेको चिज हो टिकटक । टिकटकमा कतिपयले आफैले भिडियो बनाएर अपलोड गर्छन् त कतिले अरुले बनाएका भिडियो हेरेर मनोरञ्जन लिने गर्छन् ।
यस्तै पछिल्लो केही हप्ता यता टिकटकमा प्रायले एउटा गीतमा अधिकतम भिडियो बनाउने गरेका छन। त्यो गीतको बोल हो “छोटो छ जिन्दगी” । चर्चित गायक तथा म्युजिक कम्पोजर भुपु पाण्डेले केही हप्ता अगाडि बजारमा ल्याएको सो गीतलाई पछिल्लो समयमा टिकटकमा पनि अत्याधिक रुचाइएको छ।
चम्पा, ट्याग नगर, छाता जस्ता थुप्रै लोकप्रिय गीतहरू दर्शक माझ पस्किसकेका गायक पाण्डेले पछिल्लो समयमा सार्वजनिक गरेको उक्त “छोटो छ जिन्दगी” बोलको गीतलाई फेसबुक, युट्युब जस्ता समाजिक सन्जालमा पनि धेरै रुचाइएको पाइएको छ्।
समाजको यथार्थ अनि रोजगारको अभावले आफ्नो श्रीमती एवम् परिवार छोडि परदेशिने नेपाली युवाहरुको कथामा आधारित उक्त गीतका “छोटो छ जिन्दगी फोटो खिचेर राख”, “तिर्खाहरु संगाली पानी बनाउँदै छु”, “धनको लिएर” लगायतका अंशहरुमा धेरैले टिकटक भिडियो बनाएका छन् । यो समाचार तयार पार्दासम्म सो गीतमा १० हजार बढीले टिकटकमा भिडियो बनाएका छन् भने मिलियन बढी भ्युज प्राप्त भएको छ।
यो हाम्रो मानवको जिन्दगी छोटो छ, यो छोटो जिन्दगीको यादलाई लामो समयमसम्म यादगार बनाउने चिज भनेकै फोटो हो। त्यसैले छोटो जिन्दगीको फोटो खिचेर राख्नु पर्छ भन्ने भाव यस गीतमा रहेको छ।
गीत सुन्दा जोकोहीको मन भावुक हुने गर्छ। किनकी उक्त गीत, गीत मात्रै नभएर एउटा कारुनिक अनि वास्तविक कथाको रुपमा रहेको छ। गीतका प्रत्येक शब्दले मन छुन्छन। मेलोडियस शैलीमा आधारित यसै गीतमा भुपु पाण्डे र मेलिना मैनालीको आवाज रहेको छ।
गीतमा नारायण नेपालको शब्द रहेको छ भने संगीत अनि एरेन्जमेन्ट गायक भुपुले नै गरेका छन् । उक्त गीत गायक पाण्डेले आफ्नो जन्मदिने आमाबाबुलाई समर्पित गर्दै बजारमा ल्याएका हुन् ।
यसै गीत मार्फत गायिका मेलिना मैनालीले नेपाली संगीतमा डेव्यु गरेकी छिन् । यो गीत पहिलो भएतापनि गायिकाको स्वर सुन्दा प्रोफेसनल लाग्ने गर्छ। धेरैजसो युवाहरूका ढुकढुकी बनेका गायक पाण्डे यसै गीतबाट बुढा आमाबुबाको मनमा पनि बस्न सफल भएका छन् । उनको गीत यतिबेला बिदेशिएका लाखौं युवाहरुको सहयात्री समेत बनेको छ।
उनको गीत सुनेर धेरैको आँखा रसाएका छन् । धेरैको मन भावुक बनेको छ। कारुनिक शब्द अनि संगीतले भरिएका यस्ता गीतहरू प्राय बिरलै सुन्न पाइने प्रतिक्रिया उनका स्रोता दर्शकले दिएका छन् ।
गीतको भाव अनुसार भिडियो पनि आकर्षक बनेको छ। गीतको भाव अनुसारनै पात्र अनि दृश्य भिडियोमा उतारिएको छ। भिडियोमा गायक पाण्डे र मोडल उषा उप्रेती फिचर्ड छन् । भिडियोमा भुपु र उषाको जीवन्त अभिनय देख्न सकिन्छ।
अछाम र भारतका केही स्थानमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट, कथा तथा निर्माता गायक पाण्डे नै हुन् । योगेश दाहालले खिचेको उक्त भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने पवन सिंखडाले भिएफएक्स तथा पोस्टर डिजाइन गरेका छन् ।
गायक भुपु पाण्डेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतलाई छोटो समयमै धेरै दर्शक स्रोताको राम्रो तारिफ मिलेको छ। हेर्नुस् भिडियो









