काठमाडौं :

आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।
जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन रावत तथा महिलामा शुभाङ्गीलक्ष्मी शाह र इभा अधिकारीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा छेवाङ लामा छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य अजय विष्टले शनिबारै सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।

उता नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद (साग) मा हाल सम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई शनिबार सम्मान गरेको छ । तेश्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई सम्मान गरिएको हो ।
सागको १३ औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ मा भएको तेश्रो सागदेखि टेबलटेनिस पहिलोपटक समावेश गराइएको थियो । समावेश भएको संस्करणदेखि नै नेपालले टेबलटेनिसमा निरन्तर सहभागिता जनाउदै आएको छ ।
सिजरिन शाह, गीता क्षेत्री, निलम तुलाधर र पूजा थापाले महिला टिम इभेन्टमा स्वर्ण जितेका थिए । सिजरिन सागमा सबै भन्दा बढी पदक जित्ने नेपाली खेलाडी पनि हुन् ।
सिजरिनले स्वर्णसहित ४ रजत र ३ कांस्य जितेकी छन् । त्यसपछि बढी पदक जित्नेमा नेपाल भेट्रान टेबलटेनिस संघका उपाध्यक्ष समेत रहेका धर्ममान वज्रचार्य छन् । उनले १ रजत र ४ कांस्य जितेका छन् ।
संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल भेट्रान टेबलटेनिस संघकी अध्यक्ष निनु सत्याललगायतले पदक विजेतालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।









