विराटनगर : १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक सर्वेक्षणमा प्रदेशभरि १३२ रेडियो र ७ वटा टेलिभिजन सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । तर सोही तथ्यांकक संकलनका लागि प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेशमा सञ्चार क्षेत्र हेर्ने जिम्मेवारी पाएको मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७–०७८ मा रेडियो एफएम र टेलिभिजनको तथ्यांक संकलन शीर्षकमा १० लाख बजेट विनियोजन गरेको हो ।
रेडियो टेलिभिजन दर्ता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्छ । मन्त्रालयले पनि सबै विवरण सार्वजनिक गरेको छ । संघमार्फत सोझै प्राप्त हुने तथ्यांक संंकलन गर्न प्रदेश मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलका अनुसार प्रदेशमा १३२ एफएम रेडियो दर्ता भएपनि १०६ वटा मात्र सञ्चालनमा छन् । प्रदेश १ मा ६ वटा निजी क्षेत्र र एउटा सरकारी टेलिभिजन सञ्चालनमा छन् ।

मकालु, हिमशिखर, सूर्याेदय, कृति, विराट एरिना टेलिभिजन निजी क्षेत्रबाट सञ्चालित छ । नेपाल टेलिभिजन इटहरी पनि सञ्चालित छ ।
प्रदेश डायरीका लागि ४० लाख
आन्तरिक मामिला तथा कानून मन्त्रालयले रेडियो र टेलिभिजनबाट प्रदेश डायरी सञ्चालनका लागि मात्र ४० लाखभन्दा बढी बजेट विनियोजन गरेको छ ।
नेपाल टेलिभिजनबाट प्रदेश डायरी सञ्चालन गर्न ३० लाख १६ हजार र रेडियो नेपालबाट प्रदेश डायरी सञ्चालनका लागि १० लाख बजेट विनियोजन गरेको छ । सन्देशमूलक सूचना प्रकाशत तथा प्रसारणका लागि पनि मन्त्रालयले २५ लाख बजेट विनियोजन गरेको छ ।
जनतासँग मुख्यमन्त्री कार्यक्रममा एक करोड
आगामी आर्थिक वर्ष मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनतासँग मुख्यमन्त्री कार्यक्रमका लागि एक करोड बजेट विनियोजन गरेको छ ।
यो कार्यक्रमका लागि चालू आर्थिक वर्ष रेडियोतर्फ १० लाख र टेलिभिजनतर्फ १५ लाख गरी २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।









