मेसीको जन्म दिन मनाएका १५ जनालाई कारबाही

एजेन्सी : महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।

भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले उनको ३३ औँ जन्मदिन मनाइरहेको समयमा बुधबार स्थानीय प्रशासक, कानूनी अधिकारी तथा प्रहरीले छापा मारेको थियो ।

बङ्लादेशमा अर्जेन्टिनी स्ट्राइकर मेसीलाई विश्वकै नमूना खेलाडी मान्ने प्रशंसकहरूको ठूलो सङ्ख्या रहेको बताउने गरिएको छ ।

क्याफेमा जन्मदिन मनाइरहेका ती व्यक्तिहरूलाई क्याफेबाहिर पुगेको घुम्ती (मोबाइल) अदालतमा उपस्थित गराई प्रतिव्यक्ति १०० टाका (करिब १.१५ अमेरिकी डलर) जरिवाना गरिएको न्यायाधीश फिराज हुसेनले बताए । महामारीमा भेला भै निषेधित गतिविधि सञ्चालन गरेको आरोपमा क्याफेलाई ७० अमेरिकी डलर जरिवाना गरिएको उनले बताए ।

“उनीहरूले साँझमा घरबाहिर (क्याफे)मा भेला भई सामाजिक दूरी कायम गर्नुपर्ने राज्यको नियम तथा लकडाउन आदेशको उल्लङ्घन गरेकोले जरिवाना गरिएको हो,” हुसेनले एएफपीलाई बताए ।

बङ्गलादेशको सरकारले गत मार्चदेखि जारी लकडाउनको घोषणालाई क्रमश सहज बनाउँदै गएको छ । यद्यपि सामाजिक दूरी कायम गर्ने कुरालाई भने कडाइसाथ पालना गर्न आग्रह गरिएको छ ।

मेसीको जन्मदिनको पार्टी गरिएको ‘वल्ड टाउन कफी हाउस’ का मालिक जाहिदुल अलामले आफूले जरिवाना तिर्नुपरेको स्वीकार गर्दै यो बङ्गलादेशी फुटबल फ्यानका लागि सहयोग भएको बताए ।

युवाहरूले मेसीको जन्मदिनको खुशियाली मनाइरहेका समय आफूले उनीहरूलाई बलपूर्वक घर फर्काउन नसकेको अलामले बताए ।

प्रतिक्रिया