नेपालगन्ज : मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गर्दै बिहिवार नेपालगन्ज उद्योग वाणिज्य संघले दवावमुलक र्यालीको आयोजना गरेको छ ।
नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यालयबाट सुरु भएको र्याली त्रिभुवन चोक त्रीवेणी मोड हुँदै नगरपरिक्रमा गरि नेपाल राष्ट्रिय बैंक पुगेर ज्ञापन पत्र बुझाइएको छ ।
कोरोना महामारीका कारण नीजिक्षेत्र प्रभावित भएको भन्दै आगामी मौद्रिक नीति मार्फत राहत प्याकेज दिनुपर्ने संघले माग गरेको छ ।
संघले सोही मागका विषयमा ध्यानार्कषण गराउन नेपाल राष्ट्र बैंक, नेपालगन्ज मार्फत केन्द्रिय कार्यालयको ज्ञापनपत्र समेत बुझाएको छ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सम्पूर्ण क्षेत्र अस्त व्यस्त बनेको छ । यद्यपी उद्योग, व्यवसाय क्षेत्र सबै भन्दा बढि प्रभावित त भएको छ नै फेरी उठ्न नसक्ने गरी थलिएको अवस्थामा पुगेको छ ।
एकातर्फ लामो समय देखिको लकडाउनका कारण पसल, व्यवसायमा ताला झुन्डीएको अवस्था रह्यो भने, लकडाउन केहि खुकुलो भए पनि पहिलेको अवस्थामा व्यापार, व्यवसाय सञ्चालन हुन सकेको छैन् । अर्को तर्फ बैंकको ब्याज र सरकारलाई बुझाउनु पर्ने करका कारण उद्योगी, व्यवसायीहरु कष्टकर अवस्थामा आई पुगेका छन् ।
मौद्रिक निति मार्फत बैंकको किस्ता, ब्याज, लगायत सहुलियत तथा छुटका लागि दबाव दिन नेपाल राष्ट्र बैंक, नेपालगन्ज मार्फत केन्द्रिय कार्यालयको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।









