केही दिनयता अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ । साम्राज्ञीले गएको शुक्रवार इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिहरुले नराम्रो व्यवहार गरेको बताएकी थिइन् ।
उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै निर्माता तथा अभिनेता भुवन केसीले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै जवाफ फकाइसकेका छन् ।
उनको जवाफको प्रतिउत्तरमा साम्राज्ञीले जापानमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै अर्को भिडियो सार्वजनिक गरिन् । यसपछि सतहमा आएको भुवन केसी र साम्राज्ञी आरएल शाहको विवादले अब नयाँ मोड लिएको छ । अभिनेता केसीले चलचित्र कलाकार संघमा सत्यतथ्य छानविनको माग गर्दै निवेदन पेश गरेका छन् ।
उनले बिहीवार संघको कार्यालय पुगेर निवेदन दिएका हुन् । उनले संघमा दिएको निवेदनमा लेखिएको छ, ‘म विगत ४ दशकदेखि अभिनय र निर्माणको काममा नियमित छु । यसबीचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ ।
साम्राज्ञीलाई पनि मैले चलचित्रको मुख्य भूमिकामा काम गराएको छु । आजभन्दा ५/६ वर्ष अगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिबेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’









