नेपालगन्ज :

बाँकेसहित तराईका जिल्लाहरुमा शितलहर र चिसोले जनजीवन प्रभावित भएको छ । लगातार २÷३ दिन घाम नलाग्दा दैनिक जसो काममा जाने मजदुर, स्कुले विद्यार्थी, रीक्साचालक, वालवालीका र जेष्ठनागरीक वढि प्रभावित भएका छन् ।
बिहान बाक्लो हुस्सु लाग्नुका साथै दिनभरि नेपालगन्जमा घाम समेत लागेको छैन । घाम नलागेपछि काम गर्ने मजदुरहरु चिसोको चपेटामा परेका छन् ।
सधैंजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् ।
रिक्सा चलाउन जाने मजदुरहरु पनि चिसोमा रिक्सा चलाउन वाध्य भएको बर्दियाका रिक्साचालक मोतीलाल थारुले बताए । बाँकेमा पछिल्लो दुई दिनदेखि बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनिरहेको छ ।
चिसोले नेपालगन्ज बजारमा सर्वसाधारणको चहलपहल घटेको छ भने विहान साँझा शितलहर चल्ने गरेको छ । जाडोका कारण मानिसहरुको चलपहल कम हुँदा व्यापार घटेको ठेला व्यापारी विजय गुप्ताले बताए ।
चिसो बढे पनि विद्यालय, क्याम्पसहरु खुलिरहेका छन् । कलेज जानेहरुले पनि चिसोका कारण समस्या रहेको विद्यार्थी मोनिका शाहिले बताइन ।

बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न सकिँदैन, सवारी साधन कम गतिमा बत्ती बालेर गुड्न थालेका छन् । हुस्सुले दुर्घटनाको जोखिम बढेको सवारी चालक बताउँछन् ।
चिसोबाट बाँकेका गरीब, विपन्न समुदाय लगायत चिडिमार, घसीयारन लगायतका समुदाय पनि थप प्रभावित वनेका छन् । सरकारले न्यानोका लागी गरीबहरुलाई दाउरा वितरण गर्ने भने पनि दाउरा समेत नपुगेको स्थानीयको भनाई छ । वेलासपुरका चिडिमार समुदाय आफैले दाउरा किनेर गुजारा चलाइरहेका छन् ।
जाडोका कारणले मानिसहरु अति जरुरी कामबाहेक बाहिर निस्किन सकिरहेका छैनन् । चिसोका कारण बृद्धबृद्धा र बालबालिका विरामी समेत परेका स्थानीयले बताएका छन् ।
चिसोकै कारण अस्पतालमा अहिले दैनिक ३० देखि ४० जना रुघाखोकी, भाइरल ज्वरो, श्वासप्रश्वास, हाडजोर्नी, निमोनिया, कुल डायरियाका बिरामी उपचारको लागि आउन थालेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । जाडोबाट बच्न तातो झोलिलो खानेकुरा बढि मात्रामा खान, न्यानो कपडा लगाउन डा. संकेत रिसालले सुझाव दिए ।
सडक छेउ, टहरामा कष्टकर जीवन गुजारिरहेका पीडित जाडो बढेपछि थप कष्ट बेहोर्न बाध्य भएका छन् । चिसो बढ्दै गएकाले बाढीपीडित अब कसरी दिन कटाउने भन्ने समस्यामा देखिएका छन् ।












