‘नेपालको रामसँग आत्मीय सम्बन्ध माता जानकीका कारण’- मोदी

भारतको उत्तर प्रदेशस्थित राम मन्दिर निर्माणका लागि शिलान्याश (भूमि पुजन) कार्यक्रम सम्पन्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ट अथितिको उपस्थितिमा बुधवार शिलन्याश गरिएको हो।

शिलन्याश समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले शताब्दीदेखिको पर्खाई समाप्त भएको बताए।

‘पूरा भारत राममय भएको छ। पूरा देश रोमाञ्चक भएको छ। हरेक मन दीपमय छ। पूरा भारत भावुक छ। सदियौंको पर्खाई आज समाप्त भएको छ। टुट्ने र फेरि उठ्ने प्रक्रियाबाट आज राम जन्मभूमि अयोध्या मुक्त भएको छ। जय सियाराम,’ मोदीले भने।

राम मन्दिरका लागि सदियौंदेखि कैयौं पिंढीले गरेको संर्घषको परिणाम मिलेको मोदीको भनाई छ। ‘जसको त्याग बलिदान र संघर्षबाट आज सपना साकार भएको छ, उनीहरु सबैलाई १३० करोड भारतीयको तर्फबाट नमन र अभिनन्दन गर्दछु,’ उनले भने।

मोदीले राम हरेकको मनमा भएको र कुनै काम सुरु गर्नुभन्दा पहिले रामलाई नै सम्झिने गरेको उल्लेख गरे। ‘राम मन्दिर आधुनिक संस्कृतिको प्रतीक बन्नेछ। राष्ट्रिय भावनाको प्रतीक बन्नेछ। सामूहिक संकल्प शक्तिको प्रतीक बन्नेछ,’ उनले भने।

मोदीले मन्दिरले आउँदो पिँढीलाई आस्था, श्रद्धा र संकल्पको प्रेरणा दिने उल्लेख गरे। ‘मन्दिरले यो क्षेत्रको अर्थतन्त्र पनि बदलिनेछ। हरेक क्षेत्रमा अवसर बदलिनेछ। विश्वबाट राम र जानकीको दर्शन गर्न मानिसहरु आउनेछ,’ उनले भने। राम मन्दिर निर्माणको प्रक्रिया राष्ट्रलाई जोड्ने, विश्वासलाई वर्तमानसँग जोड्ने कदम भएको मोदीको भनाई थियो।

प्रधानमन्त्री मोदीले राम हरेक ठाउँमा रहेको बताए। ‘भारतको दर्शन-आस्था-आदर्श-दिव्यतामा राम छन्। भगवान बुद्ध-जैन धर्म पनि रामसँग जोडिएको छ। देशका हरेक राज्यमा अलग अलग रुपमा रामलाई सम्झिने गरेका छन्। राम सबै ठाउँमा छन्, सबैमा छन्। विश्वकै धेरै मुस्लिम जनसंख्या भएको इण्डोनेशियामा पनि राम पाठ हुन्छ। कम्बोडिया, श्रीलंका, चीन, इरान र नेपालसमेत विश्वका धेरै देशमा रामको नाम लिइन्छ,’ मोदीले भने।

प्रधानमन्त्री मोदीले नेपालको रामसँग आत्मीय सम्बन्ध माता जानकीका कारण जोडिएको बताए।

‘त्यसैले रामसँग जोडिएका सबै देशमा अयोध्यामा राम मन्दिर निर्माणको खबर सुनेर सुखद अनुभूति भइरहेको होला,’ मोदीले भने।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५ सय वर्ष लामो संकल्प र कडा संघर्ष लोकतान्त्रिक तथा संविधान सम्मत तरिकाले सम्पन्न भएको बताए।

राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस)का प्रमुख मोहनराव भागवतले भारतलाई वैभवशाली बनाउने अभियानको शुरुआत भएको बताए। कोरोना महामारीका शिलान्याशमा धेरै मानिस आउन नसकेकोमा उनले दु:ख व्यक्त गरे।

प्रतिक्रिया