सुनसरीमा ‘एन्टी स्नेक भेनम’ उत्पादनकाे तयारी, विदेश निर्यात गर्ने लक्ष्य

सविन घिमिरे
विराटनगर, २५ असार । नेपालमा पहिलो पटक सुनसरीको बराहक्षेत्रमा एण्टी स्नेक भेनम सेरम (सर्पको टोकाईविरुद्ध प्रयोग गरिने औषधि) उत्पादनको तयारी सुरु भएको छ ।

बराहक्षेत्र नगरपालिका– ७ मा एन्टी स्नेक भेनम उत्पादनको तयारी सुरु भएको हो । एन्टी स्नेक भेनम सीरम रिसर्च एण्ड म्यानुफेक्चारिङ प्रालीले बराहक्षेत्रमा एन्टी स्नेक भेनम उत्पादन उद्योग सञ्चालनका लागि संरचना निर्माण गरिरहेको छ ।

८८ करोड ६३ लाख अनुमान गरिएको उद्योग दुई वर्षभित्र सञ्चालनमा आउनेछ । उद्योगको भवन शिलान्यास प्रदेश १ का मुख्यमन्त्री शेराधन राईले गरेका थिए ।

नेपालमा पहिलोपटक सर्पको विषविरुद्धको औषधि उत्पादन गरी विदेश निर्यातको लक्ष्य राखिएको एन्टी स्नेक भेनम सीरम रिसर्च एण्ड म्यानुफेक्चारिङ प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद फुँयालले बताए ।

हाल नेपालमा सपको विषविरुद्धको औषधि भारतबाट आयात हुन्छ । एन्टी स्नेक भेनमको माग विश्वभर छ । उद्योगले वार्षिक १ अर्ब ५० करोड रुपैयाँ बराबर १५ लाख भाइल औषधि उत्पादन गर्ने फुँयालले बताए ।

उनका अनुसार १५ लाख भाइल औषधि (सेरम) उत्पादन गर्न २०० घोडा र २०० सय सर्प आवश्यक पर्छ ।

भेनमका लागि कम्पनीले घोडा पालन सुरु गरेको छ । सर्प संरक्षणको तयारी पनि थालनी गरेको फुँयालले बताए ।

घोडा नेपालकाे जुम्ला तथा अन्य विभिन्न ठाँउबाट ल्याउने र सर्प भने आफैँ संरक्षण र उत्पादन गर्ने तयारी कम्पनीको छ । उद्योग सञ्चालनमा आएपछि ४०० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

विश्व बजारमा माग उच्च रहेको उद्योग र अनुसन्धान केन्द्र नेपालमा सञ्चालन हुनु देशका लागि गौरभको विषय भएको फुँयालले बताए ।

कसरी बन्छ एन्टी स्नेक भेनम ?

एन्टी स्नेक भेनम निर्माणका लागि सर्पको मुखाबाट विष निकालिन्छ । विषलाई सुइको माध्यमबाट घोडाको रगतमा प्रवाह गरिन्छ ।

घोडाको शरीरमा विष प्रवाह हुँदा घोडाले एन्टीबडी उत्पादन गर्छ । विष प्रयोग गरेकाे एक महिनापछि घाेडाले एन्टीबडी तयार गर्छ ।

एक महिनापछि एन्टीबडी मापन पछि घोडालाई रक्तदान गराइन्छ । घोडाबाट निकालिएको निश्चित रगतलाई प्रशोधन गरेर सर्पको विषविरुद्धको औषधि एण्टी स्नेक भेनम बन्छ ।

यो प्रकृयामा सर्प र घोडा दुवै स्वस्थ्य हुन्छन् ।

प्रतिक्रिया