केपी घिमिरे, नेपालगन्ज – सरकारको स्वामित्वमा भएको राष्ट्रिय बीमा कम्पनी बाँके शाखाबाट कोरोना बीमा गरेका व्यक्तिहरुको ८४ लाख भन्दा बढी रकम संकलन भएको छ ।
कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दै गइरहेको बेलामा बीमा गर्नेहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेको शाखा प्रमुख नवीन शर्मा पौडेलले बताए । राष्ट्रिय बीमा कम्पनीमा जस्तै अहिले बाँकेका अरु इन्स्योरेन्स कम्पनीहरुमा पनि कोरोना बीमा गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।
नेपालगन्जमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा आजका दिनसम्म ८४ लाख बढी र अरु कृषि र मोटरको बीमा गरेर १ करोड बढी रकम संकलन गरिएको, अझै थुप्रै पोलिसी जारी गर्न बाकी रहेको शर्माले नेपालगन्ज टाईम्सलाई बताएका छन् ।
उनका अनुसार १५ हजार बढीले नेपालगन्ज शाखामा बीमा गरेका छन् । कम्पनीमा बीमा गर्न पूर्वको रौतहट देखि सुदूर पश्चिमको बझाङबाट समेत अनलाइन प्रविधिबाट बीमा गरेको राष्ट्रिय बीमा कम्पनी नेपालगन्जका लेखा सहायक तथा अन्डरराइटिङ्ग गर्ने काशिराम जोशीले बताए ।
कार्यालय प्रमुख शर्माका अनुसार ५ जना कर्मचारी रहेको कम्पनीमा सबैलाई भ्याइनभ्याई काम गरिएको शर्माले बताए । बीमा समितिले सूचना जारी गरि कोरोना बीमा भुक्तानी दावी गर्नका लागि सरकारी प्रयोगशालामा पिसिआर जाँच गराइएको हुनुपर्ने र प्राईभेट पिसिआर प्रयोगशालामा गरिएको जाँच नमान्ने बताएको छ ।
नेपालमा शिखर इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतका २० वटा नन लाईफ बीमा कम्पनीहरु रहेको र तिनीहरुले कोरोना बीमा गर्ने गरेका छन् ।









