रामु ओली

गाभर , आफैमा सुन्दर भ्याली ! शहरको कोलाहल , धुवाँ- धुलो अनि शहरी जीवनशैली भन्दा बिल्कुलै फरक परिवेश । आहा ! कस्तो गज्जब ! कति सुन्दर ! कति मनोरम ! हरेक केहि सेकेन्डको अन्तरालमा प्रस्फुटन भएका शब्दहरू गाभर भ्यालीकै लागी थिए ।
घना जंगल , हरिया खेतका फाट , गाउँले परिवेशका घरमा निलो आकाशकै प्रतिबिम्बित गर्ने छानो , कलात्मक रुपमा घरका भित्ताहरु पोतिएका, थारु र मंगोल संस्कृतीले भरिपुर्ण रहेको गाभर पुग्ने जो कोहिको मन लोभ्यान सक्ने असीमित चित्र , चित्रकारले कोरेका झै लाग्ने क्यान्भास , हरिया फाटहरु कहिँ कतै छ त त्यो गाभर नै हो ।
यी हरफहरु गाभरको सुन्दरतालाई प्रस्तुत गर्न असक्षम छन् , अपुर्ण छन् अनि अपुग छन् । त्यसैले मैले साधारण रुपमा गाभर प्रकृतिको नासो हो सम्झिए ।
शनिबारको दिन लाग्यो पुरै नेपालगन्जबासी गाभर मै छन् । कोहलपुर र बर्दिया पनि गाभरमै छ । गाभर भ्यालीको सुन्दरतामा हराउदै कयौं जोडिहरु प्रेमालाप गर्दै थिए । कयौं पिकनिक ग्रुपहरु भुल्दै थिए । थारु संस्कृत र पकवानको स्वाद लिदै थिए । थारु संस्कृतका घरहरु , घरायसी सामाग्रीहरुमा नयनहरु डुलाउदै थिए त केही गाभर भ्यालीमा साइकिलिङको भरपुर आनंद लिदै थिए ।
यी दृश्यहरु मेरा लागी नौला थिए । सधैं नेपालगन्जको ब्यस्त जिबनशैली र कोलाहलमा बितेका अधिकाशं समयहरुले मेरा बाल्यकाल , बाल्यकालको याद , गाउँघरका दैनिकी , सुन्दरता अनि गाउँको काचो माटोको सुगन्धले मलाई झकझकाई रहेको थियो । लाग्यो गाभरले मलाई भनी रहेको थियो – ‘त कति ढिला आउदै छस, यी दिनहरूमा म पर्खदै थिए तलाई नै’
किनकि मैले गाभरमा मेरो गाउँ भेटेको थिए । मेरो गाउँको सुगन्धित माटो भेटेको थिए । मेरै गाउँ जस्तै हराभरा अनि त्यो परिवेश भेटेको थियो , उ बेलाको ।
अहिले त मेरो उ बेलाको त्यो गाउँ पनि शहर बनी सकेको छ । शहरीकरण र बिकासको स्वाद चाखी सकेको छ । अब त मैले मेरो उ बेलाको गाउँ खोज्न फेरि फेरि गाभरमै आउनुपर्ने छ । सायद मेरो मात्रै होईन होला , धेरैको गाउँ अब गाभर नै हुनेछ ।
कर्णाली र सुदुर पश्चिम प्रदेशको प्रवेश द्वारमै रहेको गाभर भ्याली केहि बर्ष अगाडी सम्म ओझेलमा थियो । सुगम जिल्ला बाँकेको बिकट गाउँको रुपमा चिनेने गाभर अहिले धेरैको गाउँको आफ्नै घर बनेको छ ।
जैविक बिबिधता , थारु एवं मुगौली संस्कृतले भरिपुर्ण गाभर भ्याली नेपालको १०० पर्यटकीय गन्तब्य मध्य एक हो । शान्त बाताबरणमा केही घन्टा वा दिन रमाउन, बस्न र घुम्न चाहनेहरुको लागी गाभर अहिले प्रमुख गन्तब्य बनेको छ ।
गाभर भ्याली नेपालगन्ज देखी २३ किलोमीटर र कोहलपुर देखि जम्मा ७ किलोमीटरको दुरिमा रहेको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर एकमा पर्ने गाभर भ्याली सामुदायिक होमस्टेको रुपमा बिकास भएपछि रौनक प्राप्त गरेको सामुदायिक होमस्टे संचालक समितिका अध्यक्ष कृष्ण लाल चौधरी बताउछन् ।
जंगल सफारी गर्दै बाघ हेर्नको लागी होमस्टेले विभिन्न टुरका प्याकेज निर्माण गर्दै लगेको बताउने अध्यक्ष चौधरीका अनुसार गाभरमा अन्य पुर्वाधारहरु पनि थपिदै छन् ।
थारु मौलिक संस्कृतको अनुभुती गर्न सकिने पुरानो प्रबिधि र संस्कृतको घर अनी परिवेशले आन्तरिक पर्यटकलाई लोभ्याउने गर्छन् । चाक्ला फाटहरुमा लामबद्द उडेका अनेकौं चराहरुले मिठास लयमा चिरचिर गर्दा गुन्जन ती ध्वनिहरुले पर्यटकका धड्कन केही छिनलाई नै सहि शान्त पार्दै फेरि फनको मार्छन ।
अनि त भन्छु म गाभर मेरो पुरानो गाउँ हो जहाँ मेरो माटोको सुगन्ध छ । मेरो बालापन छ । मेरो मौलिकता छ । अनि मेरो गाउँघरकै संस्कृत र दृश्यहरु छन् । जसले मलाई म हुन सिकाउछ ।
भिडियोमा गाभर भ्याली










