भीम रावत
असार १० गते शुरु भएको कोहलपुर नगरपालिकाको सातौं नगरसभा आइतबार सम्पन्न भएको छ । आइतबार बसेको सातौं नगरसभाको चौथौ बैठकमा आर्थिक वर्ष २०७७÷०७८.को लागि बजेटको व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०७७ बहुमतद्वारा पारित भएको हो ।
असार १० गते सभामा उपप्रमुख सञ्जु कुमारी चौधरीले सभामा आर्थिक वर्ष २०७७÷०७८ को लागि रु. ८६ करोड, १७ लाख १० हजार पाँच सय ११ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी छिन् । जसमा सहमतिका लागि विभिन्न पक्षहरुसँग पटक–पटक छलफल समेत गरिएको र छलफलकै निष्कर्षबाट सभामूखको भूमिकामा रहेका नगर प्रमुख लुट बहादुर रावतले आइतबार निर्णायर्थ सभामा प्रस्ताव गर्दा सर्वसम्मत हुन नसकेपछि बहुमतबाट पास भएको कोहलपुर नगरपालिका प्रेस सल्लाकार भीम रावतले जानकारी गराएका छन् ।
सातौं नगरसभाबाट केही महत्वपूर्ण प्रस्तावहरु समेत पास भएका नगर प्रमुख रावतले बताएका छन् । उनले भने, ‘ कोहलपुर नगरपालिका छुटाउनै नहुने केही महत्वपूर्ण योजनाहरु तर हाम्रो आर्थिक श्रोतले कार्यान्वयन गर्न नसक्ने योजनाहरुलाई संघिय तथा प्रदेश सरकारहरुसँग बजेट माग गरी कार्यान्वयन गर्ने छौं ।’ ती योजनाहरुमा नगर क्षेत्रमा आकासे पुल निर्माण गर्ने, तीन वटा झोलुङ्गे पुल बनाउने, नगरपालिकामा रहेका सरकारी जग्गाहरुको संरक्षण गर्ने, प्रतिऐलानी जग्गाको लागत तयार गरी मूमि सम्बन्धी आयोगलाई लालपूर्गा वितरणमा सहजिकरण गर्ने,गाउँब्लक जग्गाको नापनक्सा तथा लालपूर्जा वितरण गर्ने लगायत रहेका छन् ।
सभामा उप प्रमुख सन्जु कुमारी चौधरीले न्यायिक समितिको वार्षिक कार्यसम्पादन तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो प्रतिवेदनलाई पनि सभाले सर्वसम्मत पारित गरेको छ । सभामा सभाषद कर्ण बहादुर थापा, निम बहादुर चलाउने,दयाराम बि.क., माधव रिजाल लगायतले नगरपालिका समृद्धि बनाउने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।









