नेपालगन्ज : कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित राप्तीसोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा अगैयामा बसेको जनप्रतिनिधी, राजनीतिक दल, प्रधानाध्यापक लगायत सहभागी भएको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कुनै विषम परिस्थिति नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारु बताउँछन् । विद्यालयमा सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको अध्यक्ष थारुले बताए ।
गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांस वडामा विद्यालयका भवनलाई क्वारेन्टाइन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयलाई स्यानिटाइज गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
‘विद्यालय खुल्नुभन्दा पहिले सबै विद्यालयलाई स्यानिटाइज गरिनेछ,’ उनले भने । गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले राप्ती सोनारीमा कोरोना संक्रमण घट्दै गएको हुँदा पुर्व तयारी स्वरुप साउन १५ बाट विद्यालय खोल्ने निर्णय गरिएको बताए । उनले भने, ‘साउन १५ गतेबाट विद्यालयको अनुकुल अनुसार खोल्ने निर्णय भएको छ ।










