कोरोनाविरुद्धको खोप ३० हजार अमेरिकीमा परीक्षण गरिँदै

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध अमेरिकाले केही सफलता हात पारेको छ। अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ भ्याक्सिन बाट मानिसको प्रतिरक्षा प्रणालीमा वैज्ञानिकहरूले अपेक्षा गरे अनुसारको फाइदा पुगेसँगै खोपमा सफलता हाल लागेको हो।

अमेरिकाका शीर्ष विशेषज्ञ डा.एन्थोनी फाउचीले समाचार एजेन्सी एसोसिएट प्रेससँग भनेका छन्, ‘तपाईंले जतिसुकै छाँटकाँट गरे पनि यो एक राम्रो खबर हो।’ उक्त खोपको अब ट्रायल गर्न मात्रै बाँकी रहेको बताइएको छ।​ 

बीबीसीले न्युयोर्क टाइम्समा प्रकाशित समाचारलाई उद्धृत गर्दै नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडेरना इन्कमा डा फाउचीका सहकर्मीहरूले उक्त खोप तयार पारेको जनाएको छ।   उक्त खोपलाई जुलाई २७ मा प्रयोग गर्न मिल्ने चरणमा पुर्‍याउने विज्ञहरुले बताएका छन। उक्त खोप ३० हजार जना मानिसमा परीक्षण गरिनेछ।

उक्त परीक्षणपछि खोपले साँच्चै कोभिड-१९ बाट मानिसलाई बचाउन सक्ने या नसक्ने पत्ता लाग्ने बताइएको छ। बीबीसीका अनुसार ४५ जनामा गरिएको परीक्षणको नतिजाको पर्खाइमा ती शोधकर्ताहरू बसिरहेका छन्। वैज्ञानिकहरुले उक्त खोप प्रयोग गर्दा सामान्य दुखाई हुने पनि उल्लेख गरेका छन्।   

रिसर्च टिमले न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा खोप लिने भोलेन्टियरको रगतमा कोभिड–१९ बाट निको भएका बिरामीको शरीरमा पाइने जति नै एन्टिबडी पाइएको उल्लेख गरेको छ।   यो खोपलाई महिना दिनको अवधिमा दुई डोज दिइने र यसको कुनै गम्भीर ‘साइड इफेक्ट’ नभएको बताइएको छ।  

प्रतिक्रिया