कोहलपुर : बाँकेको बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सवा ६१ करोड बढी बजेट प्रस्तुत गरेको छ । मंगलबारदेखि सुरु भएको नियमित गाउँसभामा बुधबार गाउँपालिका उपाध्यक्ष शारदा कुमारी रेग्मी विश्वकर्माले आगामी वर्षको लागि ६१ करोड १७ लाख ९५ हजार २ सय २० रुपैयाँ बजेट प्रस्तुत गरिन् ।
प्रस्तुत गरिएको बजेटमा संघीय समानीकरण अनुदान १५ करोड ४४ लाख, सर्शत अनुदान २७ करोड १६ लाख, प्रदेश समानीकरण अनुदान ५६ लाख ४२ हजार, सर्शत अनुदान १ करोड ४८ लाख ५० हजार रकम प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश विशेष अनुदान ६० लाख, समपुरक अनुदान १ करोड ५० लाख, संघीय राजस्व बाँडफाँड १० करोड ५१ लाख ४४ हजार २ सय २० रुपैयाँ, प्रदेश राजस्व ६६ लाख १९ हजार र आन्तरिक राजस्व ३ करोड २५ लाख प्राप्त हुने गाउँपालिका उपाध्यक्ष विश्वकर्माले प्रस्तुत गरेको बजेटमा अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेट कृषि तथा पशुपंक्षीपालनमा केन्द्रित गरेर आर्थिक विकासलाई प्राथमिकता दिइएको छ । भारत तथा अन्य मुलुकबाट फर्किएका व्यक्तिहरुका लागि युवा लक्षित कार्यक्रममार्फत कृषि र रोजगारलाई बढवा दिने उल्लेख गरिएको छ । कृषिको आधुनिकिकरण र व्यवसायिकीकरण गर्नको लागि उत्पादन पकेट क्षेत्र घोषणा गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ बजेट केन्द्रित गरी त्यसका लागि पर्याप्त बजेटको समेत व्यवस्था गरिएको छ । यसका साथै युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिँदै कृषि व्यवसाय तथा उद्यमशिलतालाई वृद्धि गर्न सबै वडाहरुलाई समेट्ने गरी १ करोड २० लाख विनियोजन गरिएको छ ।
यसबाट कृषिमा आत्मनिर्भरता बढ्ने अपेक्षा गरिनका साथै वैदेशिक रोजगारबाट फर्केका र अन्य व्यक्तिहरुलाई स्वरोजगारको अवसर प्रदान गरिने भएको छ । गाउँपालिकाका सबै वडाहरुमा सञ्चालित साना किसान सुदृढिकरण परियोजनालाई सबै वडामा विस्तार गर्ने गरी ७१ लाख ७० हजार विनियोजन गरिएको छ । यसबाट आन्तरिक रोजगारीको प्रर्वद्धन तथा पशुपालन व्यवसायमा उच्च लगाव बढ्ने विश्वास लिइएको छ । विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गरेर बाख्रा, कुखुरा, बंगुर र माछापालन जस्ता व्यवसायहरु सञ्चालन गर्न युवा लक्षित स्वरोजगार कार्यक्रम सञ्चालन कार्यक्रम अन्तर्गत लागि २५ लाख विनियोजन गरिएको छ ।









