भारतबाट फेरि सलहको हुल नेपाल प्रवेश गरेको छ । आइतबार भारतको बहराइचबाट दाङ हुँदै सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेको हो ।
आइतबार बिहान र दिउँसो गरी दाङमा दुई वटा झुन्ड देखिएको सलह सूचना केन्द्रले जनाएको छ । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठुलो संख्यामा सलह किरा देखिएको छ । पुरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरू आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् ।
किसानहरूले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकै बाली सलह किराले खाएर सखाप पारेको स्थानीय किसानले बताएका छन् ।










