शुभकामना यातायात प्रालिका सम्पुर्ण व्यवसायीहरुको कोरोना बिमा सिद्धार्थ इन्स्योरेन्समा

नेपालगन्ज : विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरसका कारण नेपाल यतिबेला दयनीय अवस्थामा छ। कोरोनाका संक्रमितहरु नेपालमा दिनानुदिन बढिरहेका छन् ।

त्यस्तै, कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममै छ। उसो त, कोरोना जितेर घर फर्किनेको संख्या पनि बढ्दो क्रममै छ। यसैबीच, कोरोना महामारीको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै शुभकामना यातायात प्रालि नेपालगन्जका सम्पुर्ण व्यवसायीहरुले कोरोना बिमा गराएका छन् ।

मंगलबार सिद्धार्थ इन्स्योरेन्स नेपालगन्ज शाखामा शुभकामना यातायात प्रालिका सम्पुर्ण व्यवसायीहरुको कोरोना बिमा गराइएको शुभकामना यातायात प्रालिका अध्यक्ष पुर्ण बहादुर थापा (मिलन)ले जानकारी दिए।

‘केही हप्ता अघि म आफै कोरोना संक्रमित भएको थिएँ।’ उनले भने, यस्तो विषम परिस्थितिमा यातायात व्यवसायीहरुको मनोबल उच्च बनाउनको लागि र कोरोना लागेपनि केही आर्थिक सहायता होस् भन्ने मनसायले यस शुभकामना यातायात प्रालिका सम्पुर्ण व्यवसायीहरुको सिद्धार्थ इन्स्योरेन्समा कोरोना बिमा गराइएको छ।’

उनका अनुसार शुभकामना यातायात प्रालिका १ सय बढी व्यवसायीहरुले कोरोना बिमा गराएका छन् । कोरोना लागिहालेमा बिमा गराएका यातायात व्यवसायीहरुले १ लाख बराबरको रकम सिद्धार्थ इन्स्योरेन्स मार्फत पाउने छन् ।

साथै, कोरोना लाग्दैमा न आत्तिएर उच्च मनोबल बढाएर नियमित शारीरिक व्यायाम अनि सरसफाइमा ध्यान पुर्‍याएमा कोरोनालाई हराउन सकिने आफ्नो अनुभव अध्यक्ष थापाले बताए । सकेसम्म साबधानी अपनाउन र यदि लागि हालेमा पनि न आत्तिन आग्रह समेत थापाले गरेका छन् ।

भोलिका दिनमा छिटोछरितो बिमा दाबी भुक्तानीका लागि सिद्धार्थ इन्स्योरेन्समै कोरोना बिमा गराइएको थापाले बताए। त्यस्तै, यस कठिन परिस्थितिमा व्यवसायीहरुसंग बिमा बापतको रकम बुझाउन नसक्ने अवस्थामा भएतापनि बिमा बापतको सम्पुर्ण रकम प्रालिले नै व्यहोरेको शुभकामना यातायात प्रालिका आर्थिक संयोजक श्रीधर पौडेलले जानकारी दिए।

प्रतिक्रिया