शुल्क लिएर पिसिआर गर्ने अनुमति पायो भेरी अस्पतालले

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले शुल्क लिएर पिसिआर परीक्षण गर्ने अनुमति पाएको छ ।

भेरी अस्पतालमा संचालनमा रहेको पिसिआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर आरटी पिसिआरको स्वीकृति पाएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताएका छन् ।

अध्यक्ष धितालले बाहिरी जिल्ला जानका लागि पिसिआर गराउनेहरुसँग शुल्क लिने बताए । तर प्रशासनको सिफारिसको आधारमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारीको निशुल्क कोरोना जाँच गरिने बताएका छन् ।

कोरोनाको लक्षण देखिएर भेरी अस्पतालमा भर्ना भएका विरामीको पनि निशुल्क कोरोना परीक्षण गरिने अध्यक्ष धितालले बताए । ‘गरिव, असहाय, जेष्ठ नागरिक र कोरोनाको संकेत देखिएका विरामीको निशुल्क कोरोना परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति दिए पनि शुल्क निर्धारण अझैँ नभएको अस्पताल विकास समितिका सदस्य धनिराम ओलीले बताए । उनले विज्ञहरुसँग सल्लाह लिएर शुल्क निर्धारण गरिने बताए । १८ भाद्रमा बस्ने समितिसहितको बैठकले शुल्क निर्धारण गर्ने उनको भनाई छ ।

प्रतिक्रिया