नेपालगन्ज : यस वर्ष समयमै वर्षा हुन थालेपछि बाँके र बर्दियाका किसानहरु धान रोपाईमा व्यस्त छन । अधिकाश किसानले असार १५ पछि धान रोपाई सुरु गर्ने भएतापनि यस वर्ष बाँकेमा ३५ प्रतिशत रोपाई भइसकेको छ भने बर्दिया जिल्लामा ५५ प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।

बर्दियामा पानि सिचाईको सुविधा बाँकेमा भन्दा राम्रो भएकाले पनि धेरै रोपाई सकिएको हो । साढे ३६ हजार हेक्टर जमिनमा धान खेती हुने बाँकेमा अधिकांश खेतमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । बाँकेमा केवल १३ प्रतिशत जमिनमा मात्र सिंचाइँ सुविधा छ । बाँकेमा राधा चार, सामा मन्सुलि, सुख्खा १,२,३ बढि प्रचलित छन ।

पहिले खेत जोत्नकै लागी गोरुको अत्यधिक प्रयोग गरिने बाँकेमा पछिल्लो समय रोपाईका लागि ट्याक्टरको प्रयोग बढ्दै गएको छ । कम लगानी र थोरै समयमा धेरै जोतिने भएकाले ट्याक्टरको प्रयोग बढ्दै गएको हो । कृषि यान्त्रिकरणमा लाग्न कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले किसानलाई सुझाव दिनुभएको छ ।













