आन्तरिक राजस्व कार्यालय नेपालगन्जले ३२ साउनदेखि सेवा सुचारु गर्ने भएको छ ।
कोरोना संक्रमित कर्मचारी र उनीहरुका परिवारका सदस्यहरु निको भएपछि ३२ साउनदेखि कार्यालयको कामकाज सुचारु गर्ने तयारी भएको कार्यालय प्रमुख प्रकाश पौडेलले बताए ।
कार्यालयका चार अधिकृत, चार जना अन्य कर्मचारी र उनीहरुका परिवारका चार जना सदस्य डिस्चार्ज भएपछि कार्यालयमा स्थापना गरिएको आइशोलेसन पनि बन्द गरिएको छ । कार्यालयका कोरोना संक्रमित कर्मचारी र उनीहरुका परिवारलाई सोही आइसोलेशनमा राखिएको थियो ।
राजस्व कार्यालयका एक अधिकृतमा कोरोना संक्रमण देखिए पछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा थप १० जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, दाङबाट उपचारका लागि भेरी अस्पतालमा आएका दुई जना कर्मचारीमा समेत कोरोना संक्रमण फेला परेपछि राजस्व कार्यालयमै आइशोलेसन सेन्टर बनाइएको थियो ।
आइशोलेसन सेन्टर बन्द गरि जनस्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर ३२ साउनबाट कार्यालयको काम सुचारु गरिने कार्यालय प्रमुख पौडेलले बताए ।











