नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाको सिमित एरियामा निषेधाज्ञा जारी गरिएको छ । खजुरामा आइतबार मात्र ३२ जना कोरोना संक्रमित फेला परेपछि निश्चित स्थान तोकेर प्रशासनले निषेधाज्ञा लागु गरेको हो ।
सोमबार राति १२ बजेपछि २७ गते राति १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा नेपालगन्ज गुलेरिया सडक खण्डको खजुराको कपास विकास देखी विपि प्रतिक्षालय सम्म दाया बाया ५ सय मिटर सम्म तोकीएको छ ।
खजुराको मुख्य बजारलाई केन्द्रविन्दु मानेर गरिएको निषेधाज्ञा गरेर प्रशासनले के गर्न खोजेको हो खजुराबासीले बुझन नसकेको एक स्थानिय भरत जैसिले गुनासो गरे । सहायक बाटो र पसलहरु सबै खुला हुने तर मुल बजारको एरिया मात्र बन्द गर्ने योजनाका साथ गरिएको निषेधाज्ञाको पालना खजुराका जनताले इमान्दारिताका साथ गर्छन भन्नेमा आशंखा उत्पन्न भएको छ ।
यस अघि पनि खजुरालाई पटक पटक सिल गर्दा पनि खजुरालाई खासै असर नपरेको हुदाँ यसपटक झनै बजार नै ठप्प पार्ने योजनाका साथ गरिएको निषेधाज्ञाले खजुराका जनताको भलो नगर्ने खजुराका व्यापारी रोशन सापकोटाले बताए । निषेधाज्ञा नै समस्याको समाधान नभएको बताउदै व्यापारी सापकोटाले शुरक्षित भएर कारोबार गर्न दिनुपर्नेमा जोड दिए ।
खजुराको मुख्य बजारमा निषेधाज्ञा लागु भएपछि बर्दिया देखि नेपालगन्ज र नेपालगन्ज देखि बर्दियासम्म जाने यात्रुहरुका हकका प्रशासनले कस्तो व्यवस्था गरेको भन्ने पनि नखुलाएको कारण के गर्ने भन्ने नै दुविधा उत्पन्न भएको छ ।









